तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : अन्तरजातीय प्रेममा परेका एक जोडी आफ्नो जीवन जिउन संघर्ष गरिरहेका हुन्छन् । 'लिभिङ टुगेदर'को सम्बन्धलाई विवाहमा परिणत गर्न कोसिस गरिरहँदा आफ्नो प्रेमिकालाई 'कान्छी तिम्रो बाबाले हाम्रो प्रेम स्वीकार्दैनन् भागेर बिहे गरौं' भन्ने केटाको अनुरोधलाई केटीले धुमधामसँग बिहे गर्ने चाहाना राखेसँगै शुरु हुन्छ कथा ।
यो कथा 'बागलुङ तमाना' पञ्चेबाजा गीतले बोलेको छ । गीतले बागलुङको तमाना र म्याग्दीको बेनी बगरसहित विभिन्न ठाउँलाई शब्दबाट वर्णन गरेको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका राम गगनले उक्त ठाउँलाई समेट्दै कोरेका शब्दले अहिले चर्चा पाउँदै गइरहेको छ ।
गगनको संगीत रहेको उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियार र गगनकै स्वर रहेको छ । एचबीएन किस्मतले संगीत संयोजन गरेको गीतको भिडियोमा वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा तथा निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् । केही समय पहिले 'जाम भो साइँली' बजारमा ल्याएका गगनले 'हेर्दामा राम्रो बेनीको बजार', 'घर छोड्दाको रात', 'जिन्दगी', 'सङ्क्रान्ति मेलामा', 'डिभोर्स', 'पश्चिम हिँडियो', 'सालैजो'सहित दर्जनौं गीत बजारमा ल्याएका छन् । सांगीतिक पस्तुति दिनकै लागि गगन मलेसिया र बहराइनसमेत पुगेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies