–नरेन्द्रमान श्रेष्ठ
पछिल्लो समयमा शेयर बजारप्रति निकै आकर्षण बढेको छ । शेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरू धमाधम देखा परिरहेका छन् भने विभिन्न कम्पनीहरूको प्राथमिक शेयरहरू पनि जारी हुने क्रम बढिरहेको छ । पछिल्लो समयमा बैंक वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावरलगायतको मात्र नभएर सञ्चार क्षेत्रको पनि प्राथमिक शेयरहरू जारी हुन थालेका छन् ।
पछिल्लो समयमा सञ्चार क्षेत्रबाट नेपाल रिपब्लिक मिडियाको प्राथमिक शेयर जारी भइसकेको छ । त्यसो त कान्तिपूर नेटवर्क र डिसहोम मिडियाले पनि आइपिओ शेयर जारी गर्ने तयारी गरिरहेका छन् । सञ्चार क्षेत्रबाट पहिला आइपिओ जारी गर्नेमा नेपाल रिपब्लिक मिडियाले बाजी मारेको त छ नै नेपाल रिपब्लिक मिडियाको शेयर दोस्रो बजारमा पनि निरन्तर कारोबार भइरहेको छ ।
खासगरी पछिल्लो समयमा दोस्रो बजारमा भन्दा पनि प्राथमिक शेयर बजारमा धेरैको आकर्षण रहेको देखिन्छ । प्राथमिक शेयर खरीदमा आवेदन दिनेहरूको संख्यामा धमाधम बृद्धि भइरहेका छन् । कुनै पनि कम्पनीको आइपिओ जारी हुँदा शेयर खरीद आवेदन दिनेहरूको घूइँचो नै लाग्ने गरेका छन् ।
पछिल्लो समयमा शेयर बजारमा विशेषगरी युवा र महिलाहरुको प्रवेश पनि बढ्को देखिन्छ । गाउँगाउँमा समेत आइपिओ भर्नुपर्छ भन्ने चलन चलेको छ । सडकदेखि सदनसम्म र चिया गफमा पनि शेयर बजारकै चर्चा हुने अवस्था बन्दै छ । शेयर बजारप्रति सबै वर्ग समुदायहरूको आकर्षण बढ्दै गइरहेको देखिन्छ । यही कारणले नै शेयर बजारको दायरा फराकिलो हुँदै गएको मान्न सकिन्छ । नवप्रवेशीहरुको र युवावर्गको रुचि प्राथमिक बजारमा बढेको देखिन्छ ।
सामान्यतयाः आइपिओ खुलाउँदा १५ लाखभन्दा बढीको सख्यामा आवेदन पर्ने गरेको छ भने डिम्याट खातामा दर्ता हुनेहरूको संख्या पनि ५८ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समयमा सजिलो गरी अनलाइनबाटै आवेदन दिन सकिने र सिआश्वामार्फत बैंकमा गएर आवेदन दिन पाउने भएपछि यसको संख्या बढेको मान्न सकिन्छ । सेबोनले पनि प्राथमिक शेयरमा आवेदन दिनेहरूलाई १० कित्ता शेयर दिनपर्ने र आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि मात्र पनि आवेदन दिनसक्ने नियम गरेपछि शेयर खरीद आवेदन दिनेहरू झनै बढेको देखिन्छ । तर यहीबीच प्राथमिक शेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता शेयर पाउने भन्ने भ्रम पनि देखापरेको छ । आवेदन दिने सबैले १० कित्ता शेयर पाउने भने होइन । माग गरेभन्दा धेरैको आवेदन प¥यो भने सबैले शेयर पाउँदैन, त्यसबेला गोला प्रथाबाट बाँडफाँट गरिन्छ । तर बढी आवेदकहरूले शेयर पाउने भने देखिन्छ ।
विगतमा वाणिज्य बैंकहरूको ८०÷९० लाख कित्ता प्राथमिक शेयर निष्काशन हुँदा मागको संख्यामा पनि आवेदन पर्दैनथ्यो । मानिसहरुलाई आवेदन दिन आग्रह गर्नुपथ्र्यो । अहिले आवेदन दिएका सबैले १० कित्ता शेयर पाइन्छ भनेर परिवारका सबै सदस्यहरूको नाममा आवेदन दिने प्रवृति बढेको जस्तो देखिएको छभन्दा पनि फरक नपर्ला । त्यसोत परिवारका सबै सदस्यहरूले आवेदन दिन नपाउने दिन नहुने भन्ने पनि होइन । तर पनि अरुको साथीभाई इष्टमित्र आफन्तको नाम र बैंक खाता प्रयोेग गरेर आइपिओको आवेदन दिनेहरूलाई निरुत्साही भने गर्नैपर्ने देखिन्छ ।
बिगतमा कुनै पनि कम्पनीको आइपिओ र एफपिओ जारी हुँदा आवेदन दिन आवेदन संकलन केन्द्रहरूमा लगानीकर्ताहरूको भिड नै देखिने गथ्र्यो । अहिले बिगतमा जस्तो प्राथमिक शेयर खरीद गर्न आवेदन संकलन केन्द्रहरूमा चेक र नगद बोकेर घण्टौ लाइनमा बसेर आवेदन बुझाउन पर्ने झन्झटबाट भने मुक्त छ । अहिले सिआस्वा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरूको देशभरका शाखा कार्यालयहरूबाट सिआस्वामार्फत शेयर खरीद आवेदन दिन सकिन्छ भने अनलाइनबाट मेरो शेयरबाट पनि आइपिओको आवेदन दिन सकिन्छ ।
सायद, यही कारणले पनि प्राथमिक शेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । पछिल्लो समयमा प्राथमिक शेयर खरीदमा आवेदन दिन सजिलो र समयको पनि बचत हने गरेको छ । त्यसैगरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम रु एक हजारको मात्रै आवेदन दिए पनि पुग्ने भएकोले साना लगानीकर्ताहरू बढी आकर्षित भएको देखिन्छ ।
धितोपत्र बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूको लागि प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ । यसमा दोश्रो बजारमा जस्तो जोखिम हुँदैन । प्राथमिक बजारबाट केही अनुभव लिइ दोश्रो बजारमा प्रवेश गर्दा राम्रो हन्छ । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरू धेरैजसो प्राथमिक बजारमा मात्रै सिमित भइरहेका छन् भन्दा पनि फरक नहोला । प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरू दोश्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो शेयरको उचित मूल्य पाएपछि शेयर बिक्रि गर्ने गर्दछन् । अबको समयमा प्राथमिक बजारका लगानीकर्ताहरू पनि दोस्रो बजारमा प्रवेश गर्नपर्ने देखिन्छ । शेयर बजार चल्ने भनेकै दोस्रो बजारले हो । त्यसो त प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोश्रो बजारमा जोखिम बढी हुन्छ । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अबधिका हुने भएकोले त्यति घाटा व्यहोर्नु पर्दैन भने दोश्रो बजारमा भने कहिले घाटा पनि हुनसक्छ । यसकारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies