ईश्वरचन्द्र ज्ञवाली
नयाँ सत्ता गठबन्धनबारे क्रिया प्रतिक्रिया आउन थालेका छन् । यो श्रृंखला अझै एक समय चल्ने नै छ । यद्यपि, यो एकाएक भएको घटना होइन भन्ने जान्नु जरुरी छ । केहीले राजनैतिक अस्थिरता र केहीले विश्वासघातको आरोप लाएका छन् । केहीले अविश्वसनीय चरित्र पनि भनेका छन् ।
अनि कोही अब माओवादी सकिन्छ भन्दैछन् भने कोही जनतामा राम्रो सन्देश नगएको भन्छन् । केहीले विदेशीसँग लम्पसार परेर विदेशीको घोँडा चढ्न थालेको समेत भन्न भ्याएका छन् । अनि केही चिबेचरा जस्ता विदेशी पत्रिका अब नेपाल अन्य मुलुकको पछि लाग्यो, विशेषगरी उत्तरी चीनको आर्शिवाद लिएर चल्न थाल्यो भन्ने जस्ता आरोप पनि आइरहेका छन् ।
स्थानीय निकाय निर्वाचन, प्रतिनिधिसमा, राष्ट्रियसभा, प्रदेश सरकार निर्माण, बजेट र योजना बिनियोजनसम्म आउँदा गठबन्धनभित्र निरन्तर विश्वासघात हुँदै आएको देखिन्छ । विशेषगरी देखिनेगरी कांग्रेसबाट माओवादी केन्द्रलाई घात भइरहेका थिए । जसलाई कांग्रेसले गुट विवाद भनेर बचाउँदै आएको थियो । प्रधानमन्त्रीले सार्वजनिकरूपमै भनेअनुसार मन्त्रीहरु सबैले अघोषितरूपमा सरकारलाई असहयोग गर्दै आएका र कर्मचारीतन्त्र पनि त्यसैबाट प्रभावित भई निकम्मा बन्दै निष्क्रिय र असहयोगी बन्न पुगेको पनि देखिन्छ ।
पछिल्लो चरणमा कांग्रेसको महासमिति बैठकले औपचारिकरूपमै जनयुद्ध विरुद्ध तुष वमन गर्दै अपराधीकरण, भ्रष्टीकरण तथा बिद्रूपीकरणको निर्णय लिनु तथा हिन्दूराष्ट्र र राजतन्त्रको पार्टीमा वैद्यानिक बहस शुरु गर्नु र अबका समयमा गठबन्धन गरेर चुनाव नलड्ने नीति नै पारित गरेपछि झन् बढी माओवादीलाई सोच्न विवश बनायो । त्यसो त पहिले पनि शेरबहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति पनि तोडिएकै हो ।
अझ भ्रष्टाचार विरोधी अभियान र सुशासनमा पनि गठबन्धनभित्रबाट विशेषगरी कांग्रेस नेतृत्वबाट अड्चन तथा अवरोधको भूमिका देखिनु पनि सामान्य थिएन । विवादमा तानिएका मन्त्रीलाई हटाउन पनि प्रधानमन्त्रीलाई दिइएको थिएन । कांग्रेसका मन्त्रीले प्रधानमन्त्री स्वयम्लाई टेर्न छाड्नु र मनपरीतन्त्र चलाउन थाल्नु पनि यसको एउटा कडि हो । मन्त्रीपरिषद् असहयोगी, कर्मचारी असहयोगी, कांग्रेस पार्टी असहयोगी, कांग्रेस नेतृत्व असहयोगी, कांग्रेसभित्रको गुटगुत राजनीति झन् विरोधी नै यस्तो घेराबन्दीका बीच सत्ता चलाउने कुरा माओवादीका निम्ति ढुुंगा चपाउनुुभन्दा बढी थिएन ।
यसले सरकारको असफलता सिद्ध मात्रै हुन्थ्यो । यहाँसम्म कि कयौं राजनैतिक नियुक्तिमा प्रधानमन्त्री स्वयम् अप्ठ्यारोमा पर्ने अवस्था थियो । यी सबै कारणले गर्दा नै गठबन्धन परिवर्तन गर्नु परेको सत्यलाई नकार्नु मिल्दैन । यो कसैको घोडा चढेको होइन, सहकार्यको नयाँ मोड हो ।
शान्ति प्रक्रिया पूरा गर्ने कुराबाट नै पछि हट्न थालेपछि र टिआरसीलाई अल्झाई राख्ने नियतमा देखिएपछि सहयात्रा गर्नु नै व्यर्थ बन्न पुग्यो । तथ्य यही हो । राष्ट्र विकासमा सबै एकमत, एकभावले अभियानात्मकरूपले अघि बढौं भन्दा टाउको दुख्नु पर्ने के कारण थियो र ? जबकि जनता सबै दल र दलका माथिल्ला सबै नेताहरुको विगतको कुकर्म कुप्रवृत्ति नालायकीपन भ्रष्टाचारी चरित्र नीच लम्पट स्वभाव देश र जनविरोधी गतिविधि, आपसी झगडा छिना झपटी देश र जनताका समस्याप्रति बेवास्ता देश विकासप्रति बेवास्ता युवा निराशा र पलायनप्रति चासो नराख्ने नियतले वाक्कदिक्क भई दल दलीय व्यवस्था र नेताहरूप्रति नै वितृष्णा पैदा भई घृणा आक्रोश निन्दा भत्र्सना विरोध गर्दै आइरहेको र विकल्पका रूपमा खोज्न नयाँ शक्तितिर फर्केको स्थिति अहिले पनि छ ।
यस स्थितिमा समीकरण फेर्न र नयाँ गठवन्धन गर्नु सही हो या गलत ? के यस परिवेशमा देश अगाडि बढाउने नयाँ कदम र नयाँ संकल्प गलत भयो ?
(लेखक माओवादी केन्द्रका नेता हुुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies