मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : २०३० को दशकतिर नेपाल दैनिक उपभोग्य वस्तुमा धेरै हदसम्म आत्मनिर्भर थियो । त्यो समयमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५४ प्रतिशत थियो । तर २०४६ सालपछि अर्थात् नेपालमा आर्थिक उदारीकरण तथा खुल्ला बजार अर्थ नीति अबलम्बन भएपछि आयात दर बढ्दै गयो । यो क्रम गणतन्त्र स्थापनापछिका अवधिमा अत्याधिक बढेको छ ।
चालु आर्थिक वर्षका दुई चौमासिक अर्थात् फागुनसम्मको आयातको तथ्यांक हेर्दा कुल गार्हस्थ्य उत्पादनको तुलनामा झण्डै २५ प्रतिशत पुगिसकेको छ । तथ्यांकहरू केलाउँदा आर्थिक वर्ष २०५६/५७ मा कुल गार्हस्थ्य उत्पादनको तुलना १३.९ प्रतिशत आयात हुँदा १३.१ प्रतिशत निर्यातको हिस्सा थियो ।
आर्थिक वर्ष २०३९/४० मा कुल गार्हस्थ्य उत्पादनको १८.७ प्रतिशत थियो भने आर्थिक वर्ष २०५३/५४ मा आयात कुल गार्हस्थ्य उत्पादनको ३३.४ प्रतिशत पुग्यो । आर्थिक वर्ष २०७८/०७९ आइपुग्दा भने नेपालको आयातमा ह्वात्तै वृद्धि भएर कुल ग्राहस्थ्य उत्पादनको ४५ प्रतिशत नाघेको थियो । यद्यपि यो वर्ष गत वर्षको तुलनामा आयातमा केही कमी भने आएको देखिन्छ ।
झण्डै दश गुणाको घाटा
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष फागुनसम्ममा १० खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँको माल वस्तु आयात भएको छ । सो अवधिमा निर्यात भने एक खर्ब ६१ करोड रुपैयाँ बराबरको मात्रै भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड पुगेको छ ।
तथ्यांकअनुसार फागुन महिनामा मात्र एक खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । समीक्षा अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा बढी हिस्सा भारतले नै ओगटेको छ । सो अवधिमा भारतबाट मात्रै छ खर्ब ३८ अर्ब बराबरको मालवस्तु आयात भएको तथ्यांक छ । सो अवधिमा नेपालले ६८ अर्ब बराबरको मालवस्तु मात्रै भारत पठाएको देखिन्छ ।
यसैगरी अर्को छिमेकी मुलुक चीनबाट समीक्षा अवधिमा एक करोड ८७ लाख बराबरको मालवस्तु आयात गर्दा ६२ हजार बराबरको मालवस्तु मात्रै निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा चीनसँगको व्यापारमा नेपालले एक खर्ब ९४ अर्ब बराबरको आयात गरेको छ । चीनमा नेपालले एक अर्ब ९५ लाख बराबरको मात्रै निर्यात व्यापार गरेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालले भन्सार बिन्दुबाट दुई खर्ब ७० अबै रूपैयाँ राजस्व संकलन गरेको छ ।
उपभोग्य सामग्री बढी आयात
नेपालले आयत गर्ने वस्तुमा सबैभन्दा बढी दैनिक उपभोग्य वस्तुहरू पर्छन् । चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांक हेर्दा तरकारी मात्रै २० अर्ब भन्दा बढी रकमको आयात भएको देखिन्छ ।
यो बाहेक मर्दापर्दा उपभोग हुने फूल, दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, तेल, नुन, चिनी लगायतका वस्तु आयात भएको देखिन्छ । कोरोना महामारीको पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा मात्रै नेपालमा २५ अर्ब २२ लाख रुपैयाँको तरकारी तथा फलफूल आयात गरिएको थियो । पछिल्लो दशकका वार्षिक तथ्यांक केलाउँदा करिब ४५ अर्ब रुपैयाँभन्दा बढीको खाद्य सामग्री वर्षेनी आयात भइरहेको छ ।
कृषि आत्मनिर्भर हुँदै निर्यात समेत भइरहेको नेपालमा अहिले आठ लाख हेक्टर जग्गा खेतीयोग्य जमिन बाँझै रहेको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले कृषिलाई व्यवसायिक र आधुनिक बनाउन नसक्दा युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको सन्दर्भमा कृसषि उपज र खाद्य सामग्रीको आयात वर्षेनि बढिरहेको छ ।
सरकारले युवाहरूलार्ई कृषिमा प्रेरित गर्न नसक्दा अवस्था दयनीय भएको खाद्यका लागि कृषि अभियन्ता उद्धब अधिकारी बताउँछन् । उनी भन्छन्, ‘बाँझो जमिन हरेक वर्ष बढिरहेको छ । सरकारको कुरा गफमै सीमित भयो । युवाहरू त्यही कृषिको काममा विदेशतिर गइरहेका छन् । नेपालमै आधुनिक कृषि औजार, सिँचाई, उच्च कृषि प्रविधि र लागतअनुसारको बजार व्यवस्थापन गर्न नसक्नु निकै दुःखद् छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies