अर्थमन्त्री वर्षमान पुनका अनुसार नेपालको अर्थतन्त्र सुधारउन्मुख छ । सुधारको पर्यासका बाबजुत अर्थतन्त्र शिथिल रहेको उनको स्विकारोक्ति छ । तर, हाललाई संकट नरहेको उनको दाबी छ । बुधबार उद्योग वाणिज्य महासंघको साधारण सभामा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, निजी क्षेत्र र अर्थविज्ञ लगायत अर्थतन्त्रका जानकारहरु उपस्थित रहेको मञ्चमा अर्थमन्त्री पुनले ओकलेका यी शब्दहरु आफैँमा गम्भीर र अर्थपूर्ण छन् । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बाह्य अर्थतन्त्र सुधारउन्मुख छ । नेपालका लागि कम्तीमा १२ महिनाका लागि आयात गर्न पुग्ने विदेशी मुद्रा संचिती छ । तर, आन्तरिक अर्थतन्त्रको अवस्था दुरासयपूर्ण छ । आन्तरिक अर्थतन्त्र कमजोर रहेको र बाह्य अर्थतन्त्र एक वर्षका लागि धान्ने अवस्था रहनुका अनेकन कारण हुन सक्छन् । यस्तो अवस्था नेपालको दीर्घकालीन हितका लागि उपयुक्त नरहेकोमा स्वयम नेपाल राष्ट्र बैंक सहमत छ । यसका लागि आवश्यक नीति तय गर्ने र बजेटमा समेट्ने पर्यासमा सरकार रहेको बताइन्छ ।
जे जस्ता तर्क र आश्वासन दिइएतापनि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, निजी क्षेत्रको तथ्याङ्कले भन्छ– नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामै छ । सरकारको आम्दानी भन्दा खर्च बढि हुदाँ देशको अर्थतन्त्र लयमा छैन । यो तथ्य बुझेको सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाइरहेको छ । तर, यथार्थता अनुसारको नीति ल्याउन खोजिरहेको छ कि छैन ? वर्तमानको अहम प्रश्न यही हो ।
नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेकोमा कसैको दुई मत छैन । यही नै नेपालको चिरकालसम्मको अर्थतन्त्रको आधार हो भन्नेमा कोही सहमत हुन सक्दैन् । यही नै सत्य हो भने रेमिट्यान्सको विकल्प सरकारले खोज्न सक्नुपर्छ । सरकारले अर्थतन्त्रको मन्दी हटाएर तिव्र आर्थिक विकासको गति समात्न सक्नुपर्छ । कृषिमा लगानी, उद्योग कलकारखानाको स्थापना आम रुपमा सुझाइएका विषय हुन् । आगामी आर्थिक वर्षको बजेट आउन डेढ महिनामात्र बाँकी छ । बजेट बनाउने गृहकार्यमा रहेको अर्थमन्त्रालयले दैनिक दुई हजारको हाराहारीमा युुवा जनशक्त्ति विदेशिरहेको ख्याल गरोस् । उद्योगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न सकोस् । आयात कम गर्ने नीति लिइयोस् । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नारा व्यवहारमा लागू गरियोस् । जनतामा रहेको निराशा चिर्नेगरी आशाको किरण बजेटमा आउने राजनीतिक एक्सन देखियोस् । यसले मात्रै बाह्य अर्थतन्त्रको अवस्था थप सुधार गराउँदै आन्तरिक अर्थतन्त्र मजबुद बनाउन सक्छ । अरुको भर नपर्ने अर्थतन्त्रले नै नेपालको दिगो हित गर्न सक्छ । यसमा सरकार गम्भीर बन्नैपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies