यस वर्षको माध्यमिक शिक्षा (एसईई) को परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही चैत १५ गतेबाट सुरु भएको एसईई परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । तर, चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिए । प्रवेशपत्र लिएकाहरुमध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहे । परीक्षामा देशभरबाट चार लाख ६७ हजार मात्रै उपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क छ । अर्थात, एसईईमा सहभागी हुन फाराम भरेका ३७ हजारभन्दा बढी विद्यार्थीले परीक्षा नै दिएनन् ।
राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुका अनुसार विद्यार्थी घट्नुका कारणहरु छन् । एसईईमा सहभागी हुने विद्यार्थीले कक्षा नौ मा रजिस्ट्रेसन फाराम भर्नुपर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौ को वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोर्होयाउन सक्छन् । यसकारण एसईईमा सहभागी हुने तथ्याङ्क केही घट्छ । कतिपय निजी विद्यालयले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौ मा दोर्होयाउन लगाउँछन् । यसले पनि पनि केही संख्या घटाउँछ । तर, यी दुई कारणले मात्रै ३७ हजार विद्यार्थी परीक्षामा सहभागी नभएका हुन भन्ने निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्ड पुग्न सक्दैन । कतिपय विद्यार्थी कक्षा १० सम्म पुग्दा आफैँ पढाइ छाड्छन् । केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन सक्छन् । तर, फारम भरेर परीक्षा दिन नजानुको कारण के हो ? सरकारसँग यसको जवाफ छैन । ३७ हजार विद्यार्थी आफैँ परीक्षामा अनुपस्थित भए वा आर्थिक अभावमा परे यसको खोजी कसले गर्ने ? यसको जवाफ खोज्न राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय वा सरकार आफैँ अग्रसर हुनुपर्छ ।
शिक्षा नै देश विकासको मेरुदण्ड हो । यो मान्यतालाई आत्मसाथ गर्दै संविधानले प्रत्येक बालबालिकाले कम्तीमा पनि प्राथमिक तहसम्मको शिक्षा पाउनु उसको नैसर्गिक अधिकारका रुपमा लिपिवद्ध गरेको छ । अनिवार्य र निःशुल्क भनिएको शिक्षा प्राप्तीका लागि पैसाको अभावको कारण देखाइन्छ वा यस्तो निचोड निस्कन्छ भने यो राज्यमाथिकै गम्भीर प्रश्न हो । संविधान बनाएर संवैधानिक रुपमा स्थापित गरेको अधिकार विद्यार्थीलाई समेत दिन सक्दैन भने राज्यको उपस्थिति के का लागि भन्ने प्रश्न उब्जिन्छ । यसको जवाफ फेरि पनि राज्यले दिनुपर्ने हुन्छ । यसतर्फ सरकारको ध्यान जाओस् । एसईई परीक्षामा ३७ हवार विद्यार्थी गयल किन भए खोजियोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies