नेपालमा केही हुँदैन वा नेपाल विकासको गतिमा साह्रै पछाडि छ भन्ने आम निराशालाई कम गर्ने एउटा परिणाम हात लागेको छ । त्यो हो – काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोलिनु (ब्रेक थ्रु हुनु) । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको सुरुङमार्ग साढे चार वर्षमै ब्रेक थ्रु भएको छ । २.६८८ किलोमिटरको सुरुङमार्ग निर्धारित समयभन्दा केही ढिलो तर, अन्य राष्ट्रिय गौरवको आयोजनको तुलनामा छिटो अगाडि बढेको हो । नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम, उकालो सडक, सुरक्षा वर्षायाममा हुने पहिरोको जोखिम लगायत समस्या समाधान गर्न परिकल्पना गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोलिएसँगै नेपालको सुरुङमार्ग तर्फको यात्रासुरु भएको छ । यसले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्रा समय र यातायात सञ्चालन खर्च घटाउने सरकारको अपेक्षा छ ।
नेपालमा सडक सुरुङमार्गका रूपमा पहिलो सुरुङ मकवानपुरमा रहेको चुरियामाई सुरुङमार्ग रहेको ऐतिहासिक तथ्य भेटिन्छ । चुरियामाई सुरुङमार्ग सन १९१७ मा चन्द्र शमशेरले बनाएका थिए । त्यसपछि सडकमा ठप्प रहेको सुरुङ प्रयोगमा पनि ब्रेक लागेको छ । माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाले आफ्नो प्रयोजनका लागि लमजुङमा बनाएको ३ सय ४० मिटर लामो सुरुङमा यातायात चल्छन् । तर, यो व्यावसायिक सडक प्रयोजनमा बनेको होइन । माथिल्लो तामाकोसी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, नागढुंगा भने व्यस्त राजमार्गमा बनेको पहिलो र सबैभन्दा लामो सुरुङ मार्ग हो ।
सोमबारको दृश्य नेपालले चार दशक अगाडि देखेको सपना थियो । २४ वर्षअघि अध्ययन सुरु भएको थियो । जापानी सहयोग नियोग (जाइका) ले वि.स.२०५८ सालमा काठमाडौं–नौबिसे सडक विस्तारको सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले वैकल्पिक मार्गका लागि नेपाल सरकारलाई सुझाव दिएको थियो । उक्त सुझाव अनुसार २०६९ सालमा नेपाल सरकारले नागढुंगामा सुरुङ बनाउने निर्णय गरेको थियो । २०७० सालमा सडक विभागले प्रारम्भिक अध्ययन प्रतिवेदन बनायो । त्यस प्रतिवेदन अनुसार अघि बढेको सरकारले २०७६ बाट काम सुरु गरेको थियो । सोमबार सुरुङमार्ग नै छिचोलिएको छ । आम निराशाका बीच हात लागेको यो परिणामले आम रुपमै आश जगाएको छ । यस किसिमको आशालाई निरन्तरता दिन सरकारले अन्य ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पनि तिव्रता दिन जरुरी छ । राज्यले आश जगाउन सके जनताले आफैँ समृद्धिमा सपना देख्छन् । यो तथ्यमा यसमा राज्य गम्भीर बन्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies