ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको हिल्दुम विद्युत वितरण केन्द्रले लोडसेडिङ समय घटाएर दैनिक ७ घण्टा बनाएको छ । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत बढे लगत्तै दैनिक लोडसेडिङको समय घटाइएको हो ।
हिमालको हिउँ पग्लिएर पानी बढेपछि १४ घण्टा लोडसेडिङबाट घटाएर ७ घण्टा बनाएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख नारायण प्रसाद कर्णले बताए । जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा केन्द्रले विद्युत आपुर्ती गर्दै आएको छ । गाउँमा लोड कम भएका कारण विद्युत लोडसेडिङ हुँदैन भने बजार क्षेत्रमा भने बढी लोड हुँदा लोडसेडिङ हुँदै आएको छ ।
केही दिन अगाडिसम्म दैनिक १४ देखि १६ घण्टा लोडसेडिङ समय तालिका पुर्याइएको भएपनि चैत महिनाको अन्तिमदेखि हिउँ पग्लिएर पानी बढेपछि केही बढी विद्युत उत्पादन हुने गरेको छ । हिउँ पग्लिएर पानीको स्रोत बढेकाले अहिले १ सय ५० किलोवाट विद्युत उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । पाँच सय किलोवाट विद्युत उत्पादन क्षमता भएको पावर हाउसले न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म मौसम र पानीको मात्रा हेरेर विद्युत उत्पादन गर्ने गरेको छ ।
वैशाख महिना लागे लगत्तै चिसो कम भएका कारण पनि बजारमा हिटर, विद्युतीय चुल्होको कम प्रयोग भएका कारण पनि विद्युत लोडसेडिङ कम भएको देखिन्छ । सिमकोट बजारमा एक मेघावाट भन्दा बढी विद्युतको माग रहेको छ । सिमकोट बजारका विद्युत उपभोक्ताले केन्द्रले लोडसेडिङ समय घटाएरपछि उपभोक्तालाई केही रुपमा सहज भएको देखिन्छ ।
यसले विद्युतीय सामग्रीको कारोवार समेत बढेको छ । लोडसेडिङ घटेपछि फर्निचरण उद्योग पनि सञ्चालनमा आएका छन् भने बजारमा भएका इलेक्ट्रोनिक व्यवसायको कारोबार पनि बढेको छ । बिहान र बेलुकाको समयमा विद्युत आपूर्ती हुने भएको कारण सेवाग्राहीले दाउरा खपत घटाएको देखिन्छ । दुई गाउँपालिकाका तीन हजार भन्दा बढी सेवाग्राही अहिले विद्युत लोडसेडिङ कम हुँदा लाभान्वित बनेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies