काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बिमल ढकालले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोमरमा आवद्ध व्यवसायीको नेतृत्वमा संघको आगामी कार्यसमिति बन्नु पर्ने बताएका छन् ।
आगामी असोज ७ गते संघको साधारणसभाको तयारी गरिरहेको संघले आगामी नेतृत्व समावेशी सिद्धान्तका आधारमा सर्व सम्मतिले चयन गर्ने विषयमा छलफल शुरु गरेको समाचार मध्यान्ह राष्ट्रिय दैनिक मार्फत् सार्वजनिक भएपछि त्यसमा प्रतिक्रिया व्यक्त गर्दै फोरमका समेत पूर्व अध्यक्ष रहेका ढकालले उक्त कुरा बताएका हुन् ।
पूर्व अध्यक्ष ढकालले संघको गत निर्वाचनमा आम व्यवसायीहरुले कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार रहेको र संघमापनि सोही अनुसार बलियो नेतृत्व हुँदा वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधान हुने अपेक्षाले पदाधिकारीसहित दुई तिहाई पदमा अमूल्य मत दिएर जिताएको भएपनि सो अनुसार काम गर्न नसके पछि अब पनि नेतृत्वको आकांक्षा देखाउनु अनुचित हुने तर्क गरे ।
प्रगतीशिल बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल र बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचमा आवद्ध व्यवसायीहरु सम्मिलित दुई तिहाई मत रहेको संघको वर्तमान नेतृत्वले व्यवसायीको पक्षमा दुईवर्षको अवधिमा के के काम गर्यो सवै व्यवसायीको सामु छर्लङ छ भन्दै पूर्व अध्यक्ष ढकालले भने, ‘व्यवसायीमाथि सरकारी पक्षबाट विभिन्न अनावश्यक निर्णय लादियो तर उहाँहरुले बोल्न, प्रतिवाद गर्न र सरकारलाई बुझाउन नै सक्नु भएन यसको नैतिक जिम्मेवारी उहाँहरुले लिनै पर्छ । नैतिक जिम्मेवारी जिम्मेवारी लिने भनेको हामीबाट समस्याको समाधान हुँदैन, फोरमका साथीहरु अगाडी बढ्नुस, हामी सहयोग गछौं भन्ने नै हो, सुविधा सन्तुलनका दृष्टिले पनि उपयुक्त निकास र समाधान पनि यही नै हो ।’
पूर्व अध्यक्ष ढकालले प्रजातिन्त्रक प्रणालीमा विश्वास राख्ने व्यवसायीहरु भएकाले आफुहरुले प्रतिश्पर्धाका माध्यमबाट नेतृत्व लिने विषयलाई सधै महत्व दिने तर व्यवसायमा आएको संकटका कारण यस पटकलाई सहमतिमा जान उपयुक्त रहेको बताए । यद्यपि पार्टीबाट निर्देशन आएमा स्वच्छ र मैत्रीपूर्ण प्रतिश्पर्धामा जानु पर्ने अवस्था समेत आउन सक्ने विकल्प भने बाँकी नै रहेको पूर्व अध्यक्ष ढकालले बताए ।
प्रश्तुत छु ,पूर्व अध्यक्ष ढकालसँग संघको आगामी नेतृत्व र साधारणसभा सम्वन्धमा मध्यान्ह दैनिकका लागि रेशमराज पौडेलले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :
नेपाल वैदेशिक रोजगार व्यवसायीले संघको आगामी नेतृत्व सहमतिका आधारमा चयन गर्ने विषयमा संघले छलफल शुरु गरेको छ, पूर्व अध्यक्षका हैसियतले कसरी लिनु भएको छ ?
वैदेशिक रोजगार क्षेत्रमा विभिन्न संकट आईरहेको अवस्थामा सर्व सम्मत विश्वास भएको बलियो नेतृत्व हुनुपर्छ भनी संघले गरेको यो पहल समय सापेक्ष र उपयुक्त नै छ । व्यवसायी र कामदार सबैलाई सुरक्षित गर्न आम व्यवासायीको एकता अपरिहार्य छ, चेतनाको स्तर माथि हुने हो भने स्वच्छ र मैत्रीपुर्ण प्रतिश्पर्धा गरेर निर्वाचनमा जाने र जितेको नेतृत्वलाई सहयोग समर्थन गर्ने परिपाटी बसाउन सकिन्छ, तर हामीमा त्यो परिपक्कताको अझै अभाव नै छ । निर्वाचनमा जित्नेले विश्व नै जितेजस्तो भ्रममा पर्ने र हार्नेले सर्वस्व गुम्यो भनेर कुण्ठित हुने परिपाटी छ । त्यो तिक्तता हटाउन सबैलाई मिलाएर लैजान सक्ने सक्षम व्यवसायी नेतृत्व दिने विषयलाई अन्यथा भन्न सकिदैन । यसका लागि सबै ईच्छुक व्यक्ति र पक्षले मेरो गोरुको वाह्रै टक्का नभनी लचिलो हुनु जरुरी छ । सकिन्छ भने सहमति गर्ने, नसक्ने भएपनि मैत्रिपूर्ण प्रतिश्पर्धा गरेर जानु उपयुक्त हुन्छ । धरौटी राखेको पछिको व्यवसायीको अवस्था अत्यन्तै विकराल र त्रासदीपूर्ण देखेको छु । नेतृत्व भन्दापनि यतापट्टि व्यवसायीको ध्यान जानु जरुरी छ ।
अपेक्ष गरेभन्दा यति धेरै व्यवसायीले धरौटी बैंक ग्यारेन्टी राखे । स्थिति कसरी त्रासदीपूर्ण बन्छ ?
धरौटी यति धेरै राखिएको छ । त्यसको व्याज व्यवसायीले तिर्नुपर्छ । तर सेवा शुल्कको विषयमा सरकारले कुनै परिवर्तन गर्न चाहेको छैन । त्यसका लागि यतिधेरै सख्यामा रहेपनि सरोकारवालासंघ संस्थाबाट पहल भएन । सरकार लचिलो भएर सेवा शुल्क परिमार्जन भएन भने कुनैपनि व्यवसायीहरुले काम गर्न सक्ने अवस्था छैन । सेवा शुल्क लगायत ऐन नियम व्यवसायीको हित विपरित आएका छन् । प्रतिपक्षको समेत सहयोग लिएर काम गर्नु पर्ने अवस्था छ तर स्थिति त्यस तर्फ गएको छैन । यो व्यवसायीका लागि विकराल हो ।
बलियो नेतृत्वले समस्याको समाधन गर्ने बताउनुभयो । तर विगतको निर्वाचनमा व्यवसायीले एउटै प्यानलका व्यवसायीहरुलाई दुई तिहाई मत दिएका हुन्, काम भएन भन्ने गुनासो अहिलेपनि छ ?
व्यवसायीले कमजोर नेतृत्वले हुदैन भनेर एउटै प्यानललाई दुईतिहाई मत दिएका हुन । त्यसपछि केन्द्रमा नेकपाको दुई तिहाईको सरकार बन्यो । यो संघका लागि व्यवसायीहरुका पक्षमा काम गर्ने अत्यन्तै अनुकल अवस्था थियो । यो बेला सुधार र राहतका काम हुनुपर्नेमा उल्टो व्यवसायीहरुले सबै भन्दाधेरै दुख र हैरानी यही बेला पाए । बरु प्रतिपक्ष पार्टीको भूमिकाका कारण व्यवसायीहरुले राहत पाए । ऐन संशोधनमा प्रतिपक्षको भूमिका प्रभावकारी भएको हो तर त्यो कुरा बाहिर ल्याइएको छैन । त्यसैले व्यवसायीले तेरो मेरा भनेर होइन सक्षमलाई ल्याउनु प¥यो । व्यवसायमा नयाँ अभ्यास पनि हुन्छ ।
सहमतिको कुरा गरेपनि नेतृत्व गर्ने पात्रका वारेमा छलफल नै भएको छैन । सैद्धान्तिक कुरा मात्रै गरेर हुन्छ त ?
कसैलेपनि मेरो गोरुको बाह्रै टक्का भन्न भएन । उपयुक्त व्यक्ति हुन्छ भने सबै एक कदम पछाडी हट्नु पर्यो । फोरम वा प्रगतिशिलका साथीहरुले हामी नै निर्विकल्प हौं भनेर सोच्नु भएन । प्रगतिशिलका पक्षका साथीहरुलाई व्यवसायीहरुलै मौका दिएकै हुन् तर स्थिति अत्यनतै अनुकुल हुँदापनि उहाँहरुले काम गरेर देखाउन सक्नु भएन । अब उहाँहरुबाट बैदेशिक रोजगारका समस्या समाधान हुन्छन भनेर व्यवसायीले विश्वास गर्न सक्ने अवस्था छैन । फोरमको नेतृत्वमा संघलाई अघिबढाउँदा सुविधा र सन्तुलनका दृष्टिले उपयुक्त हुन्छ । फोरम मात्र पनि होइन, बाहिर रहेका कोही व्यवसायी छन् भने पनि खोज्नु प¥यो । जो जो अघि बढ्नु भएको सबै एक कदम पछि हट्नै पर्छ ।
छलफलका लागि तपाईको आधार र मापदण्ड के हो त ?
सबैलाई समेट्ने ईमान्दार व्यवसायी नै नेतृत्वमा आउनु पर्छ । नाम नलिउँ, विगतमा सघको नेतृत्वमा आएका केही व्यक्ति आम व्यवसायीको हक हित भन्दापनि व्यक्ति स्वार्थ पुरागर्न व्यक्तिगत दलालीमा लाग्ने परिपाटी पनि नदेखिएको होइन, त्यस्ता व्यक्ति नआउन भन्ने कुरामा पनि सचेत हुनुपर्छ । त्यस्ता व्यक्तिले व्यवसायी धरापमा पारेको हामीले देखेका भोगेका हौं । फोरम प्रगतिशिल जुन पक्ष भएपनि संस्था र पार्टी प्रति ईमान्दार र नैतिकवान पनि हुनुपर्यो ।
तपाई अझै प्रष्ट हुनु भएन, नेतृत्व कहाँबाट, संघका पूर्व अध्यक्षहरुबाट, वर्तमान कार्य समितिबाट वा वाहिर कहाँबाट खोज्ने ?
तीन वटै ठाँउबाट हुनसक्छ । तर छलफल खुल्ला हुनुपर्छ । मैले यो र उ भन्दा वित्तिकै सहमतिको बाटो बन्द हुन्छ । मैले भन्न मिल्दैन ।
कसले यो प्रक्रियाको शुरुवात गर्ने त ?
यसको जिम्मेवारी संघको वर्तमान कार्य समिति र विशेषगरी संघका अध्यक्षको यसमा जिम्मेवारी रहेको छ । आफु संघको नेतृत्व छोडेर जाँदा सर्वसम्मत नेतृत्व छोडेर जाँदा जस्तो राम्रो वर्तमान अध्यक्षलाई केही हुँदैन । त्यसैले पहल उहाँले नै गर्नुपर्छ । अरु सघसस्थाका साथी उदार भएर अध्यक्षलाई सहयोग गर्नु पर्छ ।
विगतलाई हेर्ने हो भने चुनावका बेला एकरुपता नदेखिएको फोरम भित्रैबाट हो । आगामी दिनमा सबै साथीहरु सहमतिका लागि एकैमतमा आउलान् त ?
संघ संस्थामा केही अवसरवादीहरु व्यक्तिगत हुन्छन्, आफुलाई भयो भने ठीक आफुलाई भएन भने बेठीक भन्ने, व्यक्तिगत स्वार्थमा लाग्ने, पाटी केही होइन भन्ने हरुपनि छन् । तर उनीहरु विस्तारै किनारा लाग्छन, तर फोरममा आवद्ध अधिकाश साथीहरु ईमान्दार हुनुहुन्छ । पार्टी नेतृत्वले पनि यसमा ध्यान दिएको छ । अपवादलाई आधार बनाएर ब्याख्या गर्नु हुँदैन । नेपाली काँग्रेसप्रति ईमान्दार व्यवसायीले संस्थागत निर्णय मान्नु पर्छ । मान्छन् ।
अब फोरममा आबद्ध सबै व्यवसायीहरु अनुशासित रुपमा एकतावद्ध हुनु जरुरी छ । हाम्रो मातृ संस्था नेपाली काँग्रेसका नेताहरुले अनुशासनहीन नेता–कार्यकर्ता जहाँ रहेपनि कारबाहीका भागीदार हुने चेतावनी दिएका छन् । अब अनुशासनहीनहरु आफैं पलायन भएर जानेछन् । यो व्यवसायको क्षेत्रमा काँग्रेस निकट व्यवसायीहरुले विभागदेखि विभिन्न राजदूतावासबाट मागपत्र प्रमाणीकरणसम्म दुःख झन्झट पाउनुभएको कुराहरु आइरहेका छन् । यसबारे हामी कडाईका साथ प्रस्तुत हुनुपर्दछ ।
गर्ने त सरकारले हो, तपाईहरुले के गर्न सक्नुहुन्छ र ?
हामी प्रतिपक्षमा छौं । पार्लियामेन्टमा छ, काँग्रस । यी सबैकुराको हिसाब किताब हामीले राखेका छौं । व्यवसायीहरुलाई ५–६ करोडबाट नघट्ने धरौटी कसले घटाउने पहल ग¥यो, संसदमा काँग्रेसले के भूमिका खेल्यो, त्यो व्यवसायीहरुले बुझेका छन् ।
फोरम त पार्टीको शुभेच्छुक सस्था हो । नेपाली काँग्रेस प्रतिपक्षमा छ, पछिल्ला केही संघ संसथाको निर्वाचनमा काँग्रेस निकट उम्मेदवारहरुले जितेको कुरा आइरहेको छ । संघमा पनि चुनाव र प्रतिश्पर्धामा जान पार्टीले निर्देशन दियो भने के गर्नु हुन्छ ?
पहिलो कुरा हामीले सहमतिका आधारमा जाने विषयको आवश्यकता र गाम्भिर्यताका वारेमा पार्टी पंक्तिमा हाम्रा कुरा राख्छौं । अब सहमतिमा जाँदा फोरमकै नेतृत्वमा जाने हो । सहमति भएन प्रतिश्पर्धामा जाने भनेर पार्टीबाट निर्देशन आयो भने हामीले पार्टी निर्देशन मान्नै पर्छ । निर्वाचनमा जान्छौं । तर स्वच्छ र मैत्रीपुर्ण प्रतिश्पर्धा गरेर नेतृत्व छान्ने जितेको नेतृत्वलाई सहयोग समर्थन गर्ने परिपक्कता हामी देखाउँछौं । अरुले पनि देखाउनु पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies