शिव विक/मध्यान्ह
काठमाडौं : बागमती प्रदेशका सरकारी कार्यालयले तीन भाषामा सूचनापाटी राख्नुपर्ने भएको छ । हाल सरकारी कार्यालयलहरुले तीन/तीन महिनामा सूचना पार्टीमा कार्यालयका गतिविधिबारे जानकारी राख्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार सूचना नेपाली भाषामा राख्ने गरिएको छ ।
तर, बुधबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयले सूचना दिनुपर्ने निर्णय गरेको हो । साथै, कार्यालयका बोर्डमा समेत तनि वटै भाषामा लेखिनुपर्ने निर्णय गरेको छ ।
संघीयता अनुसारको पहिचान भेटिने नाम राख्न नसकेको भनी कतिपयले आलोचना गरिरहेका बेला बागमती प्रदेश सरकारले सरकारी कार्यालयको बोर्ड र सूचना पार्टीमा राखिने सूचना तामाङ र नेपाल भाषामा समेत हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेशको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय पनि गरेको छ । त्यसदिन बागमती सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएको हो । प्रदेशवासीमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको श्रेष्ठले जानकारी दिए ।
२७ पुस २०७६ मा प्रदेशको नाम बागमती घोषणा भएको थियो । त्यसबेला प्रदेशसभामा भएको मतदानमा ११० सदस्यीय प्रदेशका १०८ सदस्यले पक्षमा मत दिएका थिए । कतिपयले बागमती प्रदेशको नामाकारण नेवा–ताम्सालिङ हुनुपर्ने मत समेत राखेका थिए । माओवादी केन्द्रले संविधान निर्माणको समयमा यही नामको पक्षमा वकालत गरेको थियो । तर, चुनाव पछिको प्रदेश सभाका बहुमत सदस्यहरु बागमती नाममा सहमत भएका थिए ।
नेवा–ताम्सालिङ नाम राख्नुपर्ने प्रस्ताव प्रदेश सभामा पुग्न सकेको थिएन । पहिचानको पक्षधरहरुको माग र चाहना समेतलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० ल्याएको थियो । त्यसलाई कार्यान्वयन गर्ने क्रममा बागमती प्रदेश सरकारले सरकारी कार्यालयको बोर्ड र सूचना पार्टीमा लेखिने सूचना तामाङ र नेपाल भाषामा समेत हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता श्रेष्ठ प्रदेश सरकारको निर्णय र ऐन कार्यान्वयनसँगै सरकारी कामकाजको भाषामा नेपाल भाषा र तामाङ भाषा प्रयोगमा देखिने बताउँछन् । उनी भन्छन्, ‘मन्त्रिपरिषदको निर्णय र प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयनमा आएसँगै सरकारी कामकाजको भाषामा नेपाल भाषा र तामाङ भाषा समेत प्रयोगमा देखिन्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies