काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्वदेशमा रोजगारीको पर्याप्त प्रवन्ध नहुँदै वैदेशिक रोजगार बन्द गर्दा मुलुकमा सामाजिक द्वन्द्व निम्तने खतारा रहेको औंल्याएका छन् । शनिबार राजधानीको धुम्वाराहीमा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको सातौं साधारणसभा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले उक्त धारणा राखेका हुन् ।
विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने कादारहरु माथि शोषण भएको भएपनि ऐन कानुन र प्रविधिका आधारमा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने भन्दै पूर्व प्रधानमन्त्री नेपालले भने, ‘हठात रुपमा वैदेशिक रोजगारलाई बन्द गर्नु सामाजिक द्वन्द्वलाई निम्तो दिने मात्रै हो, यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेछ, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपयुक्त बनाएर पठाउनु पर्दछ मेरो आग्रह छ, उनीहरुलाई सीपयुक्त बनाउन तपाईहरुले ईमान्दार प्रयास गर्नुहोला ।’
नेपालका चिकित्सक, ईन्जिनियर लगायत सबै क्षेत्रमा समस्या रहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले वैदेशिक रोजगार क्षेत्रसँग जोडिएका म्यानपावर कम्पनी, मेडिकल व्यवसायी र अभिमुखीकरण व्यवसायीमा पनि त्यस्तै समस्या रहेको बताए । उनले भने, ‘यस्ता समस्या हटाउनुपर्ने छ । म्यानपावर कम्पनी संचालकको फोन उठ्दैन भन्ने सुन्छु, आफुले पठाएका र पठाउन लागेका कामदारको जिम्मेवारी म्यानपावर कम्पनीहरुले लिनै पर्छ ।’
पूर्व प्रधानमन्त्री नेपालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी सरकारको पनि रहेको स्मरण गराए । उनले भने, ‘गरीखाने र परिवारलाई पाल्ने कुरालाई सरकारले सहयोग गर्नुपर्छ । नेपाल र नेपालीले कोरियाबाट सिक्नुपर्छ कुनै समय कोरीयाबाट धेरै कोरीयालीहरु हाल नेपालको जस्तै रोजगारी खोज्न बाहिरिने गरेका थिए तर हाल विश्वका कामदार आकर्षक रोजगारी खोज्दै कोरीया जाने गरेका छन् । कुनै दिन यस्तो समय आउने छ, विदेशीहरुपनि रोजगारी खोज्दै नेपाल आउने छन् ।’
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकार नीतिगत सुधारका पक्षमा काम गरिरहको भन्दै व्यवसायी पनि त्यसमा सहयोगी भई सुधारका काममा हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एवं महासंघका सल्लाहकार बल बहादुर तामाङले विश्वस्तरमा विकास भइरहेको प्रविधिलाई आत्मसात गरेर पेशा व्यवसाय सञ्चालन गर्ने विषयमा व्यवसायी तत्पर नभएसम्म समस्याको समाधान नहुने बताए । व्यवसायीले सार्वजनिक मञ्चमा मन्त्रीको चर्को आलोचना गर्ने तर गृहकार्यका साथ छलफल नगर्ने परिपाटी नेपालमा रहेकाले पनि समस्या समाधान हुन नसेकको भन्दै तामाङले प्रविधिमैत्री बन्न आग्रह गरे ।
त्यसअघि धारणा राख्ने व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आम व्यवसायी र कामदारको हितमा भन्दा गिरोहबाट सञ्चालन भएको आरोप लगाउँदै पार्टी नेताहरुले त्यसमा गम्भीर रुपमा ध्यान दिई निगरानी गर्नुपर्ने भन्दै पूर्व प्रधानमन्त्री नेपालको ध्यानकर्षण गराएका थिए ।
महासंघका पूर्व अध्यक्ष पुर्णबहादुर मल्लले मन्त्री विष्ट मन्त्री नियुक्त भएको बेला आफुहरुले आशाको दीयो ठानेको, तर मन्त्रालयबाट लिइएका निर्णयले निराशा बाहेक केही हात नलागेको गुनासो गरे । उनले प्रश्न गर्दै भने, ‘उहाँ आएपछि सुधारको तीव्र सुधारको आशा थियो तर भएन, व्यवसायीसँग कहिले पनि बस्नु हुन्न किन ?’
महासंघसँग छलफल नगरी पाठ्यक्रम परिमार्जन गरेको, विना अध्ययन धरौटी बढाएको भन्दै पूर्व अध्यक्ष मल्ले भने, ‘माफिया र एक दुई पत्रकारको सल्लाहमा निर्णय गरेर मन्त्री विष्टले निर्णय लाद्ने गरेका छन्, तर हामी मान्ने अवस्थामा छैनौं ।’
महासंघका अध्यक्ष राजाराम गौतमले पाठ्यक्रममा निर्देशिका, अभिमुखीकरण कार्यालयको ठेगाना परिवर्तनमा लगाएको प्रतिवन्ध आफुहरुलाई मान्य नहुने भन्दै वैदेशिक रोजगार पाँचौं संशोधन नियमावलीमा १६ वटा बुँदामा संशोधन हुनुपर्ने माग गरे । व्यवसायीहरुले लिएको हालको शुल्क परिमार्जन गरी कम्तीमा ३ हजार १ सय ५० बनाउनुपर्ने माग पनि अध्यक्ष गौतमले गरे । कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकलगायतलाई सम्मान समेत गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies