–बाबुराम न्यौपाने ‘उत्स’
कलेजको दैनिकी पूरा गरेर साँझ घर आउनासाथ सधैँ भान्साकोठामा पसेर आफ्नै हातले चिया बनाएर पिउने समाजशास्त्र विभागकी प्रमुख प्रो.डा. जानुकालाई त्यसदिन फिटिक्कै चिया बनाउने जाँगर चलेन । बिहानैदेखि मनभित्र एक किसिमको उराठीलो हुरी चलिरहेको थियो । उनी आफ्नो सयनकक्षमा गइन् । पलङ्गमा बिछ्याइएको रातो गुलाफको फूलबुट्टे सुकिलो तन्नामाथि अर्धनग्न अवस्थामा डङरङ्ग ढलिन् ।
उनलाई घरको काममा सघाउने रमिलाको पनि एक महिना अगाडी विवाह भएकाले त्यस समयदेखि घरको माथिल्लो तेस्रो तल्लामा एक्लै बस्थिन् । तल भाडामा बस्नेहरु पनि आ–आफ्नै दैनिकीमा व्यस्त थिए । सम्पन्न, सुशील, शिक्षित भएर पनि केही दिनदेखि अनौठो निराशा र छट्पटीले जानुकालाई नराम्ररी तर्साउन थालेको थियो । जब उनी कलेजको हाताभित्र प्रवेश गर्थिन्, उनको सुन्दरता र सौम्यतामा रमाउँदै वरीपरीको वातावरण गमक्क भएर फुल्थ्यो ।
तर जानुकाको मन भने बेचैन भएर बिथोलिएको थियो । उनी विवाह भएको दशौं वर्षगाँठमा पहिलोपटक यति शून्य शून्य, उराठीलो र एकाङ्की जीवन महसुस गर्न पुगेकी थिइन् । सारा भौतिक सुखसुविधाहरु व्यर्थ र निरर्थक लाग्न थालेका थिए ।
केहीबेर विस्मिर्तिको भावमा टोलाइरहिन् । अनि शून्य कोठामा लामो उच्छवास छाड्दै ल्याप्टपको स्वीच अन गरिन् र स्क्रिनमा सुरक्षीत गरेर राखेको शिशुको फोटो चुमिन् । केही क्षण भावुक बनिन् र तपक्क आँसु खसालिन् । आज बिहान विदुरलाई नेपाल आउन गरेको अनुरोध त्यतिकै औपचारिक गफमै सिमित बनेकोमा निकै मन दुःखाइन् ।
तीन महिना अगाडी आफ्नो पैँतिसौँ जन्म दिनमा नेपाल आउन गरेको अनुरोधलाई पनि विदुरले सामान्य गफमै टारिदिएका थिए । काखको सुन्यता, जीवन साथीको दूरता र बढ्दो उमेरको अनुभूतिले जानुकाको मनलाई नराम्ररी डसिरहेको थियो ।
यस घटनापछि उनमा एक किसिमको बिरसिलो भाव उत्पन्न भएर हुनसम्मको खिन्नता जाग्न थालेको थियो । उनका पति विदुर संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली कुटनीतिक नियोगमा प्रशासकीय प्रमुखमा कार्यरत कर्मचारी थिए । उनको जागिरे जीवन बढी विदेश तिरै बित्थ्यो । वर्षको एक पटक छोटो समयको लागि मात्र नेपाल आउँथे । धेरै करगरेमा बरु जानुकालाई नै कहिलेकाहीँ उतै बोलाउँने गर्थे ।
जानुकाले पढाउने कलेजमा केही महिना पहिले राजीव नामका एक आकर्षक र व्यक्तित्वशाली अविवाहित लेक्चरर आएका थिए । केही दिनदेखि जानुकाप्रति उनको गहन झुकाव र आकर्षण बढ्दैथियो । यसको भनक जानुकालाई पनि थियो । तर, उनले नजानिदो मौनतामै बस्न मन गरेकी थिइन् ।
नचाँहदा नचाँहदै जानुकाको मन राजीवप्रति लहसिँदै थियो । जैविक आवश्यकता र सामाजिक मर्यादाको घेराबन्दीमा परेर प्रेमका अनेकौं निर्दोष पात्रहरूको कारुणीक दुर्दशा भएको यथार्थप्रति उनी अनभिज्ञ थिइनन् ।
उता विदुरप्रति उनको अगाध प्रेम र स्नेह थियो । विदुर पनि कम व्यक्तित्वशाली पुरुष थिएनन् । उनमा पनि जादुयी आकर्षण थियो । त्यही भएर उनका केटी साथीहरू धेरै थिए । एकान्तमा कहिलेकाहीँ अन्तर मनको शंका मौन बनेर जानुकाको धैर्यलाई बिस्तारै चिमटी रहन्थ्यो ।
जब उनीहरूको भेट पातलिन्थ्यो अनि जानुकाको हृदयमा अनेक आशंकाहरु पीडा भएर जन्मिन्थे । विश्वास मनको किर्किरी बन्न पुग्थ्यो । विदुरलाई हिजोआज नाइट क्लब र डान्स बार चाहार्दैमा फुर्सद थिएन, बजारमा हल्ला थियो । उनी नेपाल नआएको करिब एक वर्ष बितिसकेको थियो ।
विदुरले जानुकालाई भएभरको आधुनिक सुखसुविधा र पैसा त उपलब्ध गराएका थिए तर, जब जानुका भेटघाटको अनुकुलता खोज्थिन् कुनै बहना बनाएर टार्थे । जानुका आफैँ पनि हर क्षेत्रमा सक्षम थिइन् । यही बिन्दुबाट जानुकाको असन्तुष्टि सुरु हुन्थ्यो । उनको सचेत बौद्धिक मस्तिष्क यहाँनेर कुहिराको काग बन्थ्यो ।
विदुरमाथिको शंका उपशंका घनीभूत भएर आउँथ्यो । कहिलेकाहीँ हल्ला सुन्थिन् जागिर छाडेर विदुर अमेरिकामै बस्ने सोचाइमा छन् रे ! तर जानुकासँगको संचार सम्पर्कमा उनी भद्र र मायालु पतिकोरुपमा प्रस्तुत हुन्थे र चाँडै नेपाल आएर सधैँका लागि बस्ने भन्दै राष्ट्र प्रेमका कुरा सुनाउँथे ।
यसपटक निकै आग्रह गर्दा पनि अनेक बहना गरेर विदुर नेपाल आएनन् । जानुकाको एकांकी जीवनलाई एक्लोपन र निराशाले छोप्तै गयो । राजीवलाई परराख्न खोज्दाखोज्दै पनि सुटुक्क आँखा छलेर उनको मनमा पसिसकेको थियो ।
एकरात जानुकाले सहकर्मी राजीव अन्तरंग साथीबनेर आफ्नो नग्नशरीरसँग जथाभावी उन्मत्त खेलिरहेको सपना देखिन् । उनको स्वप्निल अश्लिलतामा कति पनि प्रतिरोध थिएन ।
कुनै परपुरुषले सपनामा पहिलो पटक मधुरचुम्बन गरेको उनको सर्वाङ्ग शरीर पसिनाले छपक्क भिजेको थियो । प्रसव वेदनामा छट्पटीँदै गरेको अधुरो सपना पछि..., जब उनी ब्यूँझिइन् । लाजले पानीपानी मात्र भइनन्; उदात्त खुशीले मनमनै झुमिन् पनि ।
रातको सन्नाटामा नयाँ अनुभूतिले अनायास उनलाई हृदयको गर्भसम्मै रोमाञ्चित स्पर्श गरेर गएको थियो । राजीव उनको मनमा यति सजिलै यति गहिराइसम्म कसरी बस्न पुग्यो उनलाई पत्तै भएन । पाप पुण्य केही नसोची अन्तर मनमा अमूर्त आनन्दको लहर निर्बाध रुपमा छचल्किन दिइन् । मनमा ग्लानीका भावहरु ढिम्किनसम्म दिइनन् ।
जीवनमा पहिलोपटक आफूभित्र विदुरको उपस्थितिलाई पलभरका लागि पूरैबिर्सन मनगरिन् ।
यतिसम्म सोच्न भ्याइन्...!
“अहो ! यो पल विपना नै भएर स्थिर भइदिएको भए.... ।”
–धनराज गिरी
आयो एक भएर लाल नगरी हल्ला भयो लोकमा
कोही ढुक्क भए यहाँ नगरमा कोही परे शोकमा
छिर्के दाउ कतै थियो मुलुकमा ब्वाँसा थिए घातमा
गाँठो कस्सिन गो भयो गजब यो आहा भयो रातमा ।।
धेरै घाउ बने कठै विगतमा रोयो चरी बेस्सरी
धेरै साहु बने अहो मुलुकमा राजा बने के गरी ?
राजा एक गए बने अझ बढी श्रीपेचधारी यहाँ
सत्ता खेल कठै बिचित्र हुन गो सारै गनायो यहाँ ।।
जे जे भो पहिले भयो अब गयो मौरी बनौं देशमा
गोठालो सब हौँ यहाँ अब सके लौरी बनौं देशमा
ढीक्का एक भए रहे सुपथमा होला उज्यालो सधैँ
यो जापान बने यतै मुलुकमा बस्लान् बचेरा सधैँ ।।
सारा भ्रष्ट यहाँ पतीत जन ती देखेँ सधैँ मोजमा
चम्चा धेर लिई सधैँ शहरमा मस्ती गरे भोजमा
यस्तो झूर कथा थियो भुवनमा कालो थियो नाम नै
सारा मेट्न सखे मिली सब मिली आयो नयाँ वाम नै ।।
आशा एक यही भयो रहर भो यो जाम जाला उता
नेपाली जनता खुशी सब खुशी यो माम खाला यता
नेपाली मनमा पवित्रपनमा नेपाल नेपाल होस्
सारा शुद्ध बनी धनी हृदयले नेपाल मात्रै जपोस् ।।
काठमाडौं : लेखक तथा साहित्यकार नारायण थापा 'कल्पित'द्वारा लिखित दुई कृति शनिबार विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी कृतिहरु विमोचन गरिएको हो ।
शनिबार थापाका दुई कृति 'चाँदनी' उपन्यास तथा कथा संग्रह 'उल्टो म' को विमोचना गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए ।
उक्त कमर्यक्रममा थापाद्वारा रचित दुई गीतसमेत सार्वजनिक गरिएको थियो । 'कौसिमा हेरेर' र 'मूल्य त पाइन्छ' बोलका दुई गीत सार्वजनिक गरिएको हो । ग्रिन भ्याली समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
–टीकाराम रेग्मी
आज पनि उनी यही बाटो आउँदै छिन् । सोमराजले उनीतिर पुर्लक्क हेर्यो । पुसको कठाङ्ग्रिदो जाडोमा भर्खर देखापरेको घामको रापमा बसेर एकाग्रतापूर्वक लेख्दै गरेको सोमराजलाई उनको आगमनले विद्युतीय झड्का दियो । उसको हातको कलमले सुइय गर्दै थकाइ मार्यो । के सोंच्दै थियो उसले ? तर किन उसको एकाग्रता खण्डित भयो ? उसलाई हेक्का भएन ।
उसले फेरि हेर्यो, उनलाई । दुई/चार रौंहरू लत्रिएर छोपेको लाम्चो सफा हँसिलो उज्यालो अनुहार । गुलाबी गाला । चञ्चल ठूला आँखा । राम्ररी कोरिएको लामो र कालो रेशमी कपाल । पुष्ट बक्षस्थल । स्वस्थ नितम्ब । उनी सरासर उसैतिर आउँदै छिन् । “अहँ, मैले उनीसँग बोलि पनि त मिसाएको छैन । तर, किन यति सशक्त आक्रमण गर्यो उनको अनुहारले मलाई आज ? होइन, उनको अनुहारले मात्र होइन, उनको अग्लो पातलो शरीर, छिनेको कम्मर, लचकदार गति, शीलले झुकाएको शीर ।” सोमराजको मन रमायो ।
उसले सँगै बसेको अधबैंसे प्रभातलाई पुलुक्क हेर्यो । उसलाई प्रष्टै भयो । प्रभातले पनि त उनैलाई हेर्दै छ । उसलाई लाग्यो प्रभातका नजरहरू ती दुईका बीच पर्खाल बनेर उभिँदैछन् । उसले नजर अन्तै घुमाए झैं गर्यो । तर, प्रभातले नजर हटाएन । उसलाई सम्झना भयो अस्ति मात्रै उनी यही बाटो भएर हिँड्दा पनि प्रभातसमेत अन्य दुई साथीले पनि उनैलाई हेर्दै थिए । तर, किन सरिता त्यो देख्नै नसके झै फनक्क फर्केर कोठाभित्र पसिन् ? आखिर सरिताको पनि त हामीसँग कुनै लेनदेन छैन । फेरि, यी को हुन् ? कहाँबाट आएकी हुन् ? कता जाँदै छिन् ? कहाँ बस्छिन् ? यो बाटो भएर प्रायः किन हिँड्छिन् ?
अस्तिको जम्का भेटपछि प्रभातले भन्दै थियो, “किन कुनै नारीलाई यति धेरै सुन्दरता दिन्छ प्रकृतिले ? किन लाग्छ एउटा मान्छेलाई यति धेरै नशा सुन्दरीको उपस्थितिले ? किन हुन्छ योरूपमा यति धेरै मादकता ?”
के ऊ साँच्चै प्रभावित छ यो महिलाप्रति ? आज उसलाई प्रभात आफ्नै अर्धाङ्गिनीबाट तृप्त हुन सकेको छैन भन्ने रहस्योद्घाटन भएको आभाष भयो । तर, के हुनसक्छ यसको कारण ? के सौन्दर्य मात्रै होला ? या के हुन्छ र यी महिलाहरूमा बुढा शेरहरू पनि पछि लाग्दछन् ? के साच्चै ऊ आफ्नी अर्धाङ्गिनीसँग सन्तुष्ट नभएकै हो ? त्यसो भए कारण त होला नि ? के हुनसक्छ त्यो ? वा, ऊ सन्तुष्ट हुँदाहुँदै पनि आँखा डुलाई बस्छ यो ? ऊ मात्रै ? कि सबै पुरुषहरू ? त्यसो हो भने भोलि ऊ आफै पनि यस्तै हुन्छ ? के ठेगान ! सोमराज चिन्तामग्न भयो ।
सोमराजले उनीतिर छड्के नजर लगायो । ऊ सतर्क थियो, कतै उसको दृष्टिमा कसैको नजर नपरोस् । राम्रो मौकामा उसले नजर लगाएको थियो । उ दंग पर्यो । उसका आँखाको तिर उनका खुला आँखामा परे । मृग नयनी । उसले झट्ट मूल्यांकन गर्यो । के उनले पनि मलाई नै हेर्दै थिइन् ? हुन पनि सक्छ । सोमराज दंग पर्यो । के कसैले मेरै लागि पठाएको हो यिनलाई ?
उ सराङ्कोटको डाँडामा उनैलाई अङ्गालोमा बाँधेर उभियो । टावरको गार्डलाई तस्बीर खिच्न लगायो । “दाई, अलिक त्यो माछापुच्छ्रेलाई पनि मेरो सिरानीमा राखी दिनोस् न । फेवालाई पनि नबिर्सनोस् नि । यो त काखैमा आएर बसोस् है थपक्क ।” गार्डले घुमी घुमी उनीहरूको इच्छानुसारका तस्बिर लिइदियो । ऊ एकाएक डुङ्गामा सवार भयो । कसरी जानेको नि सोमराजले डुङ्गा चलाउन पनि । उनी मस्किइन्, उसको चुट्किलासँगै । मुस्कान भरिएको लजालु नजरले उसलाई हेरिन् । चोर औंला टोकिन, कर्के आँखाका तिर फाल्दै गर्दा उनी लहसिइन् । लत्रिन् कर्कलो झैँ । ढलिन् गलेको माटोको डल्लो झैं, निसहाय । निसहाय ? होइन । परीक्षण होला सायद । आफूलाई भाग्यवानी ठान्यो । उसले सम्हाल्यो । डुङ्गा ढल्पलायो । उसलाई लाग्यो, होइन उनको मुटुको धड्कन् हो । ऊ उनैसँग लीन भयो । एकाकार भयो । पुरुष र प्रकृति भनेको यही हो ?
“सोमसर, कता टोलाइ राख्नु भाको ?” सरिताले व्यग्यांत्मक मुस्कान दिइन् उसलाई । उसले मान्यो, कसैले उसको भाग्य खोस्दै छ । यो सरितालाई मैलै कसलाई हेर्छु भन्ने चियो चर्चो गर्न किन परेको ? होइन, प्रभात त ल भइगयो, ऊ त पुरुष हो नि । उसले आँखा तर्यो । मन लोभियो होला । तर, यो सरितालाई के भाको होला ? यो दुई/दुई बच्चाकी आमालाई मेरो चियो चर्चो किन गर्नु ? अनि त्यो सुन्दरीसँग यसको के लिनु दिनु छ ? के यिनले यो सुन्दरीलाई सौता ठान्छिन् ? किन ? कि महिलाहरू एक–आपसमा जन्मजात सौता हुन् ? के यिनीहरू सौता हुनैको लागि जन्मेका हुन् ? भनिदिऊँ कि – जता टोलाए पनि के न टोलाए पनि के ? यी आँखाले खुइलिएको पाखो हेर्ने चलन छैन क्यार । उसको जिऊले जिरिङ्ग गर्यो । यसो हेर्यो – पाखुराका रौं पनि जुरुक्क उठेछन् ।
भोलिपल्ट पनि सोमराजले बाटोभरि उनैलाई खोज्यो । आज घाम पनि लागेको छैन । बादल पनि छैन । चिसो बतासले कसैको सन्देश ल्याइरहे झैं मन्द सुसेलो हाल्दैछ । चौर भरी शीतका थोपाहरू लटरम्म सुतेका छन् अङ्गुर सुकाए झैं । उ आजपनि खुला चौरमै एउटा कुर्ची राखेर बस्यो । उसले जाडो अनुभव गरेन । उसको पातलो स्वीटरले धानेर होला ? आँखाहरू बाटोभरी छिचलेर उ पर्खिरह्यो । तर के भयो आज ? के उनी आउँदिनन् ? उसले मनमनै सोच्यो । होइन, आउँछिन् । पक्कै आउँछिन् । मान्छेले प्रतिक्षा गर्न पनि त सिक्नैपर्छ । उसले आफैंलाई सम्झायो ।
“सोमराजजी, के छ आज त्यो चौरमा ? तपाईंलाई चिसो हावाले छोएको छैन ?” प्रभातले उसलाई बोलायो । उसले सुन्यो । तर, उसले अभिनय गर्यो, उसले सुनेको छैन । बरु बोल्यो मनमनै, “तपाईंलाई चिसो हुँदैमा मलाई पनि चिसो हुनुपर्छ ? मेरो लागि त तातै हो नि ।”
उसका हप्तौं प्रतिक्षामा बिते । उनी आइनन् । कसैले पहिल्यै लेखेको एउटा प्रेम पत्रको एक लाइन सम्झ्यो उसले, “कुनै एक दिन मेरो अनुपस्थितिमा थाहा पाउने छौ मेरो उपस्थितिमा म तिम्रो निम्ति के थिएँ !” तर उस बेला यो प्रेम पत्रको भाषा पढेर उ हाँसेको थियो एक्लै गल...ल‘ल‘ल‘ल ।“
के म साँच्चै निराश छु ? अँह । म निराश हुन्न । उनी आउँछिन् । उसले आफैलाई सान्त्वना दियो । प्रतिक्षाको घडी लामो हुन्छ भन्छन् अनुभवीहरू, साच्चै रहेछ । आज उसलाई एउटा अपरिचित मान्छेको एक हप्ता मात्रैको प्रतिक्षाले तड्पाइ रहेको छ । छटपटी ल्याइदिएको छ । दिनचर्या लै फेरिदिएको छ ।
आज एक हप्तापछि यही बाटो भएर जाँदै गरेको देख्यो उसले उनलाई । उ झल्यास्स भयो । हो त, मेरो विश्वास त कहाँ मरेको थियो र ? मान्छे आशाले बाँच्छ भनेर त्यसै त कहाँ भनेका हुन् र जानिफकारहरूले ? सत्यता छ नि यो भनाइमा । उ गजक्क पर्यो । दौडेर गई बोलाउँ कि । उसलाई लाग्यो । तर, के भनेर बोलाउने ? के काम पर्यो भनेर बोलाउने ? साथीहरूले के भन्लान् ? सरितालाई त छट्पटी नै लाग्नसक्छ । सोमराजको आँट पुगेन । दाँया बाँयाका नजरहरू छल्दै झल्याक झुलुक हेर्यो मात्र । आज पनि उस्तै राम्ररी मिलेको कपडामा थिइन् उनी । गुलाबी साडी र ब्लाउज्, उस्तै रंगको स्यान्डल, ओठ पनि उस्तै । राम्ररी खुलेको थियो उनका सौन्दर्य । आज केही बेसी नै तृप्ति लियो सोमराजले । नदेखेकै हप्ता दिनपछि देखेकोले यो कम खुसीको दिन रहेन उसलाई । उ मुस्कुरायो यो आनन्दमा । तर यो तृप्तिले उसको तृष्णा झन बढाइ दियो । कसरी प्राप्त गर्न सकिन्छ यी परीलाई ? तर यसको जवाफ उसँग थिएन ।
गोँधुलीको समय थियो । पसल जानुपर्ने । पठाउने मान्छे पनि त छैन सोमराजको कोही । उ आफै पसल गयो । तर ग्राहकको भीड । उसलाई पनि भीडमाथि भीडमा पस्नै पर्ने भयो । केही क्षण प्रतिक्षा गरूँ ? तर, के निश्चित छ र यो भीड कम हुन्छ भन्ने ? भोलिदेखि अनिश्चितकाल बन्दको हल्ला छ । बितेका यस प्रकारका बन्दहरू हप्तौं लम्बिएको उसलाई थाहा थियो । र, थाहा थियो एम्बुलेन्सहरूलाई समेत निर्धक्क चल्न नदिइरहेको समयमा समेत कुखुराको दाना बोकिरहेका गाडीहरुमा अत्यन्त संवेदनशील दुई दिने चल्ला तथा दाना लेखिएका ब्यानर झुण्ड्याएर निर्धक्क चलिरहेका पाइने अवस्था थियो । अब यो बन्द पनि कति दिन जाने हो, के ठेगान थियो र ? पन्ध्रौं दिन पनि त जान सक्छ । सबैलाई केही न केही सामल जुटाइ राख्ने सोच छ । खोइ के कम होला र ?
होइन, सोमराजले निश्चय गर्यो । भीडमा मिसिनै पर्छ । उ पनि साहुजीलाई देख्ने र सामानको नाम टिपाउन मिल्ने स्थानमा पुग्न भीडमा मिसियो । ऊ पनि सकेसम्म अरूलाई उछिन्ने कोशिस गर्यो, जस्तो अरूहरूले गर्दैथिए ।
“को–हो हँ यो ?” उसको आडैबाट आवाज आयो । तर, उसले स्वर चिनेन । उ आफ्नो अघि जाने अभियानमा लागि रह्यो । साहुजीको नजिकको डेस्कमा पुगेको मात्र के थियो उसले एउटा धक्का महसुस् गर्यो । “को हँ, धकेल्दै अघि अघि बढ्ने ?” एउटा कर्कस स्वर गुञ्जियो सोमराजको कानै नजिक । लोडसेडिङ्ग बरदान प्राप्तहरूलाई धमिलो टुकीको उज्यालोमा कसैको अनुहार डम्याउन कठीन भइसकेको यियो ।
“साहुजी, मलाई बेर भयो, छिटो/छिटो दिने भए दिनोस्, नत्र !” सोही आवाज फेरि पनि दोहोरियो । यस पटक भने सोमराजलाई नजिकबाट आएको गन्धले हिरिक्क पार्यो । सौन्दर्य प्रशाधनका वस्तुकोे सुगन्ध (?) होला । कतै जाउँ फेरि छिट्टै पालो नआउन पनि सक्थ्यो । भीड थपिँदो छ । “किन चाम्रीस मरीच आफ्नै रागले” सम्झ्यो, खुम्चिई रह्यो ।
“साहु जी, मेरो कुरा सुन्नु भएन ? मलाई बेर भयो भन्या ।” स्वर त पहिलेकै हो तर, झन् झन् कर्कस हुँदैछ ।
“तपाईंले देखिराख्नुभएकै छ, सबैलाई हतार छ, अब तपाईंको पालो पनि त आउला नि । नआत्तिनोस् न । पसलेले नम्रतापूर्वक भन्यो ।”
“भो भो पर्दैन, यति बेलासम्म मलाई उभ्याएर राख्ने ?”
“के खालका ग्राहक आउँछन् है पसलमा पनि ! धन्य हो यी व्यापारीहरू पनि । कस्ता–कस्ता मानिससँग व्यवहार गर्नुपर्छ”, सोमराजले मनमनै सोच्यो ।
उसको आडैमा उभिएकी महिला छटपटाउन थालिन्, कचकच गर्दै, पसलेलाई गाली गर्दै । सोमराजलाई पनि बोलुँ बोलुँँ लागेछ, बोल्यो, “म्याडम्, उहाँ पनि त बसेर तपाईंलाई सामान नदिएको त होइन नि । देख्नु भएकै छ, उहाँले भ्याउनु भएकै छैन । उहाँको दृष्टिमा सबै ग्राहक बराबरी नै त हुन्, होइन र ? एक छिन पर्खौ न ।”
“म तपाईंसँग त बोलेकी छैन नि, को हो हँ तपाईं, मलाई अर्ति दिने ? ए तपाईं नै हो मलाई धकेल्दै अघि अघि लाग्ने ?”, उनी चर्कंदै भनिन् । यो प्रकृतिले कसैलाई कस्तो मधुर स्वर बानी व्यहोरा दिएको छ, तर कसैलाई भने यस्तो कर्कस, किन होला ? यो मान्छे एक्लै बस्दो हो कि अरू कसैसँग ? कस्तो होला यो मान्छेको उसको मित्रसँगको व्यवहार ? उसले तिनै सुन्दरीलाई सम्झ्यो । “अँह, ती महिला !”
ऊ पुनः तिनै सुन्दरीलाई अँगालोमा च्यापेर सराङ्कोट चढ्यो, फेवामा पुग्यो, डुङ्गा सयर गर्यो । बिस्तारै आफूलाई उनमा एकाकार गर्यो । उज्यालो रसिलो भरिलो जीवनको रङ्गिन बगैँचा बनायो, आफू त्यसैमा बिचरण गर्यो । दुःखका साथ पट्याट्र लाग्दो पालो पर्खने समयलाई स्वर्णिम कालखण्डमा रूपान्तरित गर्दै चरमानन्द भोग गर्दै थियो ।
अचानक बिजुली आयो । झलल भए बत्ती । उज्यालो भयो चारैतिर । सबैले सबैलाई राम्ररी देखे । सोमराजले देख्यो ऊ त उनै सुन्दरीको आडैमा एकाकार छ, उनैको संगीतमय प्रवचनले कान तताइरहेको छ । ऊ रमाउँदै सयर गरिरहेको डुङ्गा ढल्पलायो, डुब्यो । उ पानीमा फुत्त खस्यो । असहाय ...!
–थमन नौबाग
सरकारी नोकरीबाट सेवामुक्त भएर गाउँ बस्तीमा आएर पुर्खेउली घर जमिन सिहार्न मङ्गलसिंह घर आयो । गृहणी महिमाले पच्पन्न उमेर काटिसकेकी छ । छोराछोरी भने आ–आफ्नो व्यवस्थामा शहरतिर नै छन् । बस्तीको तीन तले ठूलो घरमा मात्र दुई जना दम्पती सुनसान हुन्थ्यो । दशैंमा भने सबै परिवार भेला हुँदा आफ्नोत्वको खचाखच अति रमाइलो हुन्थ्यो ।
कहिँ टाढाबाट छोरीले एक टुहुरी एउटा केटी ल्याई । मंगलसिंहलाई पनि केटी छोरी जस्तै लाग्यो । उनी उक्त केटीलाई भने, “अब छोरी बनेर बस्नु है !”
टुहरी केटी पनि निकै रमाई । उसलाई साँच्चिकैको बाउ पाए झैं भयो । “हुन्छ बाबा !” खुसी हुँदै भनि ।
मङ्गलसिंह महिमालाई नयाँ छोरीलाई फेरफारका लागि लुगा किन्न भन्छन् । तर, जवाफ उनीतिरै फर्कियो ।
महिमा भन्छिन, “मलाई आज बिसन्च छ, गाडी लिएर आफै जानुहोस् । तर त्यो धने ड्राइभरलाई बोलाउनु नी, आफै बाठो भएर अस्तीको जस्तो गाडी नठोकाउनु । नी आखिरमा छोराले हाम्रो सुबिधाको निम्ति गाडी ड्राइभर बन्दोबस्त गरिदिएकै छ ।”
मङ्गलसिंह चिनेको लुगा दोकानमा लगेर भन्यो, “यिनको रहरको सबै समान दिनु, म आएर भूक्तानी दिन्छु ।”
मङ्गलसिंह कपडा छान्न लगाएर साथीलाई भेट्न पुगे । जिन्दगीमा पहिलो पटक यसरी सामान छान्न पाउँदा टुहुरी निकै खुसी भई । उसले बाहिरी, भित्री सबै लगाउने पहिरन किनि । उसलाई अरुलाई पनि देखाउने रहर थियो । सामान किन्दै गर्दा उसलाई आफ्नै बाले व्यवहार गरेजस्तै अनुभव भइरहेको थियो ।
तर, लुगा किनिदिएको कुरा गाउँभरी हल्ला चल्यो । “नाम मात्रको छोरी, साठी नागेकाले आफूभन्दा चालीस वर्ष सानो कलिलो केटीलाई रहरको महँङ्गो लुगा किनिदिनुबाट त कुरा अर्कै छ ?”
“हन तरुनी चाकर्नीको भित्रीलुगा बुडो आफै किनिदिन्छ भने कुरा स्पष्ट छ ।”
अर्कीले दोस्री तेस्रीमा यस्तै त कुरा दिन प्रतिदिन हुन्थ्यो । एकदिन टुहुरी केटीलाई बोलाएर छिमेकीले बोलीएर सोधी, “हन तिम्रो भित्रीलुगा मालिकलाई नाप पनि थाहा हुन्छ ?”
उसले धाकसँग भनी, “उहाँले किनिदिएको सबै जिउमा ठ्याक्कै मिल्छ ।”
“अनि मालिक्नीले केही बिरोध गर्दिनन् ?”
“गर्दिनन् उनी त बिमार भैरहन्छिन.. ।”
“ ए..त्यसो र पो ? कुरा बुझ्यौ यिनी एकदिन अवश्यै मालिक्नी हुने रहछिन.. ।”
सबै कामदार नारीहरुको यस्तै कुरा एककान दुकान मैदान मालिक्नीसम्म पुग्यो र एकदिन बोलाएर भन्छिन्, “ओइ केटी यो त निकै तरुणी भै छ, तलाई मालिकले कति माया गर्नुहुन्छ ?”
उसले तुरुन्तै जवाब दिई, “असाध्यै, यस्तो माया जिन्दगीमा कसैबाट पनि पाएको थिएन ।”
उसले चोखो विचार पोखी ।
शंकाको आगो झन दन्कियो, गाउँभरी बदनाम भयो, छोरा बुहारी छोरी जुवाई सबैसँग सरसल्लाह गर्न भेला भए तर, मङ्गलसिंह भने अनभिज्ञ परिवार भेलामा मीठो मीठो खाने व्यवस्था गर्न रमाएर साझमा प्रीतिभोजको निमित्त केही सौदा गर्न बजार लागे ।
गाउँलेले नारीहरु भएर खेरि खेरि सोधपुछ गरे तर, चाकर्नी रोइरही उत्तरमा जुट्छन् र कुट्छन् भन्ने डरले केही बोल्न सकिन ।
उसलाई घरबाट निकालिराखेर सबै बाबुलाई नभेटी एकबचन नसोधी शहर फर्किए । बजारसम्म बदनामी फैलिएको कुरा सुनेर छक्क परेर सौदा लिएर घर पुग्दा महिमा रोइरहेकी थिइ । परिवारमा एकअर्कामा विश्वास टुट्दै गएको कुरा थाहा पाएर खिन्नचित्तले मनबुझाउन टिभीमा देशविदेशको खबर हेर्न थाल्दछ ।
– तिल्सरा शर्मा
१
कसले बुझ्छ भित्री आत्मा जलेको छ भनी
मनमा आगो दनदनी बलेको छ भनी
हरेक पल तड्पेको कसले देख्छ र यहाँ,
यसको जीवन कसरी चलेको छ भनी ।।
२
मलाई सधैँ रुवाउने आफ्नै मान्छे छन्
दुःख पर्दा रमाउने आफ्नै मान्छे छन्
अब त विगतका यादहरु भुल्छु भन्दा पनि,
त्यही यादहरु बल्झाउने आफ्नै मान्छे छन् ।।
३
जिन्दगी न त वार न त पार भएको छ
उही पीडा उस्तै पीडा बारबार भएको छ
न देखाउन मिलिरहेको छ न त भन्न नै,
भित्रभित्रै मेरो जीवनमा अत्याचार भएको छ ।।
४
कति धेरै मनमा पीडा लुकाउनुपर्ने रैछ
नचाहँदा नचाहँदै शीर झुकाउनुपर्ने रैछ
जस्तोसुकै घृणा गरून् सहन्छु भन्दा पनि,
बन्द गरेको मुख आखिर फुकाउनुपर्ने रैछ ।।
५
कति धेरै पीडा सहेर बाँचेकी छु म
भित्री आत्मा जल्दा पनि हाँसेकी छु म
कसले बुझ्छ मनको पीडा यति रैछ भनी,
फाटेको मन कसोगरी गाँसेकी छु म ।।
– कुञ्जदेवी उपाध्याय
एउटा सपना भएर
खेतको आली कुल्चेर हिँड्छु
तिमीलाई के थाहा
अर्गानिक तरकारी नुन मात्रैले
स्वादिलो हुन्छ
सपना रोपेर म रमाउँदा
तिम्रो नाक खुम्चिएको देख्छु
तिमीलाई के थाहा
मेहनतको कमाइ फल्दा
म कति रोमाञ्चित हुन्छु
गाउँ भनेको गाउँ नै हो ।।
नतोल शहरसँग
जिउँदा मान्छे बस्छन् गाउँमा
तिमीलाई के थाहा
यहाँ काट्दैनन् बुहारीले सासू
यहाँका बृद्ध जाँदैनन् बृद्धाश्रम
सबै आउँछन् हेर्न भन्दै
हुँदैन एक्लोपन
आँखा खोलेर हेर
फरक छ यी स्थानमा
गाउँ भनेको गाउँ हो ।।
तिमीलाई के थाहा
जसलाई तिमी जंगल भन्छौ
त्यो प्रकृतिको काख हो
यहाँ रमाइलो छ हरपल
तिमीलाई के थाहा
छैन अवाध स्वाधिनता नारीको
तर खुश छन् सधैँ
आङ्ग ढाकेर बस्त्र लाउँछन्
हिँड्दैनन् शरीर प्रदर्शन गरी
शान्त छ सौम्य छ
यो हो पुण्य भूमि
गाउँ भनेको गाउँ हो
विकसित नभए पनि ।।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरका युवा कवि जीवन राई आरोही राष्ट्रपतिबाट सर्वोत्कृष्ट कविको रुपमा पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको ६६औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको विशेष समारोहमा कवि आरोहीलाई राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ‘राष्ट्रिय कविता महोत्सव २०८०’ले सम्मानसहित सर्वोत्कृष्ट कविको रुपमा पुरस्कृत गरेको हो ।
गत असार ९ गते राष्ट्रिय कविता महोत्सवमा कवि आरोहीद्वारा लिखित ‘प्रश्नहरुको विज्ञप्ति’ कविता सर्वोत्कृष्टको रुपमा छनोटमा परेको थियो । आरोही लामो समयदेखि उदयपुरमा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका एक सशक्त कवि हुन् ।
गण्डकीः ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् शुक्रबरदेखि बजारमा आएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
पोखरा महानगरपालिका–३३ शिवबस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ । विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचनामा ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लिखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुझ्ने गरी प्रस्तुत गरिएको छ ।
छयत्तर पृष्ठको पुस्तकको प्रथम पल्लवमा नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषबारे विश्लेषण गरिएको छ । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण छ । चौथो पल्लवमा सङ्क्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा छ। पाँचौँ पल्लवमा सङ्क्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।
पौड्यालका ज्योतिषसम्बन्धी विभिन्न लेखरचना ९२०७२०, फलित पञ्चामृतम् पहिलो संस्करण ९२०७३०, दोस्रो संस्करण ९२०७४० र तेस्रो संस्करण ९२०७६० प्रकाशित भइसकेका छन् । रासस
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानलाई उनले पुरस्कृत गरे । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।
ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल नीवासमा आयोजना गरेको विपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गरे ।
विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रति विपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यमवर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यावहारिक र ठोस दृष्टिकोण भएको बताउँंदै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘विपीले देखाउनुभएको आदर्शमा हामी हिँड्न सकेमात्र उहाँंप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु’, उनले भने । राष्ट्रपति पौडेलले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने विपीको मान्यता रहेको उल्लेख गरे ।
‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थिति सापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ’, राष्ट्रपति पौडेलले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुक सामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न विपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान विपी विचारकै सार भएको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्यमान्यता विपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहने विपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रस्ट्याएको पनि बताए ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभाका सांसद डा. शशाङ्क कोइरालाले धन्यवाद ज्ञापन गर्दै विपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
सम्मानित व्यक्तित्व बिमलले विपी सदैव स्वतन्त्रता र समानताका पक्षधर थिए भन्दै लोकतान्त्रिक समाजवाद नै विपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies