–टीकाराम रेग्मी
आज पनि उनी यही बाटो आउँदै छिन् । सोमराजले उनीतिर पुर्लक्क हेर्यो । पुसको कठाङ्ग्रिदो जाडोमा भर्खर देखापरेको घामको रापमा बसेर एकाग्रतापूर्वक लेख्दै गरेको सोमराजलाई उनको आगमनले विद्युतीय झड्का दियो । उसको हातको कलमले सुइय गर्दै थकाइ मार्यो । के सोंच्दै थियो उसले ? तर किन उसको एकाग्रता खण्डित भयो ? उसलाई हेक्का भएन ।
उसले फेरि हेर्यो, उनलाई । दुई/चार रौंहरू लत्रिएर छोपेको लाम्चो सफा हँसिलो उज्यालो अनुहार । गुलाबी गाला । चञ्चल ठूला आँखा । राम्ररी कोरिएको लामो र कालो रेशमी कपाल । पुष्ट बक्षस्थल । स्वस्थ नितम्ब । उनी सरासर उसैतिर आउँदै छिन् । “अहँ, मैले उनीसँग बोलि पनि त मिसाएको छैन । तर, किन यति सशक्त आक्रमण गर्यो उनको अनुहारले मलाई आज ? होइन, उनको अनुहारले मात्र होइन, उनको अग्लो पातलो शरीर, छिनेको कम्मर, लचकदार गति, शीलले झुकाएको शीर ।” सोमराजको मन रमायो ।
उसले सँगै बसेको अधबैंसे प्रभातलाई पुलुक्क हेर्यो । उसलाई प्रष्टै भयो । प्रभातले पनि त उनैलाई हेर्दै छ । उसलाई लाग्यो प्रभातका नजरहरू ती दुईका बीच पर्खाल बनेर उभिँदैछन् । उसले नजर अन्तै घुमाए झैं गर्यो । तर, प्रभातले नजर हटाएन । उसलाई सम्झना भयो अस्ति मात्रै उनी यही बाटो भएर हिँड्दा पनि प्रभातसमेत अन्य दुई साथीले पनि उनैलाई हेर्दै थिए । तर, किन सरिता त्यो देख्नै नसके झै फनक्क फर्केर कोठाभित्र पसिन् ? आखिर सरिताको पनि त हामीसँग कुनै लेनदेन छैन । फेरि, यी को हुन् ? कहाँबाट आएकी हुन् ? कता जाँदै छिन् ? कहाँ बस्छिन् ? यो बाटो भएर प्रायः किन हिँड्छिन् ?
अस्तिको जम्का भेटपछि प्रभातले भन्दै थियो, “किन कुनै नारीलाई यति धेरै सुन्दरता दिन्छ प्रकृतिले ? किन लाग्छ एउटा मान्छेलाई यति धेरै नशा सुन्दरीको उपस्थितिले ? किन हुन्छ योरूपमा यति धेरै मादकता ?”
के ऊ साँच्चै प्रभावित छ यो महिलाप्रति ? आज उसलाई प्रभात आफ्नै अर्धाङ्गिनीबाट तृप्त हुन सकेको छैन भन्ने रहस्योद्घाटन भएको आभाष भयो । तर, के हुनसक्छ यसको कारण ? के सौन्दर्य मात्रै होला ? या के हुन्छ र यी महिलाहरूमा बुढा शेरहरू पनि पछि लाग्दछन् ? के साच्चै ऊ आफ्नी अर्धाङ्गिनीसँग सन्तुष्ट नभएकै हो ? त्यसो भए कारण त होला नि ? के हुनसक्छ त्यो ? वा, ऊ सन्तुष्ट हुँदाहुँदै पनि आँखा डुलाई बस्छ यो ? ऊ मात्रै ? कि सबै पुरुषहरू ? त्यसो हो भने भोलि ऊ आफै पनि यस्तै हुन्छ ? के ठेगान ! सोमराज चिन्तामग्न भयो ।
सोमराजले उनीतिर छड्के नजर लगायो । ऊ सतर्क थियो, कतै उसको दृष्टिमा कसैको नजर नपरोस् । राम्रो मौकामा उसले नजर लगाएको थियो । उ दंग पर्यो । उसका आँखाको तिर उनका खुला आँखामा परे । मृग नयनी । उसले झट्ट मूल्यांकन गर्यो । के उनले पनि मलाई नै हेर्दै थिइन् ? हुन पनि सक्छ । सोमराज दंग पर्यो । के कसैले मेरै लागि पठाएको हो यिनलाई ?
उ सराङ्कोटको डाँडामा उनैलाई अङ्गालोमा बाँधेर उभियो । टावरको गार्डलाई तस्बीर खिच्न लगायो । “दाई, अलिक त्यो माछापुच्छ्रेलाई पनि मेरो सिरानीमा राखी दिनोस् न । फेवालाई पनि नबिर्सनोस् नि । यो त काखैमा आएर बसोस् है थपक्क ।” गार्डले घुमी घुमी उनीहरूको इच्छानुसारका तस्बिर लिइदियो । ऊ एकाएक डुङ्गामा सवार भयो । कसरी जानेको नि सोमराजले डुङ्गा चलाउन पनि । उनी मस्किइन्, उसको चुट्किलासँगै । मुस्कान भरिएको लजालु नजरले उसलाई हेरिन् । चोर औंला टोकिन, कर्के आँखाका तिर फाल्दै गर्दा उनी लहसिइन् । लत्रिन् कर्कलो झैँ । ढलिन् गलेको माटोको डल्लो झैं, निसहाय । निसहाय ? होइन । परीक्षण होला सायद । आफूलाई भाग्यवानी ठान्यो । उसले सम्हाल्यो । डुङ्गा ढल्पलायो । उसलाई लाग्यो, होइन उनको मुटुको धड्कन् हो । ऊ उनैसँग लीन भयो । एकाकार भयो । पुरुष र प्रकृति भनेको यही हो ?
“सोमसर, कता टोलाइ राख्नु भाको ?” सरिताले व्यग्यांत्मक मुस्कान दिइन् उसलाई । उसले मान्यो, कसैले उसको भाग्य खोस्दै छ । यो सरितालाई मैलै कसलाई हेर्छु भन्ने चियो चर्चो गर्न किन परेको ? होइन, प्रभात त ल भइगयो, ऊ त पुरुष हो नि । उसले आँखा तर्यो । मन लोभियो होला । तर, यो सरितालाई के भाको होला ? यो दुई/दुई बच्चाकी आमालाई मेरो चियो चर्चो किन गर्नु ? अनि त्यो सुन्दरीसँग यसको के लिनु दिनु छ ? के यिनले यो सुन्दरीलाई सौता ठान्छिन् ? किन ? कि महिलाहरू एक–आपसमा जन्मजात सौता हुन् ? के यिनीहरू सौता हुनैको लागि जन्मेका हुन् ? भनिदिऊँ कि – जता टोलाए पनि के न टोलाए पनि के ? यी आँखाले खुइलिएको पाखो हेर्ने चलन छैन क्यार । उसको जिऊले जिरिङ्ग गर्यो । यसो हेर्यो – पाखुराका रौं पनि जुरुक्क उठेछन् ।
भोलिपल्ट पनि सोमराजले बाटोभरि उनैलाई खोज्यो । आज घाम पनि लागेको छैन । बादल पनि छैन । चिसो बतासले कसैको सन्देश ल्याइरहे झैं मन्द सुसेलो हाल्दैछ । चौर भरी शीतका थोपाहरू लटरम्म सुतेका छन् अङ्गुर सुकाए झैं । उ आजपनि खुला चौरमै एउटा कुर्ची राखेर बस्यो । उसले जाडो अनुभव गरेन । उसको पातलो स्वीटरले धानेर होला ? आँखाहरू बाटोभरी छिचलेर उ पर्खिरह्यो । तर के भयो आज ? के उनी आउँदिनन् ? उसले मनमनै सोच्यो । होइन, आउँछिन् । पक्कै आउँछिन् । मान्छेले प्रतिक्षा गर्न पनि त सिक्नैपर्छ । उसले आफैंलाई सम्झायो ।
“सोमराजजी, के छ आज त्यो चौरमा ? तपाईंलाई चिसो हावाले छोएको छैन ?” प्रभातले उसलाई बोलायो । उसले सुन्यो । तर, उसले अभिनय गर्यो, उसले सुनेको छैन । बरु बोल्यो मनमनै, “तपाईंलाई चिसो हुँदैमा मलाई पनि चिसो हुनुपर्छ ? मेरो लागि त तातै हो नि ।”
उसका हप्तौं प्रतिक्षामा बिते । उनी आइनन् । कसैले पहिल्यै लेखेको एउटा प्रेम पत्रको एक लाइन सम्झ्यो उसले, “कुनै एक दिन मेरो अनुपस्थितिमा थाहा पाउने छौ मेरो उपस्थितिमा म तिम्रो निम्ति के थिएँ !” तर उस बेला यो प्रेम पत्रको भाषा पढेर उ हाँसेको थियो एक्लै गल...ल‘ल‘ल‘ल ।“
के म साँच्चै निराश छु ? अँह । म निराश हुन्न । उनी आउँछिन् । उसले आफैलाई सान्त्वना दियो । प्रतिक्षाको घडी लामो हुन्छ भन्छन् अनुभवीहरू, साच्चै रहेछ । आज उसलाई एउटा अपरिचित मान्छेको एक हप्ता मात्रैको प्रतिक्षाले तड्पाइ रहेको छ । छटपटी ल्याइदिएको छ । दिनचर्या लै फेरिदिएको छ ।
आज एक हप्तापछि यही बाटो भएर जाँदै गरेको देख्यो उसले उनलाई । उ झल्यास्स भयो । हो त, मेरो विश्वास त कहाँ मरेको थियो र ? मान्छे आशाले बाँच्छ भनेर त्यसै त कहाँ भनेका हुन् र जानिफकारहरूले ? सत्यता छ नि यो भनाइमा । उ गजक्क पर्यो । दौडेर गई बोलाउँ कि । उसलाई लाग्यो । तर, के भनेर बोलाउने ? के काम पर्यो भनेर बोलाउने ? साथीहरूले के भन्लान् ? सरितालाई त छट्पटी नै लाग्नसक्छ । सोमराजको आँट पुगेन । दाँया बाँयाका नजरहरू छल्दै झल्याक झुलुक हेर्यो मात्र । आज पनि उस्तै राम्ररी मिलेको कपडामा थिइन् उनी । गुलाबी साडी र ब्लाउज्, उस्तै रंगको स्यान्डल, ओठ पनि उस्तै । राम्ररी खुलेको थियो उनका सौन्दर्य । आज केही बेसी नै तृप्ति लियो सोमराजले । नदेखेकै हप्ता दिनपछि देखेकोले यो कम खुसीको दिन रहेन उसलाई । उ मुस्कुरायो यो आनन्दमा । तर यो तृप्तिले उसको तृष्णा झन बढाइ दियो । कसरी प्राप्त गर्न सकिन्छ यी परीलाई ? तर यसको जवाफ उसँग थिएन ।
गोँधुलीको समय थियो । पसल जानुपर्ने । पठाउने मान्छे पनि त छैन सोमराजको कोही । उ आफै पसल गयो । तर ग्राहकको भीड । उसलाई पनि भीडमाथि भीडमा पस्नै पर्ने भयो । केही क्षण प्रतिक्षा गरूँ ? तर, के निश्चित छ र यो भीड कम हुन्छ भन्ने ? भोलिदेखि अनिश्चितकाल बन्दको हल्ला छ । बितेका यस प्रकारका बन्दहरू हप्तौं लम्बिएको उसलाई थाहा थियो । र, थाहा थियो एम्बुलेन्सहरूलाई समेत निर्धक्क चल्न नदिइरहेको समयमा समेत कुखुराको दाना बोकिरहेका गाडीहरुमा अत्यन्त संवेदनशील दुई दिने चल्ला तथा दाना लेखिएका ब्यानर झुण्ड्याएर निर्धक्क चलिरहेका पाइने अवस्था थियो । अब यो बन्द पनि कति दिन जाने हो, के ठेगान थियो र ? पन्ध्रौं दिन पनि त जान सक्छ । सबैलाई केही न केही सामल जुटाइ राख्ने सोच छ । खोइ के कम होला र ?
होइन, सोमराजले निश्चय गर्यो । भीडमा मिसिनै पर्छ । उ पनि साहुजीलाई देख्ने र सामानको नाम टिपाउन मिल्ने स्थानमा पुग्न भीडमा मिसियो । ऊ पनि सकेसम्म अरूलाई उछिन्ने कोशिस गर्यो, जस्तो अरूहरूले गर्दैथिए ।
“को–हो हँ यो ?” उसको आडैबाट आवाज आयो । तर, उसले स्वर चिनेन । उ आफ्नो अघि जाने अभियानमा लागि रह्यो । साहुजीको नजिकको डेस्कमा पुगेको मात्र के थियो उसले एउटा धक्का महसुस् गर्यो । “को हँ, धकेल्दै अघि अघि बढ्ने ?” एउटा कर्कस स्वर गुञ्जियो सोमराजको कानै नजिक । लोडसेडिङ्ग बरदान प्राप्तहरूलाई धमिलो टुकीको उज्यालोमा कसैको अनुहार डम्याउन कठीन भइसकेको यियो ।
“साहुजी, मलाई बेर भयो, छिटो/छिटो दिने भए दिनोस्, नत्र !” सोही आवाज फेरि पनि दोहोरियो । यस पटक भने सोमराजलाई नजिकबाट आएको गन्धले हिरिक्क पार्यो । सौन्दर्य प्रशाधनका वस्तुकोे सुगन्ध (?) होला । कतै जाउँ फेरि छिट्टै पालो नआउन पनि सक्थ्यो । भीड थपिँदो छ । “किन चाम्रीस मरीच आफ्नै रागले” सम्झ्यो, खुम्चिई रह्यो ।
“साहु जी, मेरो कुरा सुन्नु भएन ? मलाई बेर भयो भन्या ।” स्वर त पहिलेकै हो तर, झन् झन् कर्कस हुँदैछ ।
“तपाईंले देखिराख्नुभएकै छ, सबैलाई हतार छ, अब तपाईंको पालो पनि त आउला नि । नआत्तिनोस् न । पसलेले नम्रतापूर्वक भन्यो ।”
“भो भो पर्दैन, यति बेलासम्म मलाई उभ्याएर राख्ने ?”
“के खालका ग्राहक आउँछन् है पसलमा पनि ! धन्य हो यी व्यापारीहरू पनि । कस्ता–कस्ता मानिससँग व्यवहार गर्नुपर्छ”, सोमराजले मनमनै सोच्यो ।
उसको आडैमा उभिएकी महिला छटपटाउन थालिन्, कचकच गर्दै, पसलेलाई गाली गर्दै । सोमराजलाई पनि बोलुँ बोलुँँ लागेछ, बोल्यो, “म्याडम्, उहाँ पनि त बसेर तपाईंलाई सामान नदिएको त होइन नि । देख्नु भएकै छ, उहाँले भ्याउनु भएकै छैन । उहाँको दृष्टिमा सबै ग्राहक बराबरी नै त हुन्, होइन र ? एक छिन पर्खौ न ।”
“म तपाईंसँग त बोलेकी छैन नि, को हो हँ तपाईं, मलाई अर्ति दिने ? ए तपाईं नै हो मलाई धकेल्दै अघि अघि लाग्ने ?”, उनी चर्कंदै भनिन् । यो प्रकृतिले कसैलाई कस्तो मधुर स्वर बानी व्यहोरा दिएको छ, तर कसैलाई भने यस्तो कर्कस, किन होला ? यो मान्छे एक्लै बस्दो हो कि अरू कसैसँग ? कस्तो होला यो मान्छेको उसको मित्रसँगको व्यवहार ? उसले तिनै सुन्दरीलाई सम्झ्यो । “अँह, ती महिला !”
ऊ पुनः तिनै सुन्दरीलाई अँगालोमा च्यापेर सराङ्कोट चढ्यो, फेवामा पुग्यो, डुङ्गा सयर गर्यो । बिस्तारै आफूलाई उनमा एकाकार गर्यो । उज्यालो रसिलो भरिलो जीवनको रङ्गिन बगैँचा बनायो, आफू त्यसैमा बिचरण गर्यो । दुःखका साथ पट्याट्र लाग्दो पालो पर्खने समयलाई स्वर्णिम कालखण्डमा रूपान्तरित गर्दै चरमानन्द भोग गर्दै थियो ।
अचानक बिजुली आयो । झलल भए बत्ती । उज्यालो भयो चारैतिर । सबैले सबैलाई राम्ररी देखे । सोमराजले देख्यो ऊ त उनै सुन्दरीको आडैमा एकाकार छ, उनैको संगीतमय प्रवचनले कान तताइरहेको छ । ऊ रमाउँदै सयर गरिरहेको डुङ्गा ढल्पलायो, डुब्यो । उ पानीमा फुत्त खस्यो । असहाय ...!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies