सिनेमा क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् काजी लिम्बू । चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा अब्वल काजी लिम्बू निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन् । कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठूलो काम भनेनन् निरन्तर कर्मप्रति इमान्दारिताका साथ लागिरहे । ‘आफ्नो मान्छे’ सिनेमाबाट स्थल सहायकको रुपमा उनको यात्राको शुरुवात भयो । त्यसपछि प्रावधिक हुँदै सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै ठुलो पर्दाको सिनेमा निर्देशकसम्मको पहिचान बनाउन सफल लिम्बूले गौंथली, अजम्बरी माया, आफनोपन, जंगेमा प्राविधिकको रुपमा काम गरिसके पश्चात उनले जेठोकान्छो, नौडाँडापारी, चित्कार, रमझम, समर्पण, ग्रहण, अहंकार जस्ता सिनेमामा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । हिन्दी र पाकिस्तानी सिनेमामा समेत काम गर्न भ्याएका छन् । दर्जन बढी विज्ञापन तथा वृतचित्र एवम् म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक काजी लिम्बूले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
चाडपर्वको मेसोमा नयाँ के गर्दै हुनुहुन्छ ?
चाडपर्वको बेला मैले यो पटक धेरै भन्दा धेरै बाह्य भाषाका सिनेमा हेर्ने र त्यसमा प्रयोग भएका प्रविधिको अनुशरण गर्न आफूलाई प्रेरित गर्छु भन्ने प्रण गरेको छु ।
चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा काम गर्नुहुन्छ, समय कसरी मिलाउनुहुन्छ ?
सबै विधामा फरक–फरक तवरले समय निर्धारण गरिएको हुन्छ । त्यही अनुसार माइन्डलाई सेटअप गर्छु र विषयवस्तुमाथि केन्द्रित गर्ने गर्दछु, त्यही भएर सजिलो नै भएको छ ।
यति धेरै विधामा काम गर्नुहुन्छ, आफूलाई सहज लाग्ने काम चाहिँ कुन हो ?
म लेख्दा एउटा अमूर्त स्केच लिएर बसेको हुन्छु भने निर्देशन गर्दा त्यही अमूर्त स्केचलाई मूर्त कसरी गराउने हो भन्ने सोचमा हुन्छु । सम्पादनमा बस्दा त्यो स्केचलाई कसरी जीवन्त बनाउने भनेर घोत्लीरहेको हुन्छु । मलाई सबै काम प्यारो लाग्छ ।
सिने क्षेत्रका बहुआयमिक व्यक्तित्व हुनुहुन्छ, कसरी सम्भव भयो जस्तो लाग्छ ?
वास्तवमा म चलचित्रमा निर्देशक बन्न आएको थिएँ, लेखनमा रुची भएको र नाटक पनि लेख्ने भएको हुँदा सिनेमा लेखनतर्फ ढल्किएँ । केही फिल्ममा लेखन सहयोगीको रुपमा काम पनि गरें । २०६२–६३ को बृहत् जनआन्दोलनपश्चात नेपाली सिनेमा क्षेत्र आमूल परिवर्तन आयो, न्यु स्कुल र ओल्ड स्कुल प्रत्यक्ष प्रभाव देखियो । त्यो बेला अहिलेजस्तो जिजिविषाको अन्य माध्यम कम हुने गथ्र्यो । अतः मैले टेलिभिजनमा प्रोगाम प्रोडुसरका रुपमा अनुबन्धित भइ काम गर्न थालें । फेरि नयाँ अध्याय शुरु भयो । त्यहीँबाट प्रोगाम प्रोडुसर, कार्यक्रमको–कोर्डिनेट, कन्टेन्ट राइटर, सम्पादक हुँदै फेरि सिनेमामा नै फर्किएको छु । यो अनुभवले पनि हो भन्ने लाग्छ ।
नाटक लेखन, निर्देशनमा पनि कुनै समय सक्रिय देखिनु भयो, अहिले के छ ?
मैले व्यावसायिक नाटक लेखन निर्देशन नगरेको धेरै भयो, अहिले त्यातातिर ध्यान दिएकै छैन ।
सिनेमा लेखन र निर्देशनमा के भिन्नता छ ?
एकदमै गहन विधा हुन् दुबै । लेखनमा भाषाको दख्खल भएको हुनुपर्छ, चाहे त्यो क्लिष्ट होस् या सरल । निर्देशनमा भिजनको गहिराइता हुनै पर्दछ । लेखन र निर्देशकीय क्षमता, मानवीय संवेगता र सम्वेदना छुन सक्ने हुनु पर्दछ ।
सिनेमामा आवश्यक सबै विषयको प्राविधिक ज्ञान भएको व्यक्ति तपाईं, अहिलेको प्रविधिलाई कसरी लिनु भएको छ ?
हिजोको एनालगदेखि आजको डिजिटालाइजेसनसम्मको अनुभवलाई हेर्दा प्रविधिले ठूलो फड्को मारेको छ । नयाँ, नयाँ प्रविधिहरु आइरहेका छन् । हाम्रो प्राविधिक तथा मेकरहरु पनि प्रविधिमैत्री हुन थालेका छन् । रेड सिरिज, एरी सिरिजका अत्याधुनिक क्यामराहरु र त्यसलाई अपरेट गर्न सक्ने प्राविधिकि हाम्रो इण्डष्ट्रिजमा हुनु सम्पन्नताको लक्षण हो ।
सबै कुराले सम्पन्न भएपनि नेपाली सनेमा उद्योग किन निरन्तर ओरालोतिर छ ?
वर्षमा ५–६ सिनेमाबाहेक अन्यले पानी भन्न पाउँदैनन् । समस्या के छ भने हामी २१औं शताब्दीमा छौं । सूचना र प्रविधिले सिंगो संसार नै एउटा गाँउघर झैं भइसक्यो, हरेक राष्ट्रका सिनेकर्मीले नयाँ–नयाँ कथा र प्रविधिको एक्सपेरिमेन्ट गरेर सिनेमा बनाउन थालेका छन् । तर हामी भने उही घिसापिटा कथा वस्तु उही फर्मुलावाला सिनेमा बनाउन नै व्यस्त छौं । यहिँनेर हामी चुक्छौं र असफल हुन्छौं । तर सफल हुने फिल्मकर्मी पनि छन्, जस्ले दर्शकको रुची अनुसार अनुसन्धान गरेर सिनेमा बनाउँछन् ।
नेपाली चलचित्रले किन अन्तर्राष्ट्रिय बजार अहिलेसम्म पाउन नसकेको होला ?
विश्व सिनेमाको बजारको आयातन निकै ठूलो छ । तर हाम्रो उपस्थिति भने तपाईंले भने झैं न्यून छ । यसमा हामी मेकरले कसरत गर्न त्यतिकै जरुरी देख्छु । मेरो विचारमा हामीले बाह्य बजारको प्रविधि र प्राविधिकसँग प्रतिस्पर्धा गर्न कठिन छ । अतः मौलिक विषयवस्तुको छनोट गरेर यथार्थपरक हिसाबले प्रस्तुति दिन सकेमा पक्कै पहिचान मिल्नेछ भन्नेमा विश्वस्त छु । र, राज्यले नेपाली सिनेमा, कला, संस्कृति र कलकारलाई राष्ट्रको गहना ठान्छ भने विभिन्न मुलुकसँग समन्वय र सहकार्य गरी नेपाली सिनेमालाई प्रदर्शन गर्ने मार्गचित्र येथेष्टरुपमा बनाउन पर्छ । अनिमात्र नेपाली रजतपटले फड्को मार्न सक्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सबै नेपाली फिल्म चल्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म, सबै मेकरको फिल्म चलोस् । संसारभरिका सिनेमाले नेपाली सिनेमा क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आओस् ।
काठमाडौं : दशैंको अवसरमा टिजर र गीत सार्वजनिक गर्दै आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बिच्छेद’ पोस्टपोन्ड भएको छ । प्रचारका लागि पर्याप्त समय नपुगेको र पोस्ट प्रोडक्सनको काम भ्याउन अझै समय लाग्ने भएपछि फिल्मको रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सत्यराज चौलागाईँले जानकारी दिए । तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने उनको भनाइ छ ।
यसै हप्ता एक गीत खिच्दै अब फिल्मको छायांकन सकिएको पनि निर्देशक चौलागाईँले बताए । यो उनको दोस्रो निर्देशकिय फिल्म हो । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ । सङ्कल्प भुजेल छायाँकार हुन् ।
रेड आइज फिल्मस र सिम्पल एड मिडिया को संयुक्त लगानी रहेको चलचित्र ‘बिच्छेद’को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको ‘बिच्छेद’मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । निर्देशक चौलागाईँले फिल्म सामाजिक विषयमा बनेको बताएका छन् ।
काठमाडौं : विवाहित महिलाहरुबीचको नेपालकै सवैभन्दा ठूलो सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि चुमेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाएकी छन् । मिसेस वर्ल्ड २०२२ सरगम कौशलले उनलाई सो ताज पहिराएकी थिइन् ।
थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ भएवापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गर्नेछिन् भने एक स्कुटर पनि प्राप्त गर्नेछिन् ।
बुधबार राति राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेशनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
प्रतियोगितामा एक खुट्टा भएकी प्रतियोगी सीता सुवेदी एमएस नेपाल इन्टरनेशनलका साथमा रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता भएकी छन् । उनले एमएस नेपाल इन्टरनेशनल भएवापत एक थान ओभन प्राप्त गर्नेछिन् भने सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । एक खुट्टाले यस्तो प्रतियोगिता जित्ने उनी पहिलो अन्तराष्ट्रिय प्रतियोगी हुन् ।
सो प्रतियोगितामा आईना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवाक, निशा बिष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आईकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस भएका थिए ।
सो प्रतियोगितामा पुनम श्रेष्ठ रीलायाबल डाईग्नोस्टीक मस्ट डीसिप्लेन, रेखा सिंह रायमाझी नेपाल टुरिजम बोर्ड मिसेस टुरिजम एम्बेस्डर, मिना भट्टराई नेपाल टेलिकम मल्टि मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी ए र एस डेन्टल बेस्ट स्माइल, सलोनी श्रेष्ठ वाव वेस्ट हेयर, जेनी खड्का एन प्रोफेसनल ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल फ्लाइटेक इन्टरनेसनल बेस्ट डान्स, कोमल लामा सेटाफिल मस्ट डिसिप्लेन्ड बेस्ट स्कीन, पबिन श्रेष्ठ ओखती मिसेस कन्जिनियालिटी, रेखा बिष्ट आसम वेस्ट पर्सनालिटी र देबी थापा गुरुङ मिसलिन बेस्ट फिजीक उपाधि विजेता बन्न सफल भए ।
मिसेस नेपाल वर्ल्डलाई आगामी दिनबाट अझ सशक्त बनाउँदै लैजाने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले कार्यक्रममा बताए । सो कार्यक्रमलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।
मिसेस नेपाल वर्ल्ड २०२३ को कोरियोग्राफी अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाले गरेका थिए । सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा भएको सो समारोहमा दुर्गेश थापाले आफ्ना टिमसँग आधा दर्जन गीतसँगै नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए । कलाकार सिडी बिजय अधिकारीको प्रस्तुति पनि उत्कृष्ट थियो ।
प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका महाप्रबन्ध प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा. आशा सिंह, मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिल, पत्रकार अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए ।
सो समारोहमा नेपालकै प्रथम नायिका भुवन चन्द थापालाई मानार्थ मिसेस नेपाल वर्ल्डको क्राउनिङ गरियो । नेपाली चलचित्र उधोगमा अतुलनीय योगदान दिएको भन्दै उनलाई मानार्थ मिसेस नेपाल वर्ल्डको सम्मान प्रदान गरिएको छ । यस्तै एसिड भिक्टिम मुस्कान खातुनलाई पनि कार्यक्रममा विशेष सम्मान गरियो ।
काठमाडौं : अभिनेत्री तथा मोडल दिपाशा बीसीको निधन भएको छ । २८ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
स्वास्थ्यमा असहज भएपछि बीसीलाई बुधबार राति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । उनको डेब्यू फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । उनले बिरानो माया, चाल र झेली फिल्ममा पनि अभिनय गरेकी छिन् ।
काठमाडौं : गायक निकेश राईको स्वर तथा शब्द संगीतमा यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो (तिहारै आयो)' सार्वजनिक गरिएको छ । मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राईसहित अन्य प्रतियोगीहरु, ब्रिटिश आर्मीका मेजर योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले यो गीतको विमोचन गरेका हुन् ।
निकेशको यो गीतमा उनीसहित कुसुम गुरुङ, सविन शंकर, राजु बाकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको छ । गीतलाई सुशील भट्टराईले संगीत संयोजन, राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
यो गीतको भिडियोमा आयुष्मा राई, योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतको अभिनय रहेको छ । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रंग संयोजन, अनिल थुलुङको कोरियोग्राफी तथा अनिल कोयी राईको निर्देशन रहेको छ ।
काठमाडौं : मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको ग्रयान्ड फिनाले आगामी २४ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षणका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन हाउसले मध्यान्ह दैनिकलाई बताएकाे छ ।
मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणमा नेपाल र भारतबाट समेत कलाकारहरुको सहभागिता रहेको र कार्यक्रममा सहभागी कलाकारहरुलाई फेसन शो, म्युजिक भिडियोलगायतका व्यावसायिक गतिविधिमा अवसर दिने आयोजक संस्थाले बताएको छ ।
विजेताहरुले विभिन्न उपाधिका साथै नगद पुरस्कार एवम् अस्ट्रेलियामा हुन गइइरहेको हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउने छन् । मिस गुरुङ इन्टरनेशनल उपाधि विजेताले पाँच लाख बराबरकाे पुरस्कार, मिस पपुलर अवार्ड विजेताले तीन लाख बराबर तथा फर्स्ट रनरअपले दुई लाख बराबर, सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार बराबरकाे नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएसआर कनेक्ट रहेको छ भने प्रतियोगिताको व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गर्ने छ। मृग तिष्णा फेसन हाउसले कार्यक्रमलाई सफल बनाउन नेपाल-भारत मानव विकास एवम् मैत्री संघका अध्यक्ष सुर्य भुसाल र नेपाल-भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङलाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।
काठमाडौं : वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ' हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको सहआयोजक काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि. रहेका छन् ।
५ दशकभन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहेकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझमार्फत गुञ्जिन लागेकी हुन् । स्वर्णिम साँझमा गायिका थापाले ‘म त खाँदिन कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाइ हो’ लगायतका २ दर्जनजति गीतहरु प्रस्तुत गर्दैछिन् ।कार्यक्रममा प्रवेशका लागि १ हजार, १५ सय र २ हजार रुपैयाँको टिकेट राखिएको छ ।
पत्रकार सम्मेलनमा गायिका थापाले कार्यक्रमका लागि अन्नपूर्ण चेम्बर अर्केस्टा ,काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि.सँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । ‘आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, संगीतकार थापाले भने ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी गायिका थापाको हालसम्म एक हजारभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छ्न् । विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसकेकी गायिका थापाले प्रवल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०' कार्यक्रमले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएको छ ।
काठमाडौं : काठमाडौंमा बिहीबार एक विशेष समारोहबीच गीतकार एवम् साहित्यकार अनु शाहको कविताकृति ‘अनुराग’ लोकार्पण गरिएको छ । शाहको कविताकृति पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
मिलाप मासिक र अनुराधा फिल्मस्् इन्टरनेशनल प्रा.लि.को संयुक्त आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवम् हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिमाथि समीक्षा गरेका हुन् । ‘अनुराग’ कृतिमा १२६ पृष्ठ र ७१ वटा कविता संग्रहित छ ।
प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहेकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताए । उनले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाए । मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवम् अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै उनको कविता कृृतिको चर्चा गरेका थिए ।
कृतिकार अनु शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिएकी थिइन् । सो अवसरमा मिलाप मासिकको कभर पृष्ठमा प्रकाशित व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र संगीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।
यस्तै कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट विभूषित गरिएको थियो । यो सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, कलाकार एवं कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा.डिबी राणपाल ‘एमएपिएचडी’, सम्पादक रमेश दाहाल, पत्रकार एवम् गीतकार गीता अधिकारीलाई सम्मान गरिएको थियो ।
यसैगरी सञ्चारकर्मी सुमन वैरागी, माधव खरेल, समाजसेवी प्रकाश श्रेष्ठ, रश्मिला श्रेष्ठ, राजेश विशुराल, दुर्गा विशुराल, नरेश पाण्डे, निकिता पाण्डे, गायक लक्षमणश्री, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, युवा पर्यटन व्यवसायी बालकृष्ण खड्का लगायत सम्मानित गरिएका थिए ।
कार्यक्रममा पूर्वसांसद एवम् गायिका कोमल वली, शान्ता चौधरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवम् साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, वरिष्ठ अभिनेत्री सर्मिला मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट कलाकार लय संग्रौला, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका निर्वतमान अध्यक्ष रविन्द्र खड्का लगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालको म्युजिक भिडियो ‘फूल हौ तिमी’ सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा प्रमुख अतिथि एवम् गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा वरिष्ठ गीतकार गदालको उक्त म्युजिक भिडियो शुक्रबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको ‘फूल हौ तिमी’मा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । मोक्तान डिजिटल युएसएको प्रस्तुति रहेको भिडियोमा निकेश धामी, श्रद्धा भण्डारीको मुख्य अभिनय रहेको छ भने अर्जुन गैरेको निर्माण, सौराम तुलाधरको निर्देशन रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन चारको डिजिटल अडिसन बुधबारबाट खुला गरिएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको कार्यक्रमको डिजिटल अडिसन खुला गरिएको हो ।
गायन र नृत्य गरी दुई विधाबाट अलग अलग विजेता छानिने प्रतियोगीतामा पहिलो अडिसन डिजिटलरूपमा लिइने छ । डिजिटल अडिसनबाट ४०/४० जना तथा समूहलाई दोस्रो राउन्डमा लगिने कार्यक्रमका निर्देशक रोशन अर्यालले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । डिजिटल अडिसनका लागी प्रतियोगीहरूले बिना ट्र्याकमा बढीमा ३ मिनेटसम्मको कुनै पनि विधाको गीत र नृत्य विधाका प्रतियोगीहरूले ४ मिनेटसम्मको गीतमा प्रष्ट भिडियो खिचेर ३३४३१३७१ नम्बरको ह्यासपमार्फत पठाउनु पर्नेछ । गीत नेपाली भाषामा हुनुपर्नेछ ।
डिजिटल अडिसनबाट छनोटमा परेकाहरूको नतिजा फोन र सूचनामार्फत जानकारी दिइने भएको छ । १ डिसेम्बर शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा पहिलो चरणको प्रतिस्पर्धा गराइनेछ । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने अर्यालले बताए ।
गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।
यसभन्दा अगाडि सन २०१०/११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । डिजिटल राउन्डमा गायन विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १५१ र नृत्य विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १०१ दर्ता शुल्क लाग्नेछ ।
डिजिटल चरणमा निर्णायकका रूपमा कतारमा नृत्य तथा गायन विधामा ख्याती कमाएका अग्रज व्यक्तित्व रहेका छन् भने दोस्रो चरण प्रवेशसँगै नेपालका चर्चित कलाकारहरूसहितको निर्णायक टिम रहने भएका छन् । आयोजक दुवै संस्थाको मंगलबार साँझ बसेको बैठकले मूल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त प्रतियोगिताको सञ्चार सहयोगीका रूपमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies