एजेन्सी : पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।
एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो ।
करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । लिमास्थित अस्पतालमा उनको उपचार भइरहेको छ ।
एजेन्सी : पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा ९कफ्र्यु० आदेश जारी गरेको छ ।
अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ । डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
जारी विरोध प्रदर्शन दबाउन राज्यशक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरुस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ । हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
पेरुका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । पुनाको क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ ।
एजेन्सी : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् ।
ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरुले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ । कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ ।
ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गर्नु भएको छ । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गर्नु भएको थियो । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् ।
यसैबीच घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भर्त्सना गर्नु भएको छ । यसअघि अमेरिकामा सन् २०२१ को जनवरी ६ तारिखमा यस्तै घटना भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी क्यापिटलमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।
एजेन्सी : गत वर्ष सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सुरक्षा बलका एक सदस्यको हत्या गरेको अभियोगमा इरानमा दुई जनालाई फाँसी दिइएको छ ।
मोहम्मद महदी करामी र सैयद मोहम्मद होसेनीले आफ्नो सजायको विरुद्धमा अपिल गरेका थिए ।
गत नोभेम्बर ३ मा राजधानी तेहरान नजिकै सडक अवरुद्ध गरेर भईरहेको प्रदर्शनमा एक सुरक्षाकर्मीको हत्या भएको थियो ।
करामीले ति सुरक्षाकर्मीमाथि रडले प्रहार गरेको र हुसैनीले थुप्रै पटक छुरा हानेको स्वीकारेको दावी अदालतको फैसलामा गरिएको छ ।
तर झुटो बयान दिएर यातना दिइएको भन्दै उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।
इरानमा चर्किएको आन्दोलनका क्रममा मृत्युदण्ड दिइएका आन्दोलनकारीको संख्या अहिलेसम्म चार पुगेको छ । साथै सयौं जना विरुद्ध मुद्दा चलिरहेको छ ।
इरानको यस कदमको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । बेलायतका विदेशमन्त्री जेम्स चतुराईले मृत्युदण्डलाई ‘घृणित’ भएको बताएका छन् ।
गत सेप्टेम्बरमा नैतिकता पुलिसद्वारा हिजाब अर्थात हेडकार्फ, ‘अनुचित रूपमा’ लगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि लिपिक प्रतिष्ठानविरुद्ध प्रदर्शनहरू भड्किएका थिए ।
एजेन्सी : अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।
१५औँ चरणको मतदानपछि शनिबार बिहान कंग्रेस सदस्य एवं रिपब्लिकन नेता केभिन म्याकार्थी सभामुखमा निर्वाचित भएका हुन् ।
यससँगै प्रतिनिधिसभामा विगत केही दिनदेखि जारी राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ ।
५७ वर्षीय केभिन म्याकार्थीले प्रतिनिधि सभामा डेमोक्रयाटिक पार्टीकी ८२ वर्षीया न्यान्सी पेलोसीको स्थान लिएका छन् ।
नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनमा ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले २२२ सिट जितेको थियो ।
एजेन्सी : ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामको प्रस्ताव युक्रेनको अस्वीकार गरेको छ ।
युक्रेनी सेनाको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनको दाबी छ ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका हुन् ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अधिनस्थ क्षेत्रबाट रुसी फौजहरू फिर्ता नभएसम्म अस्थायी युद्धविराम नहुने बताएका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले भने पुटिनले केही राहत खोज्ने प्रयत्न गरेको टिप्पणी गरेका छन् ।
मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ ।
रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन् । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी सात तारिखमा क्रिसमस मनाउने गरेको छ ।
एजेन्सी : अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स, तीन चरणको मतदानबाट पनि नयाँ सभामुख चयन गर्न असफल भएको छ ।
संसद्मा विपक्षी रिपब्लिनकन पार्टीको बहुमत भए पनि सो पार्टीका नेता केभिन म्याकार्थीले आफनै दलका सांसदको मत प्राप्त असफल भएका हुन् ।
तीन चरणको प्रयासमा पनि म्याकार्थीले आफ्नै संसदीय दलका सांसदको समेत विश्वास जित्न नसकेपछि संसद्को बैठक अर्को दिनसम्मका लागि स्थगित गरिएको छ ।
पहिलो दुई चरणको मतदानमा १९ जना रिपब्लिकन सांसदले म्याकार्थीको विपक्षमा मतदान गरेका थिए । तेस्रो चरणमा जाँदा यो संख्या २० पुगेको थियो ।
४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनका २ सय २२ र डेमोक्रयाटका २ सय १२ सांसद छन् । एक स्थान रिक्त छ ।
सभामुख निर्वाचित हुन सामान्य बहुमत अर्थात २ सय १८ मत पाउनु आवश्यक हुन्छ ।
आफनो दलको २२२ मत हुँदा–हुँदै पनि दलभित्रकै २० जना कट्टरपन्थी सांसदका कारण ५७ वर्षीय म्याकार्थी राष्ट्रपति र उपराष्ट्रपति पछिको तेस्रो शक्तिशाली पद पाउनबाट वञ्चित हुनुपरेको हो ।
डेमोक्रयाटिक पार्टीले संसदीय दलका अध्यक्ष हकिम जेफ्रिजलाई उम्मेदवार बनाएको थियो । अन्तिम चरणको मतदानमा म्याकार्थीको २०२ मतविरुद्ध जेफ्रिजले २१२ मत पाए पनि सभामुख निर्वाचित भने हुन सकेनन् ।
सभामुख निर्वाचित हुन बढी मत मात्रै ल्याएर हुँदैन ५० प्रतिशतभन्दा बढी मत अर्थात् बहुमत ल्याउनु आवश्यक पर्छ ।
अमेरिकामा सभामुख चयन नहुँदासम्म सांसदहरुले शपथग्रहण नपाउने व्यवस्था छ ।
अमेरिकी राजनीतिक इतिहासमा नवनिर्वाचित संसद्को पहिलो बैठकले सभामुख छान्न नसकेको घटना करिब एक सय वर्षपछि भएको हो ।
एजेन्सी : युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेस्क क्षेत्रको पूर्वी भागमा झण्डै चार सय रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ । आक्रमणमाा करिब तीन सय सैनिक घाइते भएका छन् ।
रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गरेको छ । सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला आक्रमण भएको रुसको भनाइ छ ।
डोनेस्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित अधिकारीले म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको जनाएका छन् । दुबैतर्फको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
युक्रेनले क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरेको बताइएको छ ।
सैनिक मारिएको भवन लगभग पूरै ध्वस्त भएकोे बताइएको छ । गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति ठुलो भएको बताइएको छ ।
आक्रमणमा अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्र प्रयोग भएको रुसको दाबी छ । युक्रेनले सो क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन ।
एजेन्सी : लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन । उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन् ।
शपथ कार्यक्रममा लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरेका छन् ।
उनले दक्षिणपन्थी नेता बोल्सोनारो विरुद्ध कारबाही अघि बढाउने, र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा पराजित बोल्सोनारो देश छाडेर अमेरिका पुगेका छन् । उनले हालसम्म पराजय स्वीकार गरेका छैनन् ।
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको छ । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्विट गरेका छन्, ‘भगवानको चरणमा गौरवमय शताब्दी...। मैले सधैँ आमामा त्रिमूर्ति महसूस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको मूर्त रूप । प्रतिबद्ध जीवन निहित छ ।’
सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies