
क्वालालम्पुर, मलेसिया : मलेसिया सरकारले नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा पुनर्निर्माणका लागि १० लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।
मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले आज नेपालका लागि कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने जनाइएको छ ।
चेक हस्तान्तरणका क्रममा मलेसियाका विदेशमन्त्री हाजी हसनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकप्रति समवेदना प्रकट गरे ।

त्यसैगरी, कार्यवाहक राजदूत बज्राचार्यले बाढीपछिको पुनर्लाभ तथा पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गरिन् । उनले विपद्को कठिन घडीमा नेपाली जनताप्रति मलेसियाले देखाएको ऐक्यबद्धता र सहयोगको प्रशंसा गरिन् ।
मलेसिया सरकारको यस सहयोगले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्लाभका प्रयासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस सहयोगले नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विश्वाससमेत गरिएको छ ।