
जर्ज टाउन, केमन आइल्यान्ड : केमन आइल्यान्डमा निधन भएका रूपन्देहीका नेजमुल्लाहको परिवारलाई २८ लाख ३६ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा केमन आइल्यान्ड पुगेका रूपन्देहीका ३९ वर्षीय नेजमुल्लाह (नेजा) खानको असामयिक निधनपछि त्यहाँस्थित नेपाली समुदायले संकलन गरेको २८ लाख ३६ हजार रुपैयाँभन्दा बढी रकम मृतककी श्रीमती र छोराको संयुक्त मुद्दती निक्षेप खातामा जम्मा हुने गरी परिवारलाई पठाइएको छ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मसिना स्थायी घर भएका खानको वैदेशिक रोजगारीका लागि केमन आइल्यान्ड पुगेको करिब एक महिनामै स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि उपचारका क्रममा गत जुलाई १५ मा निधन भएको थियो ।
उनको निधनपछि त्यहाँ कार्यरत नेपालीहरूको संस्था ‘नेपाली कम्युनिटी अफ केमन आइल्यान्ड्स’को विशेष पहल तथा सक्रियतामा सहयोग अभियान सञ्चालन गरिएको अध्यक्ष हरि न्यौपानेले जानकारी दिए । अभियानमार्फत संकलन गरिएको १८ हजार ४५५ अमेरिकी डलर (२८ लाख ३६ हजार ५३३ रुपैयाँ) बराबरको रकम नेपाल एसबिआई बैंकमार्फत मृतककी धर्मपत्नी मजहरुन निशा खान र ११ वर्षीय छोरा कर्मुल्लाह खानको संयुक्त खातामा जम्मा गरिएको छ ।
बालबालिकाको भविष्य र शिक्षादीक्षालाई सुरक्षित गर्न उक्त रकम नेपाल एसबिआई बैंकमा सात वर्षका लागि मुद्दती निक्षेपमा राखिएको छ ।
कठिन परिस्थितिमा नेपाली समुदायले देखाएको अपार सहयोग, भाइचारा र मानवीय कार्यप्रति मृतकका आश्रित परिवारले संस्थाका पदाधिकारी, स्वयंसेवक, चन्दादाता तथा सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
बेलायतको अधीनस्थ मानिने केमन आइल्यान्डमा करिब दुई हजार नेपाली रहेका छन् । उनीहरू होटल, सुरक्षा गार्ड र क्लिनरलगायतका काममा कार्यरत छन् ।