एजेन्सी : चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ । कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन् । सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे ।
विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा प्रदर्शन गरेका छन् । उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ । लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।
चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन् । प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।
सी जीनपिङको राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेका थिए । केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए । त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरु सडक प्रदर्शनमा उत्रिएका थिए ।
बग्दाद : उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तमिा ११ जनाको मृत्यु भएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो ।
युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जीर्ण छ भने त्रासदीहरू सामान्य छन् । विशेष गरी यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागू गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ ।
नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो सहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए । “हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिसहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन्,“ नादेरले भने । विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन् । एजेन्सी
एजेन्सी : न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन् । अमेरिकी तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै उनले राजीनामा गरेकी हुन् ।
नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेकी हुन् । नयाँ पुस्ताको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहेको उनले उल्लेख गरेकी छिन् ।
८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन् । सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसी थिइन् ।
एजेन्सी : पोल्याण्डमा युक्रेनको सीमा नजिकै क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धान गरिरहेका छन् । तर, प्रारम्भिक जानकारीले सो मिसाइल रुसबाट प्रहार नभएको हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
इन्डोनेसियाको बालीमा भएको जी २० बैठकका लागि भेला भएका विश्वव्यापी नेताहरूले पोल्याण्डमा भएको घातक विस्फोटमा रुस जिम्मेवार भएको युक्रेन र पोल्याण्डका अधिकारीहरूले दाबी गरेपछि बाइडेनले आपतकालीन बैठक गरेका थिए ।
यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।
ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।
एजेन्सी : ‘अमेरिकाको पुनरागमन अहिले नै शुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए ।
यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् । ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।’
एजेन्सी : विश्वका धनी राष्ट्रहरूको समूह जी–२० को सम्मेलन इन्डोनेसियामा शुरु भएको छ । बालीमा जारी वार्तामा विश्वका धनी राष्ट्रका नेताहरू भेला भएका छन् । भेलामा रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गर्ने बोलीमा जी–२० मा आवद्ध राष्ट्रहरु नै विभाजित भएका छन् ।
संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले युक्रेनमा रूसको आक्रमणको निन्दा गर्ने प्रस्तावलाई समर्थन गरेपछि मंगलबार जी–२० शिखर सम्मेलनमा असहमति देखा पर्यो, जसलाई रुसका विदेशमन्त्रीले अनुचित राजनीतिकरणको रूपमा खारेज गरे ।
इन्डोनेसियाको बाली टापुमा भएको शिखर सम्मेलन गत फेब्रुअरीमा रुसले युक्रेनमा आफ्नो सेना पठाएपछि भएको पहिलो बैठक हो । रूसले ‘विशेष सैन्य अपरेशन’को रूपमा वर्णन गरेको युद्धले आयोजक इन्डोनेसियाले एकताको लागि आह्वान र मुद्रास्फीति, र खाद्य र ऊर्जा सुरक्षा जस्ता विश्वव्यापी आर्थिक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान केन्द्रित गरे पनि बैठकलाई ओझेलमा पारेको छ ।
‘अधिकांश सदस्यहरूले युक्रेनमा युद्धको कडा निन्दा गरे र जोड दिए कि यसले ठूलो मानवीय पीडा निम्त्याउँदैछ र विश्वव्यापी अर्थतन्त्रमा विद्यमान कमजोरीहरूलाई बढाइरहेको छ,’ १६ पृष्ठको मस्यौदा घोषणामा भनिएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिमा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसको निन्दा गर्ने प्रयासलाई पश्चिमा राष्ट्रहरूले राजनीतिकरण गर्ने प्रयास गरेको भन्दै त्यसलाई घोषणामा समावेश गर्न असफल भएको बताए । लाभरोभले रुसले वैकल्पिक धारणा राखेको र बुधबार मस्यौदा पूरा हुने बताए ।
एक अमेरिकी अधिकारीले यसअघि जी २० ले युक्रेनमा रुसको युद्ध र विश्वव्यापी अर्थतन्त्रमा पार्ने प्रभावको निन्दा गर्ने अपेक्षा गरेको अमेरिकी अधिकारीले बताएका थिए । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनविरुद्ध रुसको युद्ध स्वीकार्य नहुने सहमतिका उत्साहजनक संकेत रहेको बताएका छन् ।
यसअघि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य गर्नुपर्ने बताए । उनले छिट्टै टुङ्गिने महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार सरकारका श्रम मन्त्री डा. अलि बिन स्माइख अल मारीले विश्वकपका लागि रंगशाला र विभिन्न भौतिक संरचना निर्माणका क्रममा आप्रवासी कामदारको मृत्यु भएको भन्दै अनर्गल प्रचार गरिएको दाबी गरेका छन् ।
खासगरी पश्चिमी सञ्चारमाध्यम केही समययता कतारमा विश्वकप फुटबलका लागि आधुनिक रंगशाला र अन्य भौतिक सुविधाका संरचना निर्माणका क्रममा ६ हजार ५ सय आप्रवासी कामदारको मृत्यु भएको समाचार श्रृंखलाबद्धरूपमा सार्वजनिक भइरहेको छ । मन्त्री मारीले भौतिक संरचना निर्माणका क्रममा ६ हजार ५ सय आप्रवासी कामदार मारिए भन्नु तर्कहीन भएको बताए ।
कतारमा सन् २०२२ को विश्वकप फुटबलको औपचारिक प्रारम्भको तयारी जारी रहेका बेला मन्त्री मारी मानव अधिकार उपसमिति र अरब प्रायद्वीपसँग सम्बन्धका लागि युरोपेली संसद्को निमन्त्रणमा ब्रसेल्समा भएको ‘श्रम सुधार सम्बन्धी युरोपेली संसद्को सुनुवाइ’मा भाग लिन त्यहाँ पुगेका थिए ।
सो सुनुवाइमा मन्त्री मारीले आप्रवासी कामदारको विषय जोडेर कतारी जनता र उनीहरूको राष्ट्रिय टोलीविरुद्ध जातीय र घृणापूर्ण हमला गर्ने प्रयास गरिएको भन्दै सबैलाई कडा कारबाही गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूलाई आह्वान गरे । सबै अनुचित आरोपलाई सम्बन्धित निकायहरूले अनुगमन गर्नुपर्ने उनको माग छ ।
उनले कतारविरुद्ध नकारात्मक अभियान चलाउनेले आफ्नो लक्ष्य गुमाएको मात्र नभएर तर्क र बौद्धिकता पनि गुमाएको भन्दै सञ्चारमाध्यममा आएका कुरालाई आधार मानेर विश्वकपका लागि विभिन्न सुविधा निर्माण र स्टेडियम निर्माणका क्रममा ठूलो संख्यामा आप्रवासी कामदारको मृत्यु भएको भन्नु तर्कहीन भएको बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन र ह्युमन राइट्स वाच, मानवअधिकारसम्बन्धी युरोपेली संघ उपसमितिका सदस्यहरू, ठुलो संख्यामा सांसदहरू, कूटनीतिज्ञहरू र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा सुनुवाइ भएको थियो ।
त्यस क्रममा उनले कतारी जनता र राष्ट्रिय टोलीलाई अपमान गर्ने उद्देश्यले घृणा र जातिवादी बयानवाजी अपनाएर कतारविरुद्ध अपमानजनक आरोपहरू र नकारात्मक अभियानले महत्वपूर्ण मोड लिन थालेको बताए । उनले भने ‘कतारी जनता, कतार र कतारी टोलीप्रति घृणायुक्त भाषण र जातिवादलाई ठाडै अस्वीकार गरिने छ ।’
विश्वकपको बारेमा भइरहेको कुरा बौद्धिक तथा सञ्चारमाध्यमको आतंकवाद र जातीय बहानामा ‘ग्यासलाइटिङ’ भएको भन्दै मन्त्री मारीले कतारविरुद्ध केहीले चलाएको अभियान औचित्यहीन रहेको दाबी गरे ।
एजेन्सी : युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् ।
युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङसँग इन्डोनेशियाको बालीमा भेट गरेका छन् ।
सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो ।
दुई ठूला शक्तिबिचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिदै बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्ने बताएका छन् । बाइडेनले दुबै देश खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।
खुला सम्पर्कले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने उनको भनाइ छ ।
दुई नेताबीच भेटमा ताइवान समस्या मुख्य एजेण्डा बनेको अनुमान गरिएको छ । ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । ताइवानले भने आफूलाई अलग्गै ठान्ने गरेको छ ।
बाइडेनले चीनसँग ताइवानका विषयमा आफ्ना लक्ष्मण रेखा के हुन् भन्नेमा छलफल हुने बताएका छन् । चिनियाँ राष्ट्रपति सी ले इतिहासका अनुभव र पाठबाट सिक्नुपर्ने बताएका छन् ।
अमेरिका–चीन सम्बन्ध कठिन अवस्थामा रहेकाले आफुहरु चिन्तित रहेको पनि उनले उल्लेख गरेका छन् ।
दुई मुख्य देशका नेताका हैसियतले हामीले सही मार्ग पहिल्याउनुपर्नेमा चिनिया राष्ट्रपति सीले जोड दिएका छन् ।
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भएको यस भेटवार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ ।
मंगलबार शुरु हुने जी ट्वान्टी बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा भेला भएका छन् ।
एजेन्सी : लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान शुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि शुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान शुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो ।
त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ । सिन्ह्वा
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies