तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार सरकारका श्रम मन्त्री डा. अलि बिन स्माइख अल मारीले विश्वकपका लागि रंगशाला र विभिन्न भौतिक संरचना निर्माणका क्रममा आप्रवासी कामदारको मृत्यु भएको भन्दै अनर्गल प्रचार गरिएको दाबी गरेका छन् ।
खासगरी पश्चिमी सञ्चारमाध्यम केही समययता कतारमा विश्वकप फुटबलका लागि आधुनिक रंगशाला र अन्य भौतिक सुविधाका संरचना निर्माणका क्रममा ६ हजार ५ सय आप्रवासी कामदारको मृत्यु भएको समाचार श्रृंखलाबद्धरूपमा सार्वजनिक भइरहेको छ । मन्त्री मारीले भौतिक संरचना निर्माणका क्रममा ६ हजार ५ सय आप्रवासी कामदार मारिए भन्नु तर्कहीन भएको बताए ।
कतारमा सन् २०२२ को विश्वकप फुटबलको औपचारिक प्रारम्भको तयारी जारी रहेका बेला मन्त्री मारी मानव अधिकार उपसमिति र अरब प्रायद्वीपसँग सम्बन्धका लागि युरोपेली संसद्को निमन्त्रणमा ब्रसेल्समा भएको ‘श्रम सुधार सम्बन्धी युरोपेली संसद्को सुनुवाइ’मा भाग लिन त्यहाँ पुगेका थिए ।
सो सुनुवाइमा मन्त्री मारीले आप्रवासी कामदारको विषय जोडेर कतारी जनता र उनीहरूको राष्ट्रिय टोलीविरुद्ध जातीय र घृणापूर्ण हमला गर्ने प्रयास गरिएको भन्दै सबैलाई कडा कारबाही गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूलाई आह्वान गरे । सबै अनुचित आरोपलाई सम्बन्धित निकायहरूले अनुगमन गर्नुपर्ने उनको माग छ ।
उनले कतारविरुद्ध नकारात्मक अभियान चलाउनेले आफ्नो लक्ष्य गुमाएको मात्र नभएर तर्क र बौद्धिकता पनि गुमाएको भन्दै सञ्चारमाध्यममा आएका कुरालाई आधार मानेर विश्वकपका लागि विभिन्न सुविधा निर्माण र स्टेडियम निर्माणका क्रममा ठूलो संख्यामा आप्रवासी कामदारको मृत्यु भएको भन्नु तर्कहीन भएको बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन र ह्युमन राइट्स वाच, मानवअधिकारसम्बन्धी युरोपेली संघ उपसमितिका सदस्यहरू, ठुलो संख्यामा सांसदहरू, कूटनीतिज्ञहरू र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा सुनुवाइ भएको थियो ।
त्यस क्रममा उनले कतारी जनता र राष्ट्रिय टोलीलाई अपमान गर्ने उद्देश्यले घृणा र जातिवादी बयानवाजी अपनाएर कतारविरुद्ध अपमानजनक आरोपहरू र नकारात्मक अभियानले महत्वपूर्ण मोड लिन थालेको बताए । उनले भने ‘कतारी जनता, कतार र कतारी टोलीप्रति घृणायुक्त भाषण र जातिवादलाई ठाडै अस्वीकार गरिने छ ।’
विश्वकपको बारेमा भइरहेको कुरा बौद्धिक तथा सञ्चारमाध्यमको आतंकवाद र जातीय बहानामा ‘ग्यासलाइटिङ’ भएको भन्दै मन्त्री मारीले कतारविरुद्ध केहीले चलाएको अभियान औचित्यहीन रहेको दाबी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies