
रौतहट : अविरल वर्षा र नदीमा जलसतहको वृद्धिले रौतहटको राजपुर नगरपालिका–१ स्थित पिप्रा भगवानपुर क्षेत्रमा लालबकैया नदीले कटान तीव्र पारेपछि सिङ्गो बस्ती र खेतीयोग्य जमिन उच्च जोखिममा परेको छ। मुख्य सुरक्षा बाँध नै भत्किन थालेपछि स्थानीयवासी सम्भावित बाढी र डुबानको भयका बीच रात बिताउन बाध्य भएका छन् ।
नदीको बहाव बस्तीतर्फ मोडिने खतरा बढेसँगै सयौँ घरधुरी र ठूलो परिमाणको उब्जाउ जमिन जोखिममा परेका छन् । मनसुन पूर्व नै अपनाउनुपर्ने सतर्कता र विपद् व्यवस्थापन पूर्वतयारीमा राजपुर नगरपालिकाले बेवास्ता गरेको स्थानीयको गम्भीर आरोप छ ।
गृह मन्त्रालय तथा नेपाल सरकारले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक टोली, जैविक तटबन्ध तथा ग्याबियन जालीसहितका सामग्री पूर्वतयारी अवस्थामा राख्न पटक-पटक निर्देशन दिए पनि नगरपालिकाले समयमै चासो नदेखाएको सर्वसाधारणको भनाइ छ ।
मनसुन सुरु हुनु अगावै विपद् व्यवस्थापन कोषको सदुपयोग गरी दीर्घकालीन वा अल्पकालीन रोकथामका उपाय नलगाइएकाले अहिले सङ्कटकालीन स्थिति पैदा भएको स्थानीयवासीले बताए ।
बाँध कटानको गम्भीर परिस्थिति सिर्जना भएपछि राजपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष शेख अमिरुल्लाह आफैँ मैदानमा खटिएका छन् । वडाध्यक्ष अमिरुल्लाहको निरन्तर ताकेता र पहलपछि जलस्रोत तथा सिँचाइ विभाग एवं प्राविधिक टोली नियन्त्रण सामग्रीहरूसहित मर्मत कार्यमा जुटेको छ ।
वडाध्यक्ष अमिरुल्लाहले यसअघि पूर्व सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा समेत जलस्रोत तथा सिँचाइ विभाग र मन्त्रालयमा धाएर कटान नियन्त्रणका लागि पहल गरेका थिए। सोही प्रयासस्वरूप करिब ६ महिना अगाडि लालबकैया नदीमा स्पर बाँधको मर्मत सम्पन्न भएको थियो ।
अहिले पुनः नदीमा पानीको बहाव बढेर सुरक्षा बाँधमा क्षति पुग्न थालेपछि प्राविधिक टोलीलाई बालुवाका बोरा, ग्याबियन जाली तथा ठूला ढुङ्गा (बोल्डर) सहित परिचालन गरी युद्धस्तरमा काम अगाडि बढाइएको छ ।
वडाध्यक्ष शेखले गाउँ र जनताको जिउधनको सुरक्षा गर्नु हाम्रो पहिलो दाय दायित्व हो। जनताको सुरक्षा र वडाको समग्र विकासका लागि मेरो पहल र उपस्थिति निरन्तर रहने बताए ।
दीर्घकालीन समाधानका लागि माग
सुरुमा स्थानीय तहको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे पनि जनप्रतिनिधि स्वयं रातदिन खटिएर कटान रोक्न ठोस कदम चालेपछि पिप्रा भगवानपुरवासीले केही राहत महसुस गरेका छन् ।
तथापि लालबकैया नदीको कटान र बाढी रौतहटका लागि बर्सेनि दोहोरिने समस्या भएकाले तत्कालीन मर्मतसँगै दीर्घकालीन तटबन्ध निर्माणका लागि राजपुर नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले गम्भीर बनेर ठोस योजना अघि बढाउनुपर्ने स्थानीयको माग रहेको छ ।