दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावमा अरु नेताले असहमति जनाएपछि उपनिर्वाचनका लागि बुधबार पनि नेपाली कांग्रेसले उम्मेद्वार चयन गर्न सकेन । संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बर खड्का र बुझाङ (क) मा अभिषेक सिंहलाई उम्मेद्वार बनाउनेबारे प्रस्ताव गरेका थिए ।
तर सभापति देउवाको प्रस्तावमा अरु नेताहरुले असहमति जनाए । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार, महामन्त्रीहरु थापा र शर्माले इलाममा भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडान राखेका थिए ।
सभापति देउवाले भने गत चुनावमा सुवास नेम्वाङसँग कडा प्रतिस्पर्धा गरेका खड्कालाई टिकट दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘अस्ति थोरैले मात्रै हारेको हो, अब जित्छ’ देउवाको तर्क थियो । जिल्ला सभापति समेत रहेका खड्का एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
तर ३० हजार २० मत ल्याएर गत वर्षको आमनिर्वाचन जितेका नेम्वाङको निधन भएपछि आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि २४ चैतमा उम्मेद्वारी दर्ता हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो उपनिर्वाचनका लागि कांग्रेस इलामले खड्का र आचार्य सहित केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राईको नाम सिफारिस गरेको छ ।
सिफारिस भएका सात मध्ये अरु पाँच जनाले टिकट नपाउने लगभग पक्का जस्तो छ । किनकि सभापति देउवाले खड्का र संस्थापन इतर पक्षले आचार्यको अडान लिएको छ । महामन्त्री थापा र शर्माले आचार्यलाई टिकट दिदा उपनिर्वाचन जितिने तर्क गरेका छन् ।
स्रोतका अनुसार बझाङको प्रदेशसभाबारे भने धेरै मतभेद छैन । गत आमचुनाव जितेका सांसदकै छोराको नाम सिफारिस भएकाले उनकै संभावना बलियो छ । तर इलाममा भने नेताहरुको अडानका कारण कांग्रेसले उम्मेद्वार टुंग्याउन सकेको छैन ।
जबकी अरु दलहरुले भने उम्मेद्वार टुंग्याएर प्रचार अभियान नै थालिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत १७ फागुनमा आमसभा गरेरै मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेको छ । त्यसअघि नेकपा एमालेले उम्मेद्वार टुंग्याएको थियो । एमालेले सुवासकै छोरा सुहाङलाई उम्मेद्वार बनाएको छ । सुहाङ चुनावी अभियानमा जुटिसकेको छ ।
राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जीतबहादुर राई र पहिचान पक्षधरहरुले थेकेन्द्रसिं थेगिमलाई साझा उम्मेद्वार बनाएको छ । थेगिमले बुधबार चुनावी सभा गरेको थियो । तर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँगै कांग्रेसले भने अझै उम्मेद्वार समेत घोषणा गर्न सकेको छैन ।
धनकृष्ण वि.क/मध्यान्ह
बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन आगामी जेठ १ देखि ३ गतेसम्म मार्तडीमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
मार्तडी पार्टी कार्यालयमा बसेको १३ औं जिल्ला कमिटीको पूर्ण बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन जेठ महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो ।
यसअघिको बैठकले माघ २६ गते देखि २८ गते निर्वाचन क्षेत्र नं ‘क’को कोल्टीमा गर्ने र त्यसपछिको बैठकले माघ २६ देखि २८ सम्म नेकपा एमाले बाजुराको जिल्ला अधिवेशन गरिसक्ने बताए पनि सो अवधिमा जिल्ला अधिवेशन हुन नसकेको पार्टी सचिव काँसी वि.कले बताएका छन् ।
काठमाडौं - लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिउँसो ४ बजे बस्नेगरी आह्वान गरेका हुन् । सोही अह्वानपछि प्रदेश सभाले सूचना प्रकाशित गरेर अधिवेशन बोलाएको हो । यसअघि तेस्रो अधिवेशन ३ दिन मात्रै बसेर चैत १ गते आकस्मिक रुपमा अन्त्य गरिएको थियो । बिहीबारको सभा अल्पमतमा रहेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने वा सो सभालाई सम्बोधन गरेर राजीनामा दिने विषयमा केन्द्रित हुनेछ ।
प्रदेश सभाको तेस्रो अधिवेशन ६ महिनापछि फागुन १८ गते बोलाइएको थियो । त्यसको पहिलो बैठकमा ५ मिनेट सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुख कार्यालयबाट आएका पत्र पढेर सुनाएर सकिएको थियो । १९ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रदेश सभामा विशेष सम्बोधन भएर सकिएको थियो भने २० गते पनि मुख्यमन्त्री नबसेपछि दलका नेताहरु नबोली सकिएको थियो ।
सामान्य औपचारिकताका लागि ६ महिनापछि बसेको हिउँदे अधिवेशन चैत ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर चैत ४ गते बोलाइएको बैठक मन्त्रिपरिषद बैठकले चैत १ गते नै स्थगित गर्ने निर्णयपछि २ गते स्थगित गरिएको थियो ।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका लागि सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न पनि सरकार लागिपरेको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताए । उनले भने, ‘नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि नो अब्जेक्सन लेटर लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।’ राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताए । उनले भने, ‘मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिनेगरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ ।’ संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीब्ररूपमा अगाडि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय स्थापना गर्न संविधानले निर्दिष्ट गरेका सिद्धान्त कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
वित्तीय सङ्घीयता कार्यान्वयनका लागि सरकारले पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनै तहको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । देशको समग्र विकासमा निर्णायक महत्त्व राख्ने जलविद्युत् क्षेत्रको विकासमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस अवधिमा विद्युत् उत्पादन र प्रशारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि बलियो आधार तयार गर्न सरकार सफल भएको स्पष्ट पारे । सरकारले गरेका घनिभूत प्रयासका कारण देशको आर्थिक अवस्था लयमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक बन्दै गएको पनि बताए ।
सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि राजीनामा दिने भएका छन् । आजै बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो । तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए ।
प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए । त्यसपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन् । प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको सोचमा रहेका शर्माले राजीनामा दिने तयारी गरेका छन् ।
पोखरा : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ७ दिनको समय दिइएको छ ।
बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा पठाएकी छन् । स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।
गिरीलाई पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोधिएको थियो ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षको सहमतिबिना संसदमा कुनै प्रकारका एजेण्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसदसमेत रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् ।
उनले यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिकरुपमा गर्न लागियो भने त्यसमा कठोरतापूर्वक विमति रहने बताए ।
शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने अडान राखे । ‘आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्,’ उनले भने ।
बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको तर सभामुखले त्यसलाई सच्याएको उनले उल्लेख गरे ।
उनले सरकारले विधेयक लिएर आए सदन चल्ने, तर सरकार बलजफ्ती गरेर आए सदन नचल्ने चेतावनी दिए ।
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो ।
मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् ।
नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री दाबी गर्ने पाण्डेको तयारी छ ।
इलाम– प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies