काठमाडौं : नेपाली युवा टोलीले चिनियाँ युशु युवा टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको हो ।
नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गरे । युशु युवा टोलीका लागि झाछी पेंगकुओले सान्त्वना गोल गरे ।
काठमाडौं : घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएसँगै लगातार दुई जित निकालेको नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा बिहीबार नेपाल ७ रनले विजयी भएको थियो ।
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा तीन खेलाडीले अर्धशतकीय इनिङ खेले । कप्तान रोहित पौडेलले १०१ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रन बनाए भने ओपनर अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।
त्यस्तै भीम सार्कीले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए भने पवन सर्राफले ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए । यस्तै आसिफ सेखले १६ बलमा १ चौकाको मद्दतमा १० रन बनाउँदा कुशल मल्ल र सोमपाल कामीले समान ९-९ रन जोडे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।
त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।
काठमाडौं : क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो ।
क्यानडाका आरोन जोनसनले अर्धशतकीय इनिङ खेले । उनले ६५ रनको योगदान दिए । यस्तै नवनीत धालीवालले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिए ।
सरु भुसाल/मध्यान्ह
प्युठान : प्यूठानमा १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्यूठानमा शुरु भएको प्रतियोगितामा प्यूठानका नौ वटै स्थानीय तहबाट खेलाडीहरु छनोट भएर सहभागी भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
तर खेल उद्घाटन सत्रमा कार्यक्रम सञ्चालनलगायतका विषय अव्यवस्थित र भद्रगोल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री रोज राँणाले दुःख व्यक्त गरे । उनले राज्यको रकमलाई अव्यवस्थितरुपमा खर्च गर्न कसैलाई पनि अधिकार नहुने भन्दै आक्रोश व्यक्त गरे । कार्यक्रममा सहभागी नौ वटै स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीहरुलाई उनले सफलताको शुभकामना व्यक्त गरे ।
रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्सका सबै खेलहरु खेलाइने आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि प्रत्येक स्थानीय तहबाट ८० हजार रुपैयाँका दरले, प्यूठान नगरपालिकाले २ लाख रुपैयाँ, प्रदेश सरकारबाट करिब ३ लाख ५० हजार रुपैयाँको व्यवस्थापन गरिएको खेलकुद समितिको संरक्षक रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले बताए ।
काठमाडौं : एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बिहीबारदेखि काठमाडौंमा शुरु भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको हो ।
नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा समेटियो । क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए भने प्रगत सिंहले ५० रन बनाए ।
नेपालका लागि डेब्यू खेलमा रिजन ढकालले एक विकेट लिए । कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।
काठमाडौं : दक्षिण कोरियामास्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी–२०२४) को सम्मेलन आयोजना गरिएको हो ।
मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चाँसो र सोचसहितको सम्मेलन गरेकोमा आफू निकै खुसी व्यक्त गरे । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुंगातर्फ सावित हुनेछ ।’
प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकि खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबादसमेत दिएका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षकारुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुसि भएको बताइन् ।
त्यसैगरी राष्ट्रिय खेलकुन परिषदका सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए ।
सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डसनका संरक्षक डा.शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कुँवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नती गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे ।
अयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्षसमेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गकोरुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे ।
सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा.कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसि लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुनेभएकाले त्यको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए ।
कार्यक्रममा एनआरएन आईसीसीकी महासचिब जानकी गुरुङले अफूरुले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेलक्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन् ।
नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान(नेस्पो)का अध्यक्ष साम्राज्यविक्रम पाण्डेले बहुआयामीक उद्देश्यसहित भएको सम्मेलनले नेपाल र नेपालीको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।
एनआरएन आईसीसी कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले सम्मेलनले कोरिया र नेपालबीचको सम्बन्धलाई अझै प्रगढ बनाउन सहयोग पुग्ने धारणा राखे ।
हान्याङ विश्वविद्यालयका खेलकुद उद्योग तथा विज्ञान विभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष डा.जोङ–ही किम, सो वश्वविद्यालयका एसोसियट प्रोफेसर तथा कार्यक्रम संयोजक सिद्धार्थ विक्रम पाण्डे र सो विद्यालयमा ‘ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट’विषयमा विद्यावारिदी गरिरहेकी तथा कार्यक्रमकी सह–संयोजक संगिता कुवरले स्वागत मन्तव्य दिएका थिए ।
हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ–नो लीले केभिड–१९ पछि विश्मा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानव जीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे ।
सम्मेलनमा सेजोङ विश्वविद्यालयका डिपाटमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किमले पछिल्लो समयमा पर्यटन क्षेत्रमा सबैभन्दाबढी समस्या आएकोले यसलाई माथि उठाउन खेलकुद क्षेत्र जोड्दा सफल हुने धारणा राखे ।
ग्लोबल एनआरएन फाउण्डेसन उपाध्यक्ष भोमादेवी लिम्बुले नेपाल प्राकृतिक तथा संस्कृतिक सम्पदाको धनी देश भएकाले यसमा पर्यटन जोड्दा अझ बढी सफलता मिल्ने बताईन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य अर्थिक आधारका रुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताइन् ।
डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्ग बु–सोपले अटोनोमस ड्राइभिङ मोनोरेल सिस्टम हिमाली तथा पहाडी क्षेत्रमा उचित हुने र नेपालमा त्यस किसिमको प्रविधी सहतिको मोनोरेलको व्यवस्थाले पर्यटनमा सघाउने सुझाए ।
पुसान न्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोर्टस साइनसका प्रोफेसर डा.डेभि ओसुलिभानले सम्मेलनको सत्र सञ्चालन गरेका थिए ।
हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिन किम,अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाँणिज्य दूत एसी र्षेर्पा, अमेरिकाको ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङले नेपाल खेलकुद पर्यटनको लागि अति उत्तम भएकाले त्यसको विकासमा ध्यान पुर्याउन सुझाए ।
त्यसैगरी, हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा.दोङउन हान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसनएक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सम्पन्न सम्मेलनको कोरियाका लागि नेपाली राजदूतावास सियोल, ग्लोबल एनआरएन फाउण्डेसन, हान्याङ यूनिभर्सिटी र एमआईटी ग्रुप फाउण्डेसन मेलबर्न अस्ट्रेलियाले संयुक्तरुपमा आयोजान गरेका थिए भने नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान (नेस्पो)ले सहजकर्ताको भूमिका खेलेको थियो ।
सम्मेलनको प्रायोजन मेल्बर्न इन्स्टीच्युट अफ टेक्नोलोजी, एभरेष्ट १०० रेष्टुरेन्ट दुबाई, मे, इन्टरनेष्नल शेर्पा गाईडस, नेस्पो, ह्युमेन केयर रोबोट सिस्टम, यूनिभर्षल टुर्स एण्ड ट्राभल्स, माया मार्ट किन कर्पोरेसन, योर सक्सेस आओर प्रारिटी, नेपाल मोनोरेल, ट्राभल्स एण्ड टुर्स, दर्शन नमस्ते इण्डियन एण्ड नेपाली फूड रोष्टुरेण्ट, नेकोमज, लाईफ साइन्स टेक्नोलोजी, केम फोरेक्स रेमिट्यान्स, फास्ट पोङग, योर बिल्डिङ काउन्टस वाइवीसी सर्भिस वेलायत, रिति र विभिन्न कोरियन संस्थाहरुले प्रायोजन गरेका थिए ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं ५ मा प्रथम वडा कप २०८० शुरु भएको छ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ प्रथम वडा कप शुरु भएको हो । "युवाहरुमा दिगो विकास, सकारात्मक परिवर्तनमा सक्रियता, सैनामैना -५ युवा क्लबको प्रतिबद्धता" भन्ने मन्त्रलाई आत्मसाथ गर्दै स्थापित यस क्लबले प्रथम वडा कप खेलकुद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्माले खेलाडी उत्पादनको नर्सरी नै वडा कप भएको बताउँदै कुलतबाट सत्मार्गमा ल्याउन पनि युवा क्लब र यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए । कार्यक्रममा नगर उपप्रमुख विना रानाले नगरपालिकाले 'एक वडा एक व्यवस्थित खेल मैदान र एक पालिका एक व्यवस्थित रंगशाला' भन्ने नारा निकै पहिलेबाट अगाडि बढाएको भन्दै वडाको संयुक्त क्लब बनाएर काम गर्दा पालिकालाई सहयोग गर्न सहज हुने र कार्यक्रम गर्न वडालाई पनि सहज हुने बताइन् । क्लबले खेलकुदसँगै सामाजिक काम पनि सञ्चालन गर्नुपर्ने र सामाजिक रुपान्तरण प्रमुख एजेन्डासहित परिवर्तनशील कार्यको सुत्रपात गर्नुपर्ने बताइन् ।
वडामा भएका युवाको खेलकुदका क्षेत्रमा रहेको क्षमता चिन्दै अवसर प्रदान गर्ने र खेलकुदमार्फत असल आचरण सिकाउने ध्येय राखेर कार्यक्रम गरिएको सैनामैना ५ का वडा अध्यक्ष धन प्रसाद पाैडेलले बताए । सैनामैना खेलकुद समिति संयोजक खिम श्रेष्ठले खेलकुदका क्षेत्रमा वडाले नविन कार्यक्रम सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रम नगरपालिकाले गर्ने राष्ट्रपति रनिङ शील्ड भन्दा अगाडि गर्न सुझाव दिए ।
वडाभित्रका युवामा खेलकुदको विकास गर्दै खेलाडी उत्पादनमा यस वडा कप कोसेढुंगा सावित हुने युवा सञ्जाल सैनामैनाका अध्यक्ष राजेन्द्र घिमिरेले बताए ।
वडा कप तथा खेल सप्ताह अन्तर्गत विभिन्न विधामा खेल हुनेछन् । जसमा तेक्वान्दो र ब्याडमिन्टन सेरुवामा हुनेछ । महिला र पुरुष भलिबल गडवामा, फुटबल बक्सडमा र क्रिकेट बयरकट्टीमा हुनेछ ।
कार्यक्रम सैनामेना ५ मा रहेको युवा सञ्जालको आयोजना तथा सैनामैना ५ वडा कार्यालको समन्वयम हुन लागेको हो । औपचारिक कार्यक्रम क्लबका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यता, वडा अध्यक्ष धन प्रसाद पाैडेल, कार्यपालिका सदस्य एवम् वडा सदस्य मनकुमारी राई, अन्य जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका उपाध्यक्ष मेघराज अर्यालको स्वागत एवम् सचिव विजय सुनारको सञ्चालनमा पशुपति सामुदायिक भवन सेरुवामा सम्पन्न भएको हो ।
हेटौंडा : चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रंगशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिए । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा सो रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने सम्झौता भएको थियो ।
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ ।
आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार संघीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भइ भुक्तानी बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरु पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ भएको र हाल भुक्तानीको प्रक्रिया बढाइएको हो ।
काठमाडौं : जापानले नेपाल जुडो संघलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । नेपालस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरे ।
त्यस अवसरमा नेपाल जुडो संघका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत सहभागी थिए । राजदूत किकुताले यस सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । उक्त सामग्री अल जापान जुडो फेडेरेसन र ‘जुडोज’द्वारा प्रदान गरिएको हो ।
सो अवसरमा राजदूत किकुताले जुडोले खेलाडीका लागि कौशलता स्वस्थ शरीरका साथै युवाहरूको शारीरिक र मानसिक विकासमा समेत मद्दत गर्न योगदान गर्ने उल्लेख गरे । जुडो संघका अध्यक्ष बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउँदै सहयोगका लागि जापानप्रति आभार व्यक्त गरे ।
काठमाडौं : नेपालले यही साता फेब्रुअरी ८ तारिकदेखि १२ तारिकसम्म क्यानडासँग एकदिवसीय सिरिज खेल्दैछ । यस्तै नेपालले अर्को साता फेब्रुअरी १५ तारिकदेखि २४ तारिकसम्म आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्दैछ । यी दुवै सिरिज नेपालले घरेलु मैदनमा खेल्दैछ ।
दुवै सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेको छ । क्यानडाविरुद्ध सिरिजमा युवा नयाँ खेलाडीहरुलाई अवसर दिइएको छ । यस्तै लिग–२ सिरिजका लागि भने पहिलाकै टोलीमा केही नयाँ खेलाडीलाई पनि अवसर दिइएको छ ।
क्यानडा सिरिजका लागि नेपाल यु–१९ का कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र हेमन्त धामी टोलीमा रहेका छन् । त्यस्तै बागमती प्रदेशका बलर रिजन ढकाल पनि टोलीमा छन् । पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् । क्यानडा सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ ।
त्यस्तै त्रिकोणात्मक सिरिजका लागि भने रिजन ढकाल टोलीमा कायम छन् । अर्जुन साउद १५ सदस्यीय टोलीमा दोस्रो विकेटकिपरको रुपमा रहेका छन् । अनिल साह, प्रतिस जिसी, देव खनाल र विवेक यादव वैकल्पिक सूचीमा छन् ।
क्यानडा सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह रहेका छन् ।
यस्तै लिग–२ सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेत, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies