नेपालगञ्ज : सङ्घीय सरकारअन्तर्गत रहेको नेपालगञ्जको भेरी अस्पताल परिसरमा अत्याधुनिक ‘इनडोर ब्लक’ (बिरामी भर्ना कक्ष) को निर्माण कार्य शुरु गरिएको छ । शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जले सो ब्लकको भवन निर्माण शुरु गरिएको हो ।
अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीका अनुसार तीन वर्षभित्र निर्माण सक्ने समयसीमा तोकिएको भवन निर्माणका लागि झण्डै रु ३८ करोड विनियोजन गरिएको छ ।
यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–२३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा भवन निर्माण भएको हो । उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए ।
राकेश यादव/मध्यान्ह
रौतहट : रौतहटको राजदेवी नगरपालिकामा भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । विगत केहि दिनदेखि एक्कासी रुपमा बढेको अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप समेत बढेको छ । तर अस्पतालमा औषधि अभाव भएको छ ।
प्रचण्ड गर्मी र तातो घामको कारण विभिन्न किसिमको रोगका संक्रमण बढ्ने खतरा रहेको अवस्थामा स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधि व्यवस्थापन गर्नुको साटो नगर प्रमुख, उपप्रमुखको विवादले औषधिको कृत्रिम अभाव सृजना गरिएको स्थानीयले आरोप लगाएका छन् ।
टेण्डर प्रक्रियाबाट औषधि खरीद भई नगरपालिकामा दाखिला भएपनि स्वास्थ्य संस्थाहरुमा भने आपूर्ति हुन सकेको छैन ।
ज्वरो, झाडापखाला, लू, जुकाम लगेमा नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन जाँदा औषधि नपाइने अवस्था रहेको छ ।
नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थामा जुकाको औषधि, परिवानियोजनका साधन, महिलाहरुले खाने चक्कीको समेत अभाव रहेको देखिएको छ ।
निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने खेलमा आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारको उल्लङ्घन गरेको बताइएको छ ।
नगर उपप्रमुख अंशु सिंहले औषधी खरीदमा अनियमिता भएको भन्दै औषधि भण्डारण गरिएको कोठामा ताल्चा लगाई छानबिन हुनुपर्ने माग अघि सारेका छन् । उपप्रमुख सिंहले टेण्डर भएको अनुसार औषधि नभएको दाबी गरेका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय पाण्डेयले औषधि खरीदमा कुनै किसिमको अनियमितता नभएको दाबी गरे ।
गर्मीका कारण विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । जनताले सहज रुपमा प्राप्त गर्ने स्वास्थ्य सेवा अवरुद्ध गर्नु आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ भइरहेको स्थानीयहरुले बताएका छन् ।
विद्यार्थीको आँखाको परीक्षण
रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालवामा सञ्चालित नेमधारी बासुदेव नमूना विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा डाक्टर शिव कुमार यादव नेतृत्वको चिकित्सक टोलीले कक्षा १ देखि १० सम्म अध्यन गरी रहेका विद्यार्थीहरुको आँखाको परिक्षण गरेका छन् । १ हजार २ सय ५ जना विद्यार्थीको आँखाको गरिएको चेकजाँच मध्ये १ सय ७५ जना सामान्य समस्या देखिएकाले निःशुल्क चश्मा दिने अस्पतालले प्रतिवद्धता जनाएको छ ।
भक्तपुर : वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधैं भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ ।
अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै हिजोदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि आजदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो ।
सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ती गरेको कर्मचारीको नियुक्तीसमेत खारेज गरेको सूचना टाँस गरेको आन्दोलनरत कर्मचारीहरूको सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए । उनले मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौँदेखि खाइपाइ आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।
अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ती नवीकरण नगर्ने भएकाले उनीहरुको पुनर्बहालीको समेत माग गरेको उनले बताए ।
मेसुले अस्पतालका कर्मचारीहरु दास भएको भन्दै कर्मचारीलाई मानवीय व्यवहारसमेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ । करारमा रहेका कर्मचारीलाई निष्कासन गर्ने तर आफ्ना आफन्त सातजनालाई नर्स र फार्मेसीमा नियुक्ती गर्नुका साथै मेसु देवकोटोले रु. १७ हजार ५०० तलबमा आफ्ना निजी भान्छे समेत नियुक्ती गरेको सङ्गठनका सचिव सुनिता श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, “हाम्रा सेवा सुविधा कटौती गर्ने अनि यसअघिका कुनै पनि मेसुले नराखेको भान्छे डा. सुधाले निजी रूपमा राख्नुभएको छ, उहाँले अस्पताल प्रशासनको दुरुपयोग गर्दै आउनुभएको छ ।”
अस्पतालको ‘रिसेप्सन’मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भएपनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ । मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।
आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले भनिन्, “मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदैछ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ ।” उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउण्टरको साँचो समेत नदिँदा टिकट काट्न समेत नपाएको बताइन् ।
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।
देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए ।
यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।
चितवन : जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।
जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् । डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए ।
पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन । रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।
डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेङ्गु रोग सम्बन्धी सचेतना फैलाउने छन् ।
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणाली महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको बताए । उनले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै भने, “ शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन गर्यो । हातमा सीप भएको जनशक्ति उत्पादन गर्न सकेन ।”
मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने बताए । गुरुङले नेपालमा गफ धेरै र काम थोरै गर्ने प्रवृत्ति हाबी रहे पनि प्रदेश सरकार काममा विश्वास गर्ने भएकाले त्यहीअनुसार अघि बढेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइरालाले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकामा जोड दिइन् । योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा एक करोड ६० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । १६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयका प्रधानाध्यापक धु्र्वकुमार मल्लले बताए ।
काठमाडौं : गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ले सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । संघले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण सुरु गरेको हो ।
कार्ड प्रयोगकर्ताले होटल, ट्राभल एजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियत पाउने छन् । यसरी जम्मा गरिएको रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च गर्ने योजना छ ।
उनीहरुलाई कार्ड वितरण गर्दा जम्मा हुने रकम विपद् व्यवस्थापनका लागि तत्काल उपयोगमा ल्याउन सहज हुने पनि एनआरएनएले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने सो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । हाल एनआरएनएमा करिव ७० हजार सदस्य आवद्ध रहेका छन् ।
भद्रपुरः झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान २ः०० चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए । झापाको मेचीनगर नगरपालिका–१५ मा गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर ४० वर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए ।
गौशालाः महोत्तरीको जलेश्वरस्थित एक छापाखानामा आगलागी हुँदा ३० लाख रुपैयाँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित ३० लाख रुपैयाँको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बझाङः जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ ।
घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उहाँहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र १२ वर्षीय नवीनलाई अपाङ्गता भएपछि परिवार सधै समस्यामा पर्दै आएको छ । काम गर्ने अर्को मान्छे कोही नभएपछि बोहरा परिवार जिल्लाका विभिन्न ठाउँमा माग्दै गुजारा चलाउने गर्छन् ।
घरका सबैमा अपाङ्गता भएकाकाले यो परिवारलाई जीवन धान्न समस्या छ । घरमूली रहेका नरिको दाँया खुट्टामा समस्या भएकोले हिँडडुल गर्ने समस्या छ । त्यसैगरी उनकी श्रीमती भागादेवीको पनि दायाँ खुुट्टा चल्दैन । त्यसैगरी दुबै छोरा न्यून दृष्टिका हुन् ।
जिल्लाको दुर्गम देउलीकोटबाट परिवारनै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सङ्कलन गर्ने प्रमाण बनाउन आएका थिए । आफ्ना दुई छोरासहित सदरमुकाम चैनपुर आर्थिक सहयोग माग्दै आएका नरिले भने, ‘घरमा काम गर्ने कोही छैन, सबैमा अपाङ्गता छ, छोराछोरी पढाउन खान लाउन समस्या छ त्यसैले बजारमा माग्दै छु ।’
बाठपाली माविमा अध्ययन गर्दै आएका छोराहरुलाई आर्थिक अभावका कारण विद्यालय छुटाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । बोहराको परिवारमा चारै जनासँग अपाङ्गता परिचयपत्र छ । कान्छो छोरा नवीनको (क) श्रेणीको अपाङ्गता परिचयपत्र भएकाले सरकारले मासिक दुई हजार दिने गरेकोले त्यसैबाट घर खर्च चलाउँदै आएको बोहराले बताए । घरका अन्य तीन जनासँग (घ) श्रेणीको परिचयपत्र भएकाले राज्यबाट पाउनुपर्ने सुविधाबाट उनीहरु वञ्चित छन् । आफूहरुले पनि राहत पाउने पर्ने उनीहरुको माग छ ।
घरमूली नरिको एक्कासि खुट्टामा घाउ भएर उपचार गर्न नपाएर अपाङ्गता भएको हो भने उनकी श्रीमतीको जन्मजात एउटा खुट्टा चल्न नसक्ने थियो । त्यसैगरी बोहराका दुवै छोरा जन्मजात न्यून दृष्टिका हुन् । जेठो छोरा रवीन्द्रको धनगढी उपचार गरेर सामान्य उपचार हिँडडुल गर्न सक्नुहुन्छ भने कान्छो छोरा नवीनले अरुको सहारा लिनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies