दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणाली महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको बताए । उनले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै भने, “ शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन गर्यो । हातमा सीप भएको जनशक्ति उत्पादन गर्न सकेन ।”
मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने बताए । गुरुङले नेपालमा गफ धेरै र काम थोरै गर्ने प्रवृत्ति हाबी रहे पनि प्रदेश सरकार काममा विश्वास गर्ने भएकाले त्यहीअनुसार अघि बढेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइरालाले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकामा जोड दिइन् । योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा एक करोड ६० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । १६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयका प्रधानाध्यापक धु्र्वकुमार मल्लले बताए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies