अर्घाखाँची : अर्घाखाँचीको नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट धेरै पर्यटक आउने गर्छन् । पछिल्लो समय यहाँ भारतबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको स्थानीय बताउँछन् ।
पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलको रूपमा विकसित हुँदै गएपछि त्यस ठाउँमा धेरैले रोजगारी समेत प्राप्त गरेका छन् । आजभोलि पनि यस क्षेत्रमा चिसो खान कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट लगायत भारतबाट दैनिक रूपमा हजारौं मानिस आउने गरेको स्थानीय ओमबहादुर थापाले बताए ।
थापाका अनुसार गएको वर्षदेखि दैनिक रूपमा २० देखि ७० वटा समूह आउने सुपादेउरालीमा भाकल गरेको बोका चढाउने र पिकनिक स्पोर्ट्समा आएर खाने, रमाइलो गर्ने गर्छन् ।
शनिबारको दिन यहाँ झण्डै ५० देखि १ सय ५० ग्रुप आउने गरेको स्थानीय समाजसेवी सुर्य बहादुर केसीले दाबी गरे । महेन्द्र राजमार्गको कपिलवस्तुको गोरुसिंगे देखि ५० किलोमिटरको पक्की सडक गाडीमा हिँडेपछि पर्यटकीय क्षेत्र नरपानीमा आउन सकिन्छ । गोरुसिंगे सन्धिखर्क सडक पनि अहिले स्तरोन्नति भएपछि यहाँ आउने धार्मिक तथा वाह्य पर्यटकहरुका लागि निकै सहज भएकोले पछिल्लो समय विगत दुई वर्ष यता भारतीय पर्यटकहरू दैनिक उल्लेखनीय आउने गरेका कारण पनि यहाँ रहेका तीन ठूला रिसोर्ट नरपानी रिसोर्ट मजेरी रिसोर्ट र क्याम्प फायर रिसोर्ट र अन्य होटलहरु गर्मीको समयमा निकै प्याक हुने गरेको होटल व्यवसायी गोपाल पौडेलले बताए ।
उनी भन्छन्, ‘जाडोको समयमा त होटलहरु खाली हुन्छन्, अहिले त कोठा पु¥याउन समेत कठिन हुने गर्छ ।’
सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठीहरू लिएर नरपानीमा वनभोज जस्तै गरी खाने मानिसहरुका लागि भाडाकँुडा, दाउरा तथा बन्दोबस्तीका सामानहरु स्थानीय क्लबले नै जोहो गर्ने व्यवस्थापन मिलाइएको स्थानीय भोज बहादुर बिष्टले बताए । नरपानी खाँची वरिपरी हरियाली ठूला डाँडा, पहाड पानीका छहरा आउने लामो पुल समेत छ । बीचमा समथर भू–भाग भएकोले पनि विदेशी तथा स्वदेशी पर्यटकहरु निकै आकर्षित हुने गरेका छन् । यस नरपानी सुपा देउरालीको कारण पनि भविष्यमा यस क्षेत्रमा पर्यटनको ठूलो विकासले फड्को मार्नेमा विश्वास आफुहरुले लिइएको वडा नम्बर ६ का वडाध्यक्ष श्रीधर महत्राले बताए ।
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । यहाँ लाहुरे टाँसिएको भिर र लाहुरे बजार निकै प्रख्यात छन् ।
कडा चट्टानकाबीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर रहेकोले पनि यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन् र उनीहरुले सोचेको सुपा देउरालीले पूरा गरिदिने विश्वास भएकोले एक पटक आएका व्यक्ति मनोकांक्षा पूरा भएपछि फेरि आउने गर्छन् ।
कुनै अप्ठ्यारो समस्या परेका बेलामा सुपा देउरालीलार्ई भाकल गरे समस्या टर्ने धार्मिक विश्वास रहेको छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाउने परम्परा शुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए ।
विगतका वर्षहरूमा दैनिक १ हजारदेखि ५ हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले आएर दैनिक २ हजारदेखि आठ हजार जनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने खनालले दाबी गरे । सन्धिखर्क गोरुसिंगे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो दिन प्रतिदिन बढ्दै गएकोले अझै यस क्षेत्रको विकासमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले ध्यान दिन थालेका छन् ।