भक्तपुरः पातन्जल योग समिति भक्तपुरले जिल्लाभर योगजागरण ल्याउने उद्देश्य अनुसार प्रथम योगजागरण अभियानको शुरु गरेको छ ।
साधारणतया हामिले चोक चोकमा कुनै भाषण, सडक नाटक, आम सभा तथा तिहारमा खेलिने देउसे भैलो खेलेको देखेका छौ । तर भक्तपुरको गट्ठाघर चोकमा भने आज फरक दृश्य देखियो । पातन्जल योग समिती नेपालले फरक तरिकाले योग जागरण अभियानको थालनी गरेको छ ।
करिव चैत्र महिना भरी नै चल्ने योग जागरण भक्तपुर जिल्ला भरीकै विभिन्न चोकहरुमा सन्चालन हुनेछ । ‘नेपालीहरुको योग प्रतिको चासो बढिरहदा नेपाली माटो सुहाउने योगको जरुरी रहेकोले जन जनमा योगको महत्व बुझाउन यो अभियानको थालनी गरेका हौ’, पातन्जल योग समिती नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले बताए ।
कार्यक्रममा सकृय सहभागिता जनाई रहनु भएका योग जिल्ला समन्वय समितिका भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले राष्ट्रियताको सवालमा पातन्जल योग एक कदम अगाडि रहेको हुँदा पातन्जलको योग अभियानमा आफ्नो सधै सकृयता रहने बताए ।
नियमित योग अभ्यास, भजन नृत्य र कठिन आसनहरु प्रदर्शन गर्दै सन्चालन भएको उक्त योग जागरण कार्यक्रममा भक्तपुर भित्रका सयौं योगसाधकहरुको उत्साहजनक सहभागिता रहेको थियो । अभियानको बाकी कार्यक्रमहरु चारवटै नगरपालिकाका सडक, चोकहरुमा चैत्र महिना भरी बिहान ५ बजे देखि सन्चालन हुने जिल्ला अध्यक्ष योग प्रसाद आचार्यले बताए ।
चितवनः भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।
केन्द्रका प्रमुख डा. विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए । उनले भने, ‘छिमेकी जिल्लामा बर्डफ्लु छ, देशकै सबैभन्दा बढी उत्पादन हुने चितवन सुरक्षित छ ।’ कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उनले बताए । जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको बताए ।
केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताए । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उनले बताए । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।
रोग भित्रिएमा ठूलो नोक्सान हुने भएकाले सकेसम्म भित्रन नदिन र देखिई हालेमा तत्काल केन्द्रलाई खबर गरी सो क्षेत्र घेराबन्दी गरी नष्ट गरेर क्षति कम गर्ने विषयमा कृषकसँग सहमति भएको श्रेष्ठले बताए । बारा, पर्वतलगायत केही जिल्लामा पोल्ट्रीजन्य उत्पादन ओसारपसारमा समस्या देखिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा हालसम्म रोग देखा नपरेको बताए । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने उनको भनाइ छ । अण्डा, मासु र चल्ला पुर्याएर फर्कने सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिन सकेमा रोगबाट जिल्ला वच्ने उनले बताए ।
नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुन्छ । हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पुर्याउँदै आएको छ । हालसम्म पोल्ट्री व्यवसायमा एक खर्ब रुपैयाँ लगानी भएको व्यवसायी बताउँछन् ।
पाल्पा : आगामी चैत १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा (एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।
विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।
नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।
परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या १३२ रहेका छन् । जसअन्तर्गत सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक रहेका छन् । पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताए ।
फिदिमः पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको पाइएको छ ।
पाँचथरमा विसं २०६८ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालित छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सातै चरणमा औषधि खान उपयुक्त समूहमध्ये करीब एक तिहाइले औषधि सेवन गरेका छैनन् । औषधि सेवन गर्नेको सङ्ख्या क्रमशः घटिरहेको कार्यालयको तथ्याङ्क छ ।
कार्यालयका अनुसार विसं २०६८ सालमा यहाँका ६५.७ प्रतिशत व्यक्तिले औषधि सेवन गरेका थिए । विसं २०६९ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत, २०७० मा ७१ प्रतिशत तथा २०७१ र ०७२ मा ७५ प्रतिशत पुगेको थियो । तर, २०७३ सालमा उक्त सङ्ख्या घटेर ७२.२ प्रतिशतमा झर्यो । गत वर्ष ७०.६ प्रतिशतले मात्रै औषधि सेवन गरेको कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले जानकारी दिए ।
गत वर्ष कार्यालयले एक लाख ६७ हजार ३७० जना जिल्लावासीलाई औषधि खुवाउने लक्ष्य राखेको थियो । तर, निर्धारित बुथमा ८० हजार ५३४ जना मात्रै उपस्थित भएर औषधि सेवन गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंसेवकहरुले ३६ हजार २०५ जनालाई घरैमा पुगेर औषधि सेवन गराएका थिए । गत वर्ष औषधि सेवन गर्न उपयुक्त व्यक्तिमध्ये ५० हजार ६३१ जनाले औषधि सेवन गरेनन् ।
औषधि सेवन गर्नेहरुको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर प्रसाईँ हात्तीपाइले रोगको असरबारे पर्याप्त जानकारी सर्वसाधारणमाझ पु¥याउन नसक्दा औषधि सेवन गर्नेको सङ्ख्या सन्तोषजनक हुन नसकेको बताए ।
‘हात्तीपाइले रोगलाई सामान्यरूपमा लिई औषधि सेवन गर्न अनिच्छा देखाउँदा तथा यो रोगका असरहरुबारे पूर्ण जानकारी दिन नसक्दा अभियान पूर्णरूपमा सफल हुन सकेन’ प्रसाईँले भने । स्वास्थ्य शिक्षा प्रशिक्षक तुम्बापो हात्तीपाइले रोग विरुद्धको औषधिका विषयमा रहेका भ्रमहरु चिर्न नसक्दा समेत औषधि सेवन गर्नेको सङ्ख्या कम भएको बताए । mप्रत्येक वर्ष सार्वजनिक स्थानमा जिल्लाका विशिष्ट व्यक्तिहरुबाट औषधि सेवन गरी अभियान चलाइएपनि सेवन गर्नेको सङ्ख्या कमै रहने गरेको छ’ तुम्बापोले भने ।
कार्यालयका स्वास्थ्य सहायक उमेश मेहताका अनुसार औषधि सेवनको अभियान पछि पनि रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीहरुको सङ्ख्या उल्लेख्य रहने गरेको छ । छैटौँ चरणसम्म अभियान सम्पन्न गरेपश्चात उक्त रोगको सङ्क्रमणबारे यहाँ स्वास्थ्य परीक्षण आयोजना गरिएको थियो । स्वास्थ्य परीक्षणबाट रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या उल्लेख्य पाइएको उहाँको भनाइ छ । मेहताका अनुसार जिल्ला सदरमुकाम फिदिममा ३६५ जनाको स्वास्थ्य परीक्षण गर्दा सात जना र थर्पुमा एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा यो रोगको लक्षण देखिएको थियो ।
एक व्ब्यक्तिले नियमितरूपमा छ वर्षसम्म वर्षको एक पटक औषधि सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने तथा भावी दिनमा उक्त रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीहरुको भनाइ छ । सातौँ चरणसम्म औषधि सेवन गराउने अभियान सम्पन्न भएको पाँचथरमा यही फागुन १५ गतेबाट तीन दिनसम्म आठौँ चरणमा औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रसाईँले जानकारी दिए । यस वर्ष पाँचथरमा एक लाख ८३ हजार ६८९ जनालाई औषधि सेवन गराउने लक्ष्य कार्यालयले लिएको छ । यसका लागि स्थानीय तहस्थित स्वास्थ्य शाखाहरूले तयारी अघि बढाएका छन् ।
क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले रोग मानिसमा सर्दछ । यो रोगको पूर्ण लक्षण देखा पर्न नौ देखि १५ वर्षसम्म समय लाग्दछ । मानिसमा पूर्ण सङ्क्रमण भएपछि यो रोग निको नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
काठमाडौं : युनाइटेड नेप्लिज एशसियसन (युएनए) को चौथो वार्षिक सम्मेलन अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । २५ मेबाट २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक मध्येका एक सोनाम लामाका अनुसार सम्मेलनमा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मिस नेपाल श्रृंखला खतिवडा, डान्सर तेरिया मगरलगायतको सहभागीता रहने छ ।
अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न न्यूयोर्कमा क्रियाशिल सबै नेपाली संघसंस्थाहरुसँग आयोजकले सहकार्य गरिरहेको छ ।
काठमाडौं : आज ५७ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
८५ हजार ८ सय ८४ नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् जसमध्ये ८ सय ८२ बिदेशी नर्स छन् । नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन साथै नर्सहरु न्युन तलबमा काम गरिरहेका छन् । नेपालमा बर्षेनी ५ हजार बढी नर्सहरु उत्पादन हुने गरेका छन् ।
उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर, स्वयंसेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । पछिल्लो समय रोजगार र उचित पारिश्रमिक नपाउँदा बिदेशीनेको संख्या बढ्दो छ ।
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानको प्रशासनमा तालाबन्दी गरेका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरुले आज बिहान तालाबन्दी गरेका हुन् । कर्मचारी संघर्ष समितिले बिहीबारदेखि इमर्जेन्सी, प्रसुतिबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।
राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेको स्वास्थ्यकर्मी, कर्मचारीहरुले आरोप लगाएका छन् ।
आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, समयमै तलव, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राखेका छन् । प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणीविहीन कर्मचारीहरुको म्याद थप गर्न समेत माग गरेका छन् ।
चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताएका छन् ।
सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा क्याम्पसले पत्रिकामा विज्ञान प्रकाशन गरेर भर्ना प्रक्रिया अघि बढाएका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन गरेका हुन् ।
विश्वविद्यालयका उपकुलपति ढकालले यस अघि प्रकाशित सूचनामा विश्वविद्यालय र आङ्गिकको कोटा निर्धारण गरी भर्ना आह्वान गरिएकाले सो कोटाबाट निजी क्याम्पसले भर्ना लिन नपाउने बताए । उनले भने, “निजी क्याम्पसको भर्नालाई विश्वविद्यालयले मान्यता दिदैन ।” ढकालका अनुसार डिनको कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी आफूखुशी भर्ना नलिन सूचीत गरेको बताए ।
मेरीटका विद्यार्थी भर्ना गर्ने अधिकार निजी क्याम्पसलाई नभएको उल्लेख गर्दै उनले विश्वविद्यालयले गर्नुपर्ने आवश्यक तयारी समेत नभएको बताए । सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन रहेको र विश्वविद्यालयसँग परामर्श नभएकाले निजी क्याम्पसको भर्ना विश्वविद्यालयलाई स्वीकार्य नहुने उनले बताए । ढकालका अनुसार कार्यकारी परिषद्ले भर्ना प्रक्रिया अघि बढाउनुअघि केन्द्रीय अनुगमन गर्नुपर्ने भनेको भए पनि सो कार्य विश्वविद्यालयले गरेको छैन । निजी क्याम्पसले अस्थायी सम्बन्धन मात्र पाएको उनको भनाइ छ ।
भर्ना आह्वान गर्नेमा भ्याली कृषि क्याम्पस ललितपुर, पूर्वाञ्चल कृषि क्याम्पस झापा, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत, गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, जीविका कृषि क्याम्पस सुनसरी र सिद्धान्त कलेज गैंँडाकोट छन् । सिद्धान्त कलेज गैंँडाकोटले वनको कार्यक्रम चलाउन सम्बन्धन पाएको थियो । कृषिको सम्बन्धन पाएको गैंँडाकोटको हिमछायाँ कलेजले मात्रै विद्यार्थी भर्नाको सूचना निकालेको छैन । कलेज मुद्दा प्रक्रियामा पनि सहभागी भएको छैन ।
विश्वविद्यालयले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सम्बन्धन दिएका निजी कलेजका लागि गएको मंसिर १७ गते भर्ना सम्बन्धी प्रवेश परीक्षा रोक्का गरेको थियो । सो पश्चात् निजी क्याम्पसको भर्ना खारेज गरिएको ढकालले बताए । मुद्दाको बारेमा बिहीबार सर्वोच्च अदालतमा पेशी तोकिएको भए पनि स्थगित भई चैत १८ गतेका लागि सरेको छ । निजी कलेजको प्रवेश परीक्षा रोकेर विश्वविद्यालय केन्द्रीय क्याम्पस र पाँच बटा आफ्ना आङ्गिक क्याम्पसमा प्रवेश परीक्षा मात्रै लिएको थियो । कृषि सङ्कायको पुस १४ गते र वन सङ्कायको सात गते प्रवेश परीक्षा लिइएको थियो ।
विश्वविद्यालयले केन्द्र र आगिंकमा गरी चार सय १५ जना कृषि स्नातक र एक सय ३० जना वन स्नातक पढाउन शुरु गरेको छ । यता भर्ना आह्वान गरेको सिद्धान्त कलेज गैंँडाकोटका सञ्चालक छविलाल कँडेलले विश्वविद्यालयले निजी क्याम्पसलाई समेत सम्बोधन गरेर जारी गरेको सूचना र सर्वाेच्च अदालतको आदेशलाई आधार मानेर भर्ना आह्वान गरिएको बताए ।
उनका अनुसार विश्वविद्यालयले २० दिनसम्म निजीमा समेत भर्ना गर्नका लागि सूचना जारी गरेकोमा २१औँ दिनमा निजी हटाएको थियो । सो पश्चात् सर्वाेच्च पुगेका निजी क्याम्पसलाई सर्वाेच्चले संशोधित सूचना कार्यान्वयन नगर्नु-नगराउनु भनी विश्वविद्यालयलाई आदेश गरेको कँडेलले जानकारी दिए । सोही आधारमा निजी कलेजले भर्ना लिएको उनको भनाइ छ । निजी क्याम्पसमा विद्यार्थीको भर्ना हुनेक्रम जारी छ ।
ललितपुर : ललितपुरको भनिमण्डलस्थित गैह्र सरकारी संस्था टीच नेपाललाई निलम्बन गरिएको छ । धार्मिक आस्था राखेर शिक्षकका लागि विज्ञापन निकालेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय ललीतपुरले टीच नेपाललाई तत्कालका लागि निलम्बन गरेको हो ।
जिल्ला प्रशासन कार्यलयले संस्थालाई कुनै कारोवार नगर्न, विज्ञापनको प्रकृया तुरुन्त बन्द गर्न र संस्थाको नवील बैकंमा रहेका खाता रोक्का गर्न पत्राचार गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यलयले सस्थाका अन्य ठाउँमा रहेका सम्पती र जग्गा जमिनको विस्तृत विवरण समेत माग गरेको छ ।
केही दिन अघि टीच नेपालले क्रिष्चियन हुनुपर्ने, क्रिष्चियन कलेजमा पढेको र चर्चको प्रमाणीकरण चिठी चाहिने लगायत मापदण्ड राखेर एक प्रशिक्षार्थी शिक्षकको माग गर्दै विज्ञापन निकालेको थियो । टीचले धार्मिक आस्था राखेर विज्ञापन गरेको भन्दै चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अनुसन्धान थालेको थियो ।
काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।
केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६-१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा छन् ।
प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार रहुनभएको छ ।
दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।
दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies