–लेखराज रेग्मी
कार्यक्रम भनेको कामको स्वरुप चरित्र र महत्वको आधारमा सूचीकरण हो । विगतमा हामीले नयाँ जनवाद (नौलो जनवाद)लाई न्यूनतम कार्यक्रम भनेका थियौ । संविधानमै समाजवाद उन्मुखता लेखिसकेपछि नयाँ जनवादका कार्यक्रम सम्पन्न भएपनि नभएपनि हामी समाजवादलाई न्यूनतम कार्यक्रममा राख्नुपर्ने स्थितिमा छौं । यस्तो बेला सन् १९५६ देखि चीनमा ल्यू साओ चीसँग माओको डिबेट हाम्रो लागि गतिलो सन्दर्भ सामग्री बन्नसक्छ ।
एउटा क्रान्तिकारी पार्टीको परिवर्तनको एजेण्डा र कार्यभार क्रान्तिकारी कार्यक्रमले निर्धारण गर्छ । विगतमा हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको मुख्य एजेण्डा सामन्तवाद साम्राज्यवाद र नेपालको सन्दर्भमा भारतीय विस्तारवादलाई परास्त गरी मुक्त र स्वाधीन जनगणतन्त्र नेपाल निर्माण गर्ने भन्ने बनायौँ । यसको अर्थ बाह्य दवाव र हस्तक्षेपमुक्त आत्मनिर्भर नियन्त्रित पुँजीवादी राज्य निर्माण गर्ने र त्यसै आधारमा समाजवादी राज्य ब्यवस्था खडा गर्ने हाम्रो उद्देश्य थियो । यसको लागि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिकरूपमा सम्पन्न गर्ने कार्यसूची हाम्रो न्यूनतम कार्यक्रम थियो । तर, २०६२/६३को आन्दोलन पछि आएको उपरी संरचनाको परिवर्तन खासगरी नयाँ संविधान घोषणा भैसकेको स्थितिमा उक्त परिवर्तनप्रति हाम्रो दृष्टिकोण र संविधानसँगको हाम्रो सम्बन्ध यसले पैदा गर्ने हाम्रो अन्तरविरोध र पक्षधरताको आधारमा अब बन्ने राज्य व्यवस्थाले पुरा गर्ने दायित्व र जिम्मेवारीको कार्यसूची हाम्रो न्यूनतम कार्यक्रम बन्न थाल्यो ।
यसो गर्दा संविधानलाई क्रान्तिकारी वा अग्रगामी भन्नेहरूको लागि समाजवादी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक दायित्वको सूची न्यूनतम कार्यक्रम हो । संवैधानिक ढंगले उक्त कार्य सम्पन्न हुन सक्दैन भन्ने, यस्तो समाजवाद देखापरे पनि यो बुर्जुवा समाजवाद मात्रै हुने र वास्तविक समाजवाद नहुने भन्नेहरूको लागि संविधानभित्रबाट प्राप्त नहुने राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यहरूको सूचीसहितको समाजवादी कार्यक्रम न्यूनतम कार्यक्रम बन्यो ।
एउटा राजनैतिक परिवर्तन वा क्रान्ति सम्पन्न भैसकेपछि त्यसले पूरा गर्ने कामको सूचीको सिरानीमा स्वभाविक ढंगले त्योभन्दा उम्दा व्यवस्था प्राप्त गर्न गरिने कामको सूची आवश्यक पर्छ । हामी एक चरणको परिवर्तनको लागि काम गरिरहँदा पनि अर्को चरणको कामको मोटामोटी सूचीकरण गर्दछौं । हो त्यही भावी कार्यको फेहरिस्तको नाम अधिकतम कार्यक्रम हो । दुनियाँका कम्युनिष्टहरूको त्यस्तो अधिकतम कार्यक्रम साम्यवादी विश्व व्यवस्था नै हो र समाजवादी चरणभरी हामी त्यसैको लागि गर्ने छौं । यही सुनिश्चितताको कार्यक्रम सम्बन्धी दस्तावेज नै अधिकतम कार्यक्रम हो । यसरी अधिकतम र न्यूनतम कार्यक्रम सम्बन्धी दस्तावेजको अभावमा कुनै पनि क्रान्ति वा परिवर्तनको कुरा कुहिराको काग बन्ने बाहेक केही हुँदैन ।
न्यूनतम कार्यक्रमको त्यो हिस्सा जो क्रान्तिपश्चात कार्यान्वयनमा जानुपर्ने हुन्छ, यो हिस्सा र क्रान्तिको क्रममा नै सम्पन्न गरिने हिस्सा गरेर न्यूनतम कार्यक्रमका दुई भाग हुन्छन्, क्रान्तिकालमा हल गरिने र क्रान्तिलाई सुगम पार्ने खालका । सबै कार्यक्रमहरू तात्कालिक न्यूनतम कार्यक्रमहरू हुन् र तत्कालदेखि नै प्रयोगमा आउन पर्ने र सम्भव हुने जतिलाई ठोस गरेर बन्ने सूची तात्कालिक ठोस कार्यक्रम हो । तत्काल हल गर्न नसकिने, नगर्न पर्ने विषयमा सहमति देखा परेपनि नेपालका कम्युनिष्टहरूमा तात्कालिक कार्यक्रम कार्यान्वयनमा एकता प्रदर्शन भैरहेको छैन । यसले ठोस कार्यक्रममा सहमत हुनसक्ने अन्य पक्षसँगको सहकार्य बाधित छ । त्यसैले कथित संयुक्त मोर्चा या त कागजी छन् वा असम्भव छन् । यसकारण कम्युनिष्ट एकताको कुरा गर्नेहरूले सर्वप्रथम कार्यक्रम सम्बन्धी दस्तावेजमा एकरूप समझदारी र कार्यान्वयनमा समान प्रतिबद्धता कायम गर्नु आवश्यक छ । यो सवाल ओझेलमा छ ।
(रेग्मी, माओवादी केन्द्रका नेता हुन् ।)