साउदीस्थित नेपाली दूतावासमा प्रविधि जान्ने कर्मचारीको चरम अभाव
काठमाडौँ, २२ फागुन । साउदी अरबस्थित नेपाली दूतावासले नेपाली कामदारका लागि प्रमाणीकरण भएका डिमाण्डका कागजपत्र वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन अनलाइन प्रणाली (फेमिस) मा अपलोड गर्न जनशक्तिको अभावले गम्भीर समस्या उत्पन्न भएको बुझिएको छ । दूतावासमा प्रमाणीकरण भएका तर विभागको अनलाइन प्रणालीमा करिब २४ सय फाइल अपलोड हुन सकेका छैनन् । ती फाइलमा ५० हजार कामदारका डिमाण्ड रहेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमलाई भेटी मागपत्र अपलोड हुन नसकि अड्किएका फाइलका विषयमा ध्यानकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेको थियो । संघ तथा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी एसोसिएसन लगायत वैदेशिक रोजगार व्यवसायीहरुले साउदी अरबस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न आलटाल र मनोमानी गरेको, रोजगारदाता कम्पनीहरुले अनलाइन प्रणालीबाट आवेदन दिएकोमा उनीहरुले युजरआईडी र पासवर्ड नपाएको, रोजगारदाता कम्पनीहरुलाई दुताबासबाट दुव्र्यवहार गरिएको आरोप लगाउँदै दूतावासले मागपत्र प्रमाणीकरण गरी अपलोड गर्न ढिलाई गर्दा नेपाल आउने डिमाण्ड बंगलादेश, घाना तथा युगाण्डातिर जान थालेको दावी गरेका छन् ।
दूतावास श्रोतले भने प्रमाणीकरण भएका मागपत्र विभागको अनलाइन प्रणालीमा अपलोड गर्ने जनशक्तिको चरम अभाव रहको बतायो । दूतावासले प्रमाणीकरण भएका पुराना मागपत्र विभागको सूचना प्रणाली (फेमिस) मा अपलोग गर्ने भन्दै मार्च १० तारेख अर्थात आगामी फागुन २६ गतेसम्म नयाँ मागपत्र प्रमाणीकरण नगर्ने सूचना सार्वजनिक गरेको छ । दूतावास श्रोतले भने व्यवसायीहरुले दूतावासमा रहेको जनशक्ति अभावको वास्तविकता नबुझेकको बतायो । दूतावासको अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट मागपत्र प्रमाणीकरण आवेदनहरु आउने गरेको तर एकै पटक धेरै संख्यामा आवेदनहरु आएको हुँदा प्रकृयामा लगेर टुंग्याउन समय लाग्ने बतायो । दूतावासको अनलाइन प्रणाली र विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) एक आपसमा जोडिन सकेका छैनन् । त्यसले पनि समस्या पारेको दूतावास श्रोतले बतायो ।
राजदुत प्रोफेसर डा महेन्द्रप्रसाद सिंह राजपुतले कोरोना भाइरसको बीचमा पनि नेपाली कामदारको लागि रोजगारदाता तथा म्यानपावर कम्पनीका प्रतिनिधिले पेश गरेका मागपत्र प्रमाणीकरण भइरहेको तर रोजगारदाता र व्यवसायी प्रतिनिधिहरुले अनलाइनमार्फत आवेदन गर्नुको सट्टा मागपत्र प्रमाणीकरणका लागि विगतमा जस्तै काजगातसहितको फाइल पेश गर्ने गरेका र दूतावासमा आवश्यकता अनुसारको जनशक्तिको अभावका कारण प्रमाणीकरणमा ढिलाई भएको बताए । उनले भने, ‘वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिकाले मागपत्र प्रमाणीकरण गरी पठाउने जिम्मेवारी दूतावासलाई दिएपनि सो अनुसारको जनशक्ति नभएका कारण केही ढिलाई भएको छ ।’
कोरोना महामारीका कारण केही कर्मचारी संक्रमित भएपनि दूतावासले आफ्नो सकेसम्म सेवा दिइरहेको उनको दाबी छ । उनले दूतावासले मागपत्र प्रमाणीकरण भईसकेका तर राजश्व बुझाउन वाँकी रहको रोजगारदाताहरु कम्पनीले राजश्व भुक्तानी गरी आफ्ना प्रमाणित कागजात लैजानसमेत अनुरोध गरेको समेत बताए ।
साउदीस्थित नेपाली दूतावासमा अहिले मागपत्र अनलाइनसम्बन्धी कामका लागि एक दुई जना मात्र कर्मचारी रहेका छन् । एउटा मागपत्र प्रमाणीकरण गरेर अपलोड गर्न कम्तिमा १५/२० मिनेट लाग्छ । उनीहरु दैनिक १९/२० घण्टा काममा नै खटिएका हुन्छन् तर भ्याउने सम्भावना नै छैन । समाचार सूत्रका अनुसार दूतावासमा १०–५ बजाएर जागिर पकाउने अधिकृत हाकिम भन्दा प्रविधि जान्ने र छिटो छरितो काम गर्न सक्ने बरु राजपत्रअनंकित नै किन नहोस् त्यस्ता कर्मचारीहरुको आवश्यकता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies