
काठमाडौँ : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो नियुक्तिपछि समाजमा मिश्रित प्रतिक्रिया देखिएको महसुस गरेको बताएका छन् । शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा उनले केही पक्ष उत्साहित र केही असन्तुष्ट रहेको संकेत गरेका हुन् ।
मन्त्रालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफू सरकारमा आउँदा एक पक्ष खुसी र अर्को पक्ष असन्तुष्ट भएको अनुभूति भएको बताए । उनका अनुसार आफ्नो आगमनलाई लिएर समाजमा फरक-फरक धारणा देखिएको छ ।
गृहमन्त्री गुरुङले आफूमाथि विभिन्न आरोप लागे पनि ती सबै सहने क्षमता रहेको उल्लेख गर्दै प्रमाणविहीन रूपमा कुनै पनि नेपाली नागरिक, विशेष गरी महिलामाथि चरित्र हत्या नगर्न चेतावनी दिएका छन् ।
उनले सामाजिक रूपमा फैलाइने आरोप र टिप्पणीका कारण व्यक्तिको सम्मानमा चोट पुग्न सक्ने भन्दै यस्ता गतिविधिप्रति मन्त्रालय गम्भीर रहने बताए। उनका अनुसार चरित्र हत्या र अपमानजनक व्यवहार नियन्त्रण गर्न गृह प्रशासन संवेदनशील रूपमा अघि बढ्नेछ ।
गुरुङले विशेष गरी महिलाहरू लक्षित गरिने चरित्र हत्या रोक्नुपर्नेमा जोड दिँदै यस्ता घटनामा कडा निगरानी र आवश्यक कारबाही हुने संकेत गरे । साथै, मिडिया ट्रायलका कारण कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।