–कल्पना छेत्री
उर्वशी एकजना शिक्षिका भएतापनि उनले आफ्नो विद्यालयको कर्तव्य निभाउने साथसाथै आफ्नो मन मस्तिष्कले भ्याए सम्मको ख्याल गर्ने गर्छिन् । छर छिमेकी आफन्त सबैको परिवारमा घटेका राम्रा÷नराम्रा, तिता÷मिठा कुनै पनि कुरा उनीबाट लुक्न सक्दैन । विद्यालयमा तल्लो तहमा शिक्षा दान गर्नाले उनको हातमा समयको अभाव थिएन । घरमा पनि दुई छोराछोरी असम बाहिर नै कर्मरत हुनाले दुई जना स्वामी स्त्रीको सानो जहान थियो । स्वामी व्यवसायी हुनाले घरमा समय दिन गाह्रो थियो । कतै बिहे, पुजा, मर्दा–पर्दा उर्वशी नै हतारिँदै पुग्छिन् । तर, एउटा स्वभावले उनी ग्रस्त थिइन् । जहाँ पनि उनले आफ्नो एउटा थप कुराको जानकारी दिन्थिन् । त्यसैले पनि होला कोही उनका प्यारा हुन्थे त कोही उनको कुरा सुन्नमा दिलचस्पी राख्दैनथे ।
पल्लो गाउँकी वर्षाको बिहेको धुमधाम चलिरहेको थियो । बिहेलाई मात्रै चार दिन बाँक थियो । सघाउन भनी दिनमा एक चोटी त उर्वशी पुग्थिइन् । बिहे घरका आफन्तहरू दुई÷चार जना आउन थाले । उनी मन मनै रमाउन थालिन् । उनलाई उनका कुरा सुन्नलाई दिलचस्पी राख्ने मान्छे बढे । लागेको बानी धेरैमा कुरा सुनाउने । भर्खरै छोरी भेट्न भनी मुम्बई गएर आएकी । वर्षा पनि दुई वर्षदेखि उतै एमबीए सकेर जब गरेकी । उस्ले रोजेकै केटासँग बिहे हुन लागेको । वर्षाको बारेमा मुम्बईमा सुनेका कुरा सुनाउने मौका नभेट्दा मनभित्रै उकुसमुकुस भएर फुट्न आँटेको थियो उर्वशीको । वर्षाकी आमा आफ्नी दिदी बहिनीसँग मझेरीको कुनामा बसेर बात मारेको देख्दा उर्वशीले आफुलाई रोक्न सकिनन् । उनी पनि शामिल हुन पुगिन् । वर्षाकी आमा भन्छिन्, “सानैदेखि होस्टेल बसेर पढनु परेकाले घर धन्दा बुझ्ने मौकै भेटिन । सासु ससुरा देवर नन्दको परिवार । कस्तो गर्ली ? के गर्ली ? चिन्ता पो लाग्छ ।”
उर्वशी बोल्छिन् ,“चिन्ता नमान्दा हुन्छ दिदी । तपाईंकी वर्षाले नजानेको केही पनि छैन । मैले अस्ति नै चाल पाएकी छु । उसलाई तपाईंले के अराउनु सिकाउनु हुन्छ ? उ त अघिदेखि नै हुनेवाला जुवाइसँग बसेको छ महिना पो भयो रे ! कता ‘लिवइन्’ भन्छन् अरे नित ।” सुनिसक्दा तीनै दिदी बहिनीको पैताला मुनिको माटो हल्लियो ।
“होइन् तपाईंले के भन्नु भएको ? भन्दै थिइन् वर्षाकी आमा, उता उर्वशी “अर्जेन्ट कल आयो” भन्दै घरतिर लम्किन्छिन् । तीनै दिदी बहिनी चुप–चाप लाग्ने सिद्धान्त लिए तर, मन चँै एक बुझाउन नसक्ने पीडाले ग्रसित भयो । वर्षा आमा खोज्दै त्यहीँ आउछिन, अनि छक्क परेर सोध्छिन्, “किन हजुरहरू यसरी चुपचाप बस्नुभएको ?” आमा केही भन्न खोज्छिन् तर, उनको बोलि निस्कँदैन । उनि बेहोश हुन्छिन् । उनलाई डक्टरले “प्रेसर स्ट्रोक भयो भन्छ ।” सबै बिहेको माहोल धमिलो हुन्छ । तैपनि तोकिएको लगनअनुसार बिहे सम्पन्न हुन्छ । बेहुली अन्माएपछि उर्वशी भन्न थाल्छिन, “कसैले चिन्ता मान्नु पर्दैन । वर्षा लीवईनमा थी ।”
सुन्ने जतिका आखा निदारमा पुगे । परिवेश एकदमै शान्त थियो । उर्वशीले आफैँ निस्तब्धता हटाएर आफ्नै कुरा राख्न थालिन्, “आजको १५ दिनमा त मेरी छोरी सुजाताको पनि डोली उठ्छ । हिजो अचानक खबर आयो । फोनमा सबै ठीक भयो । केटाले तीन वर्षदेखि नै हेरेका रैछन् । हेराई–कुराई सबै जुरेको भनेर केटाको बाबाको फोन आयो । आमा बिनाको घर परेछ । छोरी सबै समान लिएर आउने । थोरै समयमानै सब ठीक ठाक गर्नुछ । सबै जना आउनु हेर्नु हाम्रो घरतिर” भन्दै हतारिदै घरतिर लाग्छिन् । कसार बटार्ने तीन दिन अघि सुजाता बेहुला बेहुली दुई जनाको कपड़ा, गर–गहना सबै बजार गरेर घर आउँछिन । छोटो मिठो बिहे सम्पन्न हुन्छ ।
अन्माउने बेला भयो भन्दा उर्वशी डाँको छोडेर रुन कराउन थाल्छिन् । बिहेमा आएका पाहुनाको नजÞर उनीतिरै पुग्छ । भन्न थाल्छिन् “बरै मेरी छोरी । सानी हो, केही अराउन सिकाउन पनि मौका भएन । के गर्ली कसो गर्ली नौलो घर ?” उता छोरी आमालाई बोलाउँछिन् अनि कानमा भन्छिन, “आमा सुर्ता नमान्नु होस् । मैले पनि वर्षा जस्तै सबै जानेकी छु । आमा म पनि दुई वर्षदेखि लिभईन मै छु ।” सबैजना मख्खै परेर हेरेको हेरै हुन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies