सुमन कुमार श्रेष्ठ/मध्यान्ह
काठमाडौं : ‘एउटै छानो एउटै मानो गरौं हुँदैन र सँगैबसी मानापाथी भरौं हुँदैन र ?’ यसै साता युट्युबबाट रिलिज भएको यो गजलको रचना गीतकार प्रकाश सुवेदीले गरेका हुन् । लक्ष्मण शेषको संगीत रहेको यो गजललाई टेक बहादुर बलमपाकीले गाएका हुन् । हेर्ने भन्दा सुन्ने यो गजल अहिले विभिन्न सञ्चारमाध्यमबाट निकै बज्ने गरेको छ ।
हुन पनि प्रकाश सुवेदी गजल भन्दा गीत बढी लेख्ने गीतकार हुन् । करिब डेढ दर्शकदेखि यो क्षेत्रमा सक्रिय उनको हालै मात्र यो नयाँ गीत आएको थियो : ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्ननीऽ जवानीभर तड्पाएरै मार्यौ सान्नानी’ । सिर्जना र सेरोफेरो युट्युब च्यालनबाट सुवेदीको यो गीत गत महिना रिलिज भएको थियो । यसमा गायक आश्रित अधिकारीको स्वर र सुरेश अधिकारीको संगीत रहेको छ । यी त केही नमुना मात्र हुन् । गीतकार सुवेदीले लेखेका थुप्रै गीतहरु यसअघि बजारमा आइसकेका छन् । उनका धेरै गीतहरु लोकप्रिय रहेका छन् ।
कास्कीको रुपा गाउँपालिकामा जन्मिएका सुवेदीले स्कुले जीवनबाटै गीत लेखन यात्रा शुरु गरेका थिए । तथापि उच्च शिक्षा हासिल गर्ने क्रममा काठमाडौं आएपछि बल्ल उनको गीत रेकर्ड भएको रहेछ ।
उनको पहिलो पटक टेलीचलचित्र ‘भोलि कहिल्यै देखिँदैन’को शीर्ष गीत रेकर्ड भएको थियो । तथापि व्यावसायिक गीतको रुपमा उनको रेकर्ड भएको पहिलो गीत चलचित्र गुरु दक्षिणाको ‘नहटोस् स्वाभिमान’ हो । यो गीतमा शिब परियारको स्वर र बसन्त सापकोटाले संगीत रहेको थियो ।
हुन त प्रकाशलाई टेलीचलचित्र ‘भोलि कहिल्यै देखिँदैन’को टाइटल गीतबाटै दर्शक स्रोताले चिन्न थालेका थिए । चलचित्र गुरु दक्षिणाको ‘नहटोस् स्वाभिमान’बाट उनले थप चर्चा पाए । ‘मेरो गीत सुन्नेहरु सबैलाई तपाई राम्रो गीत लेख्नुहुँदो रहेछ । अब गीति लेखन यात्रालाई अघि बढाउनु पर्छ भन्दै मलाई सबैले प्रेरण दिएपछि मैले त्यसपछिबाट निरन्तर गीत लेखनलाई अघि बढाएँ,’ गीतकार प्रकाश सुवेदीले भने ।
यसरी चलचित्रबाट गीति लेखन यात्रा शुरु गरे पनि यसपछि उनले आधुनिक गीत÷गजल लेखनलाई अघि बढाए । त्यो समयमा उनको रचनामा एकल आधुनिक गीतिसंग्रह ‘भावना’, अर्को एकल आधुनिक गीतिसँग्रह ‘प्रदीप्त’ बजारमा आयो । यी दुई गीतिसंग्रहका गीतले उनी व्यावसायिक गीतकारको रुपमा नेपाली गीति क्षेत्रमा राम्रैसँग स्थापित भए । त्यसको लगत्तै उनको रचनामा संयुक्त गीतिसंग्रह ‘प्रीशा’ बजारमा आयो । संग्रहमा रहेको ६ वटामध्ये दुई वटा गीत प्रकाशको थियो । सोही समयमा उनको अर्को संयुक्त गीतिसँग्रह ‘समिश्रण’ पनि बजारमा आएको थियो । यो गीतिसंग्रहमा गीतकार सुवेदीले लेखेको दुई वटा गीत समेटिएको थियो ।
लामो समयदेखि विभिन्न शैलीका गीत लेख्दै आएका गीतकार सुवेदीका गजल तथा आधुनिक गीत, पप गीत, लोक, राष्ट्रिय भावको गीत, पर्यटन प्रवर्द्धन, स्थानीय निकाय परिचयात्मक गीत तथा सचेतनामुलक गीतहरु बजारमा आइसकेका छन् । यीमध्ये उनी पर्यटन प्रवर्द्धन, स्थानीय निकाय तथा राष्ट्रिय भावको गीत लेखनतर्फ बढी सफल छन् ।
विभिन्न सरकारी निकायसँगको सहकार्यमा उनले स्थानीय निकायतर्फ रुपा गाउँपालिका, दक्षिणकाली नगरपालिका, पनौती नगरपालिकाको परिचयात्मक तथा स्थानीय निकाय प्रवर्द्धन गीतहरु लेखेर दर्शक स्रोता माझ ल्याइसकेका छन् । सरकारी निकायतर्फ नै वैदेशिक रोजगार बोर्डका लागि उनले लेखेको सीपसम्बन्धी गीत पनि निकै रुचाइएको छ । यही गीतबाट उनले उत्कृष्ट सन्देशमुलक गीत गीतकारतर्फको अवार्ड आठौं राप्ती अवार्ड समारोहमा हासिल गरे ।
प्रकाशको भनाइमा मायाप्रेमको गीत त जसले पनि रचना गर्छन् । ‘देश र समाजका लागि केही फरक एवम् सन्देशमुलक तथा शिक्षाप्रदान गीत लेखौं भन्ने चाहना अनुसार मैले यस्ता गीतहरु लेख्ने क्रमलाई बढाएको हुँ । नभन्दै अहिले यस्ता गीतहरु लेख्ने अबसर मलाई धेरै नै मिलेको छ,’ गीतकार प्रकाश सुवेदीले भने, ‘दुई वर्ष अघि विश्व नै कोरोनाग्रस्त हुँदा कोरोना सम्बन्धि तीन वटा सचेतना गीत मैले लेखेको थिएँ । ती तीन वटै गीत रेकर्ड भएर बजारमा आएको थियो र गीतलाई श्रोताले रुचाएका पनि थिए ।’
गीतकार सुवेदीको रचनामा हालसम्म पाँच दर्जन गीतहरु बजारमा आइसकेका छन् । प्रकाशका चर्चित गीतहरुमा तिमीलाई यति सम्झिएछु...., जति मायाँ लाग्छ मामुको..., टुक्रिएको देश हैन..., नभेट्दा त मन यति मिल्छ..., आऊ न सानु..., हुन्छ हुन्छ भन्दा भन्दै...लगायत थुप्रै रहेका छन् । आफ्ना केही गीतहरु अहिले पनि बजारमा आउने तयारीमा रहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies