काठमाडौं : साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघ स्थापना भएको ५० वर्षको अवसरमा गत साउनबाट संघले विभिन्न कार्यक्रम आयोजनासहित स्वर्ण महोत्सव मनाउँदै आएको छ । स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको हो ।
संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरुमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन् । यस्तै पुरस्कृत हुने पुस्तक सम्पादक (कपी एडिटर)मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।
तीन दर्जनभन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सिर्जना गरेर नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै त्रिभुवन विश्वविद्यालय किर्तीपुरका प्राध्यापक डा. गौतमलाई ‘सापस स्वर्ण महोत्सब सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको हो । यस्तै एक सयभन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सब सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष लेकालीले बताए ।
कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहेका नेपालले दुई दश भन्दा लामो समयदेखि एक सय बढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको हो । यसैगरी एक दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सक्रिय रोयल आचार्यले एक दर्जन बढी कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५०० रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताए ।
नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफूहरुले यस पटकबाट शुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी दिए ।
कार्यक्रममा उपकुलपति राईले नेपाली कृतिहरुलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने बताए । कृति सम्पादकहरु जहिले पनि छायाँमा पर्ने हुँदा उनीहरुको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको राईको भनाइ थियो ।
कार्यक्रममा सम्मानित व्यक्तिहरु गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्वय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफूहरुको योगदान तथा भोगाइबारे चर्चा गरे ।
यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावति सिंह, पूर्वअध्यक्षहरु विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत श्रष्टाहरुको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरुको लागि राम्रा काम गर्दै आएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies