एजेन्सी : भारतको मणिपुरमा विगत साढे दुई महिनादेखि जारी मेइती र कुकी समुदायबीचको हिंसात्मक द्वन्द्वको बीचमा बुधबार मणिपुरमा दुई महिलामाथि यौन दुर्व्यवहारको डरलाग्दो भिडियो सार्वजनिक भएको छ । मणिपुरमा भीडले दुई जना महिलालाई निर्वस्त्र सडकमा घुमाएको घटना बाहिर आएको हो ।
उक्त भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले ती महिलाहरू मे ४ मा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको सिकार भएको बताएको छ । मणिपुर प्रहरीले भनेको छ, ‘यो घटना मे ४ को हो । यसमा अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा अज्ञात व्यक्तिविरुद्ध दर्ता गरिएको छ। यस विषयमा अनुसन्धान शुरु भएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको छ ।
भिडियोमा भिडले महिलामाथि आपत्तिजनक व्यवहार गरेको देखिएको छ । महिलाहरूले रुँदै गुहार मागिरहेको देखिएको छ । आक्रमणकारीले महिलाहरूमाथि सामूहिक बलात्कार गरेको पनि बताइएको छ । एक युवकले आफ्नो दिदीलाई बचाउने प्रयास गर्दा उनको पनि हत्या गरेको बताइएको छ ।
भिडियोमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ । भिडियोमा दुई जना महिलामात्रै देखिन्छन्, तर भीडले ५० वर्षीया महिलालाई पनि लुगा फुकाल्न बाध्य पारेको यी महिलाले आफ्नो उजुरीमा बताएका छन् ।
मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् । यस घटनामा एक जनालाई पक्राउ गरिएको पनि मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।
बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको घटनाले आफ्नो मन पीडाले भरिएको बताएका छन् । प्रधानमन्त्री मोदीले देशको अपमान भइरहेको र दोषीलाई उन्मुक्ति नदिने बताएका छन् । प्रधानमन्त्री मोदीले घटनाले १४० करोड भारतीयलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् । मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोलेका हुन् । विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएका थिए ।
उक्त भिडियो सार्वजनिक भएसँगै यस विषयमा केन्द्रदेखि विपक्षी दलका प्रमुख नेतासम्मको कडा प्रतिक्रिया आएको छ । कांग्रेसलगायत अन्य विपक्षी दलहरूले यस विषयमा सत्तारुढ दल भाजपालाई घेरा हाल्ने प्रयास गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies