–मनिष आजाद
आमा छोरीलाई फोन गर्न डराउछिन्
यस कारण कि–
केही गरी मुखबाट केही निस्किहाल्यो
र ‘गुप्तचर विभाग’ले सुन्यो भने
बाबु छोरीलाई सम्झन्छन्
चिन्ता त लागिरहन्छ नै
तर धेरै फोन नगर्ने कारण
पत्तै नपाइ मुखबाट केही खुस्किने
अनि गुप्तचर विभाग...
ढोकामा राखिएको घण्टीले
कसैले केही खबर ल्यायो कि भनेर
अब कुनै उत्साह ल्याउँदैन
अब त टाउको पो दुखाउँछ
कतै छापामारी त भएन ?
साथीहरू सल्लाह दिन्छन्
राजनीतिक म्यासेज पठाउने नगर्नू
म समाचार पत्र हेरिहाल्छु
यसो भन्दै गर्दा
उनीहरूको आवाज मधुरो हुन थाल्छ
मानौं आफैंलाई चोरी गर्दागर्दै पक्रिएको होस् ।
राजनीतिक मित्रहरू भन्छन्–
काम गर्ने कुनै रचनात्मक तरिका खोज्नु पर्ला
सत्ता असाध्यै दमनकारी छ ।
तर...
तर यदि सत्ता दमनकारी छ भने त
आमाले छोरीसँग धेरै कुरा गर्नुपर्छ
धेरै–धेरै नै कुरा
उसको प्रेमको बारेमा पनि
अनि अँ, आफ्नै प्रेमको बारेमा पनि ।
सत्ता दमनकारी छ
त्यसैले नै
बाबुले छोरीलाई
समय हुनासाथ फोन गर्नु है भन्नुपर्छ
उनलाई नदी, पहाड र झरनाको बारेमा भन्नुपर्छ
र ती किताबको बारेमा पनि भन्नुपर्छ
जुन किताबलाई प्रतिबन्धित गरिसकिएको छ ।
सत्ता दमनकारी छ
त्यसैले त
ढोकाको घण्टी बज्नासाथ
ढोकातिर दौडनु पर्छ
हुन सक्छ
कुनै बच्चाको कपाल
ठक्कर खाएर भित्र आएको होला ।
सत्ता दमनकारी छ
त्यसैले अब
समाचारको होइन कि
सन्देशहरूको खाँचो छ
सन्देश प्रेमको, चिन्ताको, आक्रोशको
सन्देश रोटीको, बिद्रोहीहरूको
गोप्य सन्देश र खुल्ला दुवै सन्देश ।
सत्ता दमनकारी छ
त्यसैले त हामीले
आउँदो पिँढी
एकदम रचनात्मक तरिकाले बाँच्न सकोस्
आउदो पिँढीका
बच्चाहरूका रङ्गिन कलमहरू
एकदम रचनात्मक तरिकाले
कागजमा दौडन सकून
आउदो पिँढीले
एकदम रचनात्मक तरिकाले
कविता लेख्न सकोस् भनेर
सत्तासँग सिधै जुध्न जरुरी छ
बिना कुनै ‘रचनात्मकता’
बस, सिधै सत्ताका आँखामा आँखा जुधाएर ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies