– बलराम तिमिल्सिना
उसले भन्यो– जातलाई नउचाल
ऊ पक्कै जातलाई थिचिराख्ने हुनुपर्छ
यसो भन्ने मान्छे पनि
पक्कै कुनै जातकै हुनुपर्छ
यसो भन्ने मान्छेले
कैयन जातलाई दबाएको हुनुपर्छ
र ती जातिहरूलाई उचाल्दा
उसको जातलाई अप्ठेरो हुनसक्छ
त्यसैले आफ्नो सजिलोको लागि
उसले जातलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले फेरि भन्यो–
धर्मलाई नउचाल
यसो भन्ने मान्छे पनि
कुनै एउटा धर्म मान्ने हुनुपर्छ
सम्भवतः उसले मान्ने धर्म
यो देशको राज्य–धर्म
या सो सरहको हुनुपर्छ
उसको धर्मले युगौँदेखि
अरु धर्मलाई ङ्याकेको हुनुपर्छ
त्यसरी अरुलाई ङ्याक्न पाउँदा
यसो भन्ने मान्छेलाई मजा आएको हुनुपर्छ
अरु धर्मलाई उचाल्दा
उसले ङ्याकिरहेका धर्म माथि पर्ने
या उसको धर्म बराबर हुने खतरा देखेको हुनुपर्छ
त्यसैले उसले धर्मलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले अन्तिममा भन्यो–
अरु कुरा छोड वर्गका कुरा गर
यसो भन्ने त्यो मान्छे पनि
एउटा वर्गको अनिवार्य हुनैपर्छ
उसको आदेश निर्देशको छाँटकाँट हेर्दा
ठाँटबाँठ सबै हेर्दा
पुख्र्याैली हिसाबले नभए पनि
ऊ कुनै पुँजीपतिको छाउरो हुनुपर्छ
या त तस्कर, या त घूसखोर
या त दलाल, व्यापारी
या त नोकरशाह हुनुपर्छ
उसले अरु वर्गका कुरा नगर
केवल पुँजीपतिका गर भन्न खोजेको हुनुपर्छ
केवल पुँजीपतिको सेवा गर भनेको हुनुपर्छ
सबै सबै कोणबाट हेर्दा
उ मजदुर र किसान चुस्ने जुकै हुनुपर्छ
तर बेकारमा लफडामा परिएला भनेर
वर्गका कुरा मात्र गर भनेको हुनुपर्छ
सायद जात र धर्मका कुरा
मानिसहरूले झट्टै बुझ्ने
र वर्गका कुरामा अलमलिने भएकोले
उसले वर्गका कुरा गरेको हुनुपर्छ ।
म सोचिरहेको छु
पुँजीपति वर्गको सत्ता ढालौँ
र सर्वहारा अधिनायकत्व कायम गरौँ
केही गरी हामीले यसो भन्यौ भने
यसरी वर्गका झर्रा कुरा ग¥यौं भने
भर्खरसम्म वर्गका कुरा मात्र गर भनिरहेको मान्छे
हामीले वर्गकै कुरा गर्दा
अझ बढी रिसाउने छ र हुन सक्छ
पक्कै बन्दुक लिएर आउने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies