काठमाडौं : नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँडको विषयमा सहमति भएको छ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकमा दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति जुटेको हो ।
चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत शेयर पाउनेछन् ।
यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे ।
‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए । यसपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । तीन दिन लामो छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो ।
शेयर बाँडफाँडसँगै चलचित्र संघ र निर्माता संघबीच अन्य सहमति पनि भएको छ । सहमति अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ । यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।
निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies