काठमाडौं : पशुपति गन्धर्व नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका एक होनाहार संगीतकर्मी हुन् । सानै उमेरमा तबला बाद्यनमा नाम कमाएका पशुपति अहिलेका जल्दाबल्दा तबला बाद्यकमा गनिन्छन् । कपिलवस्तुको सालझन्डीमा जन्मे हुर्केका पशुपति चार कक्षा पढ्दादेखि नै स्कुलका कार्यक्रमहरुमा तबला बजाउने गीत गाउने गर्थे । कपिलवस्तुको नवप्रभात बोर्डिङ स्कुलमा पढ्दै गर्दा पशुपतिले स्कुलका कार्यक्रममा मादल तबला बजाउने मात्र गर्दैनथे, स्कुलका कार्यक्रममा भाग लिएर प्रथम पुरस्कारसमेत जित्ने गर्दथे ।
कपितवस्तुबाट क्याम्पस पढ्न काठमाडौं आएपछि आफ्नो सांगीतिक रफ्तार अझ बढेको उनी बताउँछन् । तबला बाद्यक भुवन गन्धर्वबाट प्रभावित भएर यो क्षेत्रमा लागेको बताउने पशुपतिलाई एक दिन भुवन जस्तै प्रख्यात तबला बाद्यक बन्ने इच्छा रहेको छ । नेपालका चर्चित वरिष्ठ तबला बाद्यक कुमार महाराज पनि मनपर्ने बताउने पशुपति मोडलिङमा पनि बिस्तारै पाइला चाल्दैछन् । कुनै सिनेमाको हिरो भन्दा कम नदेखिने पशुपतिले देशका विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा तबला बाद्यकको रुपमा भाग लिइसकेका छन् । गायक संगीतकार थानेश्वर गौतमको गीतहरुमा विषेश गरी पशुपतिलाई तबला बजाइरहेको देख्न सकिन्छ ।
आमा कलि कुमारी गन्धर्व र लोक गायक सरोज कुमार गन्धर्वका छोराको रुपमा कपिलवस्तुमा जन्मेका पशुपतिको घरपरिवारमा सांगीतिक माहोल थियो । त्यही माहोलले यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् । जुनकिरि लाइफ दोहोरी साँझमा तबला बाद्यकको रुपमा समेत कार्यरत पशुपतिले रे टेलिभिजनमा समेत तबला बाद्यकको रुपमा कार्यक्रममा भाग लिएका थिए ।
स्कुल कजेलका कार्यक्रमहरुमा प्रथम भएर पुरस्कार जितेका दिनहरु सम्झँदै उनी भन्छन्, ‘आजको यो अवस्थामा आइपुग्नलाई ती दिनहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ नेपाली सांगीतिक क्षेत्रमा राम्रो काम गरेर सबैको मन जित्ने सपना रहेको बताउने पशुपति नेपाली सांगीतिक क्षेत्रमा सानो उमेरमै सफलता चुम्ने संगीतकर्मी हुन् ।
स्व. सम्राट नारायण गोपालका गीतदेखि अहिलेका प्रताप दास, अस्मिता अधिकारी सबैका गीतसंगीत उनलाई मनपर्छ । लोक संगीत, आधुनिक, पप सबै प्रकारका गीत संगीतमा उनको उक्तिकै रुची छ । नेपाली, हिन्दी, अँग्रेजी चलचित्र हेर्न रुचाउने पशुपतिलाई दयाहाङ राई, राजेश हमाललगायतका कलाकार मनपर्छ । जन्मभूमीसँगै उनलाई मनपर्ने ठाउँहरुमा पोखरा, मुस्ताङ, कालिञ्चोक रहेका छन् । फुर्सद मिल्ना साथ उनी पोखरा घुम्न हिँडिहाल्छन् ।
कार्यक्रमको सिलसिलामा देशको विभिन्न ठाउँमा घुम्दै रमाउँदै अघि बढेका उनी तबलामा नेपालकै एक उच्चकोटीको तबला बाद्यक बन्ने सपना रहेको बताउँछन् । साथै मोडलिङमा पनि उत्तिकै रहर पालेका पशुपति मोडलसँगै नायक बन्ने तयारीमा समेत रहेका छन् । ‘राम्रो चलचित्रमा अफर आयो भने भविष्यमा नायक बन्न पनि सक्छु,’ उनी भन्छन् । गीत गाउन त्यति मन नपराउने पशुपति गीत सुन्न भने एकदमै मनपराउँछन् । नेपाली, हिन्दी गीतहरु विशेष मनपराउने उनले तबलामै केही गर्ने लक्ष्य राखेका छन् । तीन दर्जन गीतहरुमा तबला बाद्यकको रुपमा काम गरिसकेका पशुपतिले त्यत्तिकै संख्यामा कार्यक्रमहरुमा तबला बाद्यकको रुपमा भाग लिइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies