सुदूरपश्चिम नेपालको सीमाना झुलाघाट भएर चलिरहेको नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा पूर्वी नेपाल प्रवेश गर्ने तयारीमा छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेश प्रवेशको तयारी चलिरहँदा सुरक्षा निकायले विशेष चासो देखिएको देखिन्छ । एमालेले पनि पत्रकार सम्मेलन गरेर आफ्नो यात्रालाई अवरोध नगरिदिन पहिचानवादी शक्तिहरुसँग आग्रह गरेको छ । तर पहिचानवादी शक्तिहरुले कोशी प्रदेशमा अवरोध गर्नेगरी तयारी गरिरहेका छन् । कोशी प्रदेश प्रवेश गर्ने मध्यपहाडी राजमार्गको घुर्मीमै रोक्ने पहिचानवादीहरुको तयारी छ भने एमालेले जसरी पनि अगाडि बढ्ने अडान लिएको छ । एमालेका स्थानीय नेताहरुले आफ्नो यात्रालाई भव्य बनाउने तयारी गरिरहेका छन् । दुवैतर्फको तयारी हेर्दा परिस्थिति नियन्त्रण बाहिर जाने अनुमान लगाउन सकिन्छ ।
पहिचानवादीहरुले एमालेमाथि आक्रोश पोखिरहेकाले पनि संभावित घटनाको अनुमान लगाउन जरुरी छ । विशेषगरी प्रदेशको नाम कोशी राख्ने कोशी प्रदेशसभाको निर्णयप्रति असन्तुष्ट पहिचान पक्षधरले एमालेका नेताहरुमाथि लगातार आक्रमण गरिरहेका छन् । एमाले सचिव योगेश भट्टराईको गाडी केही दिन अगाडि मात्रै पहिचान समर्थकहरुले तोडफोड गरेका थिए । यसअघि एमालेकै नेताहरुको कार्यक्रम बिथोल्ने, पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रण गर्ने गरिरहेका छन् । अरु सत्तारुढ दलहरुप्रति पहिचान पक्षधर तुलनात्मक नरम देखिन्छन् । अहिलेका मुख्यमन्त्री केदार कार्कीलाई काम गर्न कुनै अवरोध नहुनुले पनि पहिचान पक्षधरको निशाना एमालेमाथि रहेको अनुमान लगाउन सकिन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको पृष्ठभूमिका कारणले पनि पहिचान पक्षधरको निशाना यसतर्फ भएको हुन सक्छ ।
तर लोकतान्त्रिक गतिविधि संवैधानिक अधिकार हो । पहिचान पक्षधरलाई जसरी आफ्नो माग राख्न र गतिविधि गर्ने अधिकार छ, त्यस्तै एमालेलाई पनि आफ्नो अडान र निर्णय लिने संवैधानिक अधिकार छ । एकअर्काप्रति आक्रोश पोख्ने, असन्तुष्टि जनाउने र लोकतान्त्रिक विधिबाट हराउने गतिविधि गर्न पनि संविधानले छुट दिएको छ । तर हिंसात्मक आक्रमण, कुनै पक्षलाई लोकतान्त्रिक गतिविधि गर्न निषेध गर्ने जस्ता कदम निन्दनीय हो । त्यस्तो शैलीलाई अहिलेको संविधान र लोकतान्त्रिक संस्कृतिले स्वीकार्दैन । अतः दुवै पक्षले एकअर्काको भावनालाई कदर गर्ने अनि असन्तुष्ट पक्षको कुरा संस्थापनले सुन्ने गर्न आवश्यक छ । पहिचान पक्षधरले विरोध जनाउनु, आपत्ति जनाउनु र असहमति प्रकट गर्ने लोकतान्त्रिक विधि अपनाउन आवश्यक छ भने एमालेले पनि सीमान्तकृत समुदायको कुरा सुन्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies