सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको उत्तरी भेगका चन्द्रनिगाहपुरमा रहेको लागुपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्रमा १० जना दुर्व्यसनी रहेका छन् । उज्वल भविष्य फाउण्डेसन आवासीय : लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र खोलेको हो ।
अहिले केन्द्रमा दुर्व्यसनमा फसेका १० जना दुर्व्यसनमुक्त हुने प्रक्रियामा रहेका छन् । जसमध्ये ५ जना २० वर्षमुनिको रहेको पाइएको छ । पुनःस्थापन केन्द्रका अभिशेष खड्काले चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बिक्री गर्दा दुर्व्यसनी बढेको बताए । नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने भएकाले दुर्व्यसनीमा यूवाहरु नै बढी संलग्न रहने गरेको पाइएको उनको भनाइ छ ।
कुनै समय आफैँ पनि लागुऔषध दुर्व्यसनमा फसेको उल्लेख गर्दै उनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक पर्ने धारणा व्यक्त गरे । सानै उमेरका किशोरहरू लागुऔषधको दुर्व्यसनमा फस्नुका कारण उनीहरूको संगत मात्रै नरहेको पाइन्छ । कतिपय अवस्थामा अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको फसिरहेको देखिन्छ । पारिवारिक समस्या, खराब संगत र डिप्रेसनका कारण कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको नागरिक समाजका अगुवा केदार थापाले बताए ।
छोराछोरी लागुऔषधको कुलतमा लागेको थाहा पाएपनि डरले अभिभावक चुप बस्ने गरेकाले समस्या जटिल हुने गरेको उनको भनाइ छ । बालबालिकाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने उनले औँल्याए । चन्द्रपुर अस्पतालका फिजिसियन डा.सुभाष चौधरी लागुऔषध सेवनमा लागेकाहरूमा धेरै समय आफन्तको सम्पर्कभन्दा टाढा बस्न चाहने स्वभाव विकास भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा लागूऔषध सम्बन्धी ३६ मुद्दा दर्ता भएको थियो ।
लागुऔषध सम्बन्धी दर्ता भएको मुद्दामा ३५ वटा फछ्र्योट भइसकेको प्रहरीले जानकारी दिएको छ । यस अवधीमा लागुऔषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएकोमा उनीहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेशका ८ जिल्लामा संञ्चालित १८ सुधार केन्द्रमा अहिले ४ सय ८१ जना छन् । जसमा ७३ जना दुर्व्यसनी २० वर्षमुनिका देखिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies