तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : चार चरणमा सम्पन्न हुने गरी १ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको गायन र नृत्य विधाको गैरआवासीय नेपाली तारा सिजन ४ को फाइनलको मित नजिकिँदै छ l आगामी महिनाको २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् l गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको हो l
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । ग्रानड फिनालेमा पचास प्रतिशत निर्णायक र पचास प्रतिशत हलमा उपस्थित दर्शकले आफू सँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने गरी तयारीलाई अन्तिम रूप दिन लागिएको छ l बहु चर्चित गायक रामकृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पूर्णिमा श्रेष्ठ अतिथि निर्णायकका रूपमा ग्राण्ड फिनालेमा आउने निश्चित भएपछि आयोजक, प्रतिस्पर्धी र कतारमा रहेका गीत संगीत प्रेमीहरू निकै उत्साहित छन् l कार्यक्रमलाई भव्य बनाउन कुनै कसुर नछाड्ने गरी अन्तिम तयारी आयोजकले थालेकै बेला प्रतियोगीहरूले आइडललाई कसरी हेरेका छन् र समग्रमा कसरी लिएका छन् भन्ने बारेमा मध्यान्ह राष्ट्रिय दैनिकले प्रतिस्पर्धीसँग अलग अलग उनीहरूका विगत, वर्तमान र भविष्यका बारेमा भलाकुसारी गरेको थियो l भलाकुसारीबाट तयार गायन विधाका प्रतियोगीको रिपोर्टलाई यहाँ पेस गरिएको छ l
१. दीपक कुमार घले (भोटिङ नम्बर १)
विगत एक सालदेखि कतारमा कार्यरत धादिङ नेत्रवती ५ घले गाउँका दीपक सानैबाट गीत गाउने गरेको स्मरण गर्छन् । अरू कुनै गायन प्रतियोगितामा भाग नलिएको बताउने उनले आफ्नो आवाजमा २ वटा अफिसियल गीत रिलिज भइसकेको बताए । विभिन्न स्टेजहरूमा प्रस्तुति दिइसकेका दीपकले अतिथि जज रामकृष्ण ढकाल आफ्नो आइडल गायक रहेको बताए । यदि आफूले प्रतियोगिताको ताज जित्न सकेमा आफूले अध्ययन गरेको स्कुलका निम्न वर्गीय विद्यार्थीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२. ईशान रेग्मी (भोटिङ नम्बर २)
कोशी प्रदेशको विराटनगरमा जन्मिएका ईशान रेग्मी विगत ७ वर्षदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छन् भने भक्तपुर लोकन्थलीका बासिन्दा हुन् l नेपालमा हुँदा धेरै वर्ष पहिले नेपाली तारामा समेत अडिसन दिएका उनको आफ्नै अफिसियल गीत पनि रहेको छ l करिब दुई दशकदेखि गीत गाउन थालेका रेग्मीले आफू फाइनलका लागि भरपुर तयारीमा लागेको बताउँछ्न् l नेपालबाट अतिथि जजमा रामकृष्ण ढकाल आउने कुराले उनी दंग छन् l उनी भन्छन्, “नेपाली तारामा पनि उहाँ नै जज हुनुहुन्थ्यो, यहाँ पनि उहाँ आउने खबरले उत्साहित छु ।” आफूले प्रतियोगिता जितेमा उक्त पुरस्कार राशिले गीत संगीतमा नै केही गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।
३. सुजन गुरुङ (भोटिङ नम्बर ३)
धादिङ जिल्ला नेत्रावति गाउँपालिका वडा नं. ५ बेतीनीमा जन्मिएका सुजन गुरुङ विगत सात वर्षदेखि कतारमा कार्यरत छन् । नेपालमा रियालिटी शोहरूको आगमन भएसँगै गायनमा झुकाव बढाएका गुरुङले प्रतिभा आँगनको रियालिटी शोमा भाग लिएको अनुभव सँगालेका छन् । कुनै पनि एल्बम सार्वजनिक नगरेका गुरुङले ग्रान्ड फिनालेका लागि तयारी गर्न कोसिस गरिरहेको बताए । उनले भावुक हुँदै भने, "ड्युटीमा गाउन मिल्दैन, रुममा गाउँदा अरूलाई समस्या पर्छ तर पनी मेहनत जारी छ ।" उनले आशाको दियो निभ्न भने दिएका छैनन् । नेपालबाट आउने अतिथि जजका सामुन्ने आफूले प्रस्तुति गर्न पाउनु नै आइडल जिते सरह हुने उनी बताउँछन् । आफूले प्रतियोगिता जितेमा आफूलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई कुनै न कुनै रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
४. मानसिङ परियार (भोटिङ नं. ४)
'भाग्य लेख्ने मसी', 'माया बस्ने मुटु', 'काठमाडौंको नाइट बस चढौंला', 'जुनेली रातैमा', 'दशैं तिहार सँगै मनाउँला' र 'बेसीमा टुनी'जस्ता गीतहरू बजारमा ल्याइसकेका रोल्पाली लोक तथा दोहोरी गायक मानसिंह परियार यतिबेला एनआरएन आइडलको ताज आफ्नो पोल्टामा पार्न कोसिस गरिरहेको छन् । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी हाल दाङमा बसोबास गर्छन् । सन् २०१७ मा पहिलो गीत रेकर्ड गराएका परियार गाउँमा हुँदा झ्याउरे गीतहरू गाउने गरेको स्मरण गर्छन् । ड्युटीबाट बचेको समयमा रियाज गर्ने गरेका उनी रामकृष्ण ढकाल आउने कुराले दंग छन् । आइडलको ताज आफूले जितेमा गाउँकै स्कुलमा निम्न आए भएका विद्यार्थीका लागि कापी कलम किन्दिने र बचेको रकम गीतसंगीतमै लगानी गर्ने उनले बताए । ताज आफ्नो लागि आयोजक संस्थाको मुटु सरहको उपहार हुने उनले बताए l
५. रुस्तम तामाङ (भोटिङ नं. ५)
सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी स्कुले जीवनकालदेखि गाउन शुरु गरेको स्मरण गर्छन् । आफ्ना कुनै पनि एल्बम सार्वजनिक नगरे पनि उनीसँग थुप्रै स्टेजमा प्रस्तुति दिएको अनुभव छ । रामकृष्ण ढकाल अतिथि निर्णायकमा आउने खबरले रुस्तम हर्षित छन् । उनी भन्छन्, "मैले पहिलो पटक रियालिटी शोमा भाग लिएर पहिलो पटक उहाँकै गीत गाएको हुँ र त्यो एनआरएन आइडल हो । मैले उहाँका गीतहरू गाइरहेको र उहाँकै सामुन्ने प्रस्तुति दिन पाउने हुँदा सक्दो तयारी गरेको बछु ।" उनले आफूले प्रतियोगिता जितेमा पुरस्कारको राशि भने गीतसंगीतमै खर्च गर्ने बताए l
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ । खाडीमा काम गर्दै आफूसँग बचेको समय कलाकारितामा लगाइरहेको अवस्थामा मध्यान्ह दैनिकले ठूला साना कलाकार नभनी समान स्थान दिएकोप्रति कलाकार सकारात्मक मात्र देखिएनन् आभार समेत प्रकट गरे l मध्यान्हकर्मीलाई कलाकारितासँगै श्रमिकका मुद्दामा समेत कलम चलाउन उनीहरूले आग्रह गर्दै खुसी व्यक्त गरे l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies