रूपन्देहीको तिलोत्तमा नगरपालिका देशैभरिको नमुना नगरपालिकाको रुपमा स्थापित हुँदै गएको छ । पूर्वाधार विकास र सेवा प्रवाहका सन्दर्भमा तिलोत्तमाले गरेको कामको चौतर्फी प्रशंसा भएको पाइन्छ । मध्यान्ह राष्ट्रिय दैनिकले नमुना बन्दै गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग नगरको विकास निर्माणको पक्ष र सेवा प्रवाहको पक्षमा केही जिज्ञासा राखेको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग मध्यान्हको तर्फबाट शोभाखर पन्थीले गरेको कुराकानीको सम्पादित अंश :
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहिरहँदामा आफ्नो भूमिकालाई कसरी हेर्नुभएको छ ? नगरपालिकामा कार्य सहजता कस्तो छ ?
अहिले नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको छ । आफू संलग्न भएर बनेका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न पाउनु सुखद विषय हो । तर, नीति तथा कार्यक्रम र बजेटमा नै उल्लेख भएका योजनाको कार्यान्वयनमा पनि जनप्रतिनिधिबाट एग्रेमो लिनुपर्ने अचम्मको परिपाटीको विकासले काम कारवाहीलाई केही सुस्तता भएको अनुभूति भउको छ । नयाँ योजनाको स्वीकारभन्दा पनि अवरोध गर्ने विषय पनि स्थानीय तहमा पेचिलो बन्दै गएको हो कि भन्ने देखिन्छ । तथापि, आफू पदस्थापन हुँदा अलिकति असहज वातावरण भएको कार्यालयलाई सहज तुल्याई पुनः देशकै अब्बल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व महशुस हुँदो रहेछ ।
तपाइँ नेतृत्वमा आएपछि विशेषगरी भएका काम के छन् ?
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको काम मुख्यतयाः आर्थिक तथा प्रशासनिक विषयको व्यवस्थापन नै हो । तर, योजना तर्जुमा र कार्यान्वयनलाई पनि उत्तिकै महत्व दिनुपर्ने अवस्था छ । परियोजना बैंक निर्माण, योजनाको प्राथमिकीकरणमार्फत दीर्घकालीन महत्वका योजनाको छनौट, बजेट व्यवस्थापन र कार्यान्वयन, सेवा प्रवाहमा सूचना प्रविधिको व्यापक प्रयोग, अत्यावश्यक कानूनको तर्जुमा र कार्यान्वयन र सबै क्षेत्र समेटिएको सन्तुलित विकासको मोडल अहिले तिलोत्तमा नगरपालिकाले अगाडी बढाएका मुख्य विषयहरू हुन ।
अरु पालिकाले गर्ने नियमित काम बाहेक तिलोत्तमाले फरक के काम गरेको छ ?
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममार्फत कृषितर्फ नगरपालिकाको आफ्नै कृषि पकेट कार्यक्रम सञ्चालन, पशु सेवातर्फ लम्पी स्किनविरुद्ध निःशुल्क खोप, भेट एम्बुलेन्स सञ्चालन, शिक्षातर्फ कक्षा ५ को परीक्षा नगर स्तरीय परीक्षाको रूपमा सञ्चालन, कम्तिमा चार वटा विद्यालयको भवन निर्माण, स्वास्थ्यतर्फ कोभिड अस्पताललाई नगर अस्पतालको रूपमा सञ्चालन, उद्यम विकासतर्फ ‘मेड इन तिलोत्तमा हाउस सञ्चालन’, तिलोत्तमा इकमर्स सेवा सञ्चालन, रोजगारीतर्फ तिलोत्तमा जब्स सञ्चालन, सम्पदा संरक्षणतर्फ तिलोत्तमा सम्पदा सूची निर्माण र तिलोत्तमा सिमसार क्षेत्र घोषणा र खेलकुदतर्फ तिलोत्तमा क्रिकेट कप आयोजना तथा तिलोत्तमा स्पोर्ट्स अवार्ड सञ्चालनलगायतका कार्यलाई अघि सरेर काम गरिरहेका छौं ।
तिलोत्तमाका जनताले पछिसम्म सम्झने गरी के काम भइरहेको भन्ने लाग्छ ?
गत वर्ष तिलोत्तमाको सभ्यताको रूपमा रहेको नगर सरसफाई तथा हरियाली प्रबद्र्धन कार्यक्रमको १००औं शृंखला भव्यरूपमा सम्पन्न गरियो । त्यस्तै, नगर स्तरीय प्राथमिकता प्राप्त आयोजनाको रूपमा नगरपालिकाले ‘एक वडा, एक किलोमिटर बाटो’ असफाल्ट प्रविधिको माध्यमबाट कालोपत्रे गर्ने कार्यको सुरुवात गरेको छ । नगर गौरवको आयोजनाको रूपमा नगर अस्पतालहरू निर्माण भैरहेका छन् । नगर स्तरीय स्वर्णीम आयोजनाको रूपमा विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष कम्तिमा चार वटा विद्यालयको भवन निर्माण गर्ने कार्य नगरपालिकाले सुरुवात गरेको छ । छाडा चौपाया व्यवस्थापनको लागि डिजिटल पशु दर्ता प्रणालीको सुरुवात गरिएको छ । नगर क्षेत्रलाई गुट्काजन्य पदार्थ मुक्त क्षेत्र घोषणा, नो हर्न नगरपालिका, फोहोर मैलाको स्रोतमा नै वर्गीकरण र वातावरणमैत्री नगर घोषणाको थालनी नगर क्षेत्रका सम्झन लायक कार्यहरू हुन् ।
देशभर स्थानीय सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्ने गुनासो सुनिन्छ । यहाँको अवस्था के पाउनु भएको छ ?
यो विषयमा आंशिक सत्यता पनि छ । देश संघीय प्रणालीमा गएपश्चात स्थानीय तहहरूले जनताका सबै समस्या समाधान गरिदिन्छन् भन्ने मानसिकता जनतामा रहेको थियो । स्थानीय तहहरूलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने उपमा पनि दिइयो । तर, जनताका सबै समस्याहरू समाधान गर्न सक्ने अधिकार र सामथ्र्य स्थानीय तहमा छैन । जसले गर्दा जनतामा निराशा हुनु स्वाभाविक हो । तर, स्थानीय तहहरूले आफूले प्राप्त अधिकारको आफू सक्दो कार्यान्वयन भने गर्दै आइरहेका छन् ।
यहाँको सन्दर्भमा, मौजुदा परिवेशमा राजनीतिक सन्तुलन नगरपालिकाको प्रमुख चुनौतीको रूपमा देखा परेको छ । त्यस बाहेक उपलब्ध स्रोतको कुसल बिनियोजन, विविधता व्यवस्थापन, आर्थिक अनुशासन, समन्यायिक तथा सन्तुलित विकास तथा राजनीति–प्रशासन हार्दिकता यहाँका चुनौतीहरू हुन् ।
तिलोत्तमा अन्य पालिकालाई उछिन्दै ‘लिजा’मा प्रथम भयो, त्यो कसरी सम्भव भयो ?
कर्मचारी र जनप्रतिनिधिको निरन्तर प्रयासको समग्र प्रतिफलले नै नगरपालिकाले त्यो सफलता हात परेको हो । विभिन्न विषयगत समितिको सक्रियता र वडा कार्यालयहरूको विकासप्रतिको तिव्र चाहना र हुटहुटीले सम्भव भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्य स्थानीय तहहरूले सम्पादन गर्ने समग्र कार्यहरूको ऐना हो । यसले स्थानीय तहहरूलाई आफ्ना कमि कमजोरीहरू पहिल्याउन र आगामी दिनमा सुधार गर्न मौका प्रदान गर्दछ । यो अरु स्थनीय तहबाट सिक्ने मौका समेत भएकाले यसले पालिका पालिका बीचको सम्बन्धलाई पनि कसिलो बनाउँदछ । लिजामा स्थानीय तहले प्राप्त गर्ने अंकलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगद्वारा नेपाल सरकारलाई सिफारिस गरिने अन्तर सरकारी वित्तीय हस्तान्तरणको एउटा सूचकको रूपमा राख्ने पहल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ ।
स्थानीय निकायले भोग्नु परेका मुख्य समस्या के देख्नुहुन्छ ?
सन्तुलित, दिगो र परिणाममुखी आयोजना छनौट हुन नसक्दा स्रोत साधनको बान्छित प्रयोग नहुनु, जनप्रतिनिधि र कर्मचारीमा इमान्दारिता, परिपक्कता र व्यवसायिकताको स्खलन, आर्थिक अपारदर्शिता मेरो विचारमा स्थानीय तहले हाल भोग्नु परेका तीन प्रमुख समस्याहरू हुन् । अर्कोतर्फ, कतिपय कानूनहरू निर्माण नहुँदा पनि समस्या भइरहेको देखिन्छ । विशेषगरी संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय हुन सकेको छैन । जसलाई चाँडै सम्बोधन गरिनु आवश्यक छ ।
अन्त्यमा, स्थानीय तहलाई जनमुखी र अझै बलियो बनाउन के गर्नु पर्ला ?
स्थानीय तहलाई जनमुखी बनाउने प्रमुख आधार भनेको सेवा प्रवाह र विकास निर्माणमा जनसहभागिता अभिवृद्धि गर्नु नै हो । नवसार्वजनिक शासनले अंगिकार गरेका सह–सिर्जना, सह–उत्पादन, सह–व्यवस्थापन जस्ता औजार प्रयोग गरेर स्थानीय तहले जनताको मन जित्न सक्छन् । स्थानीय तहलाई बलियो बनाउन संविधान प्रदत्त अधिकारहरूको प्रयोग गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु पर्दछ । कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकास र संस्थागत क्षमता विकासमार्फत उल्लेखित उद्देश्य हासिल हुन सक्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies