–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
नेपालीहरूका घरघरमा पढिने स्वस्थानी कथा र नेपालीको व्यथा यो वर्ष फेरि उजागर भएको छ । हरेक वर्ष माघ महिनाभरि सतिदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानीको मेला काठमाडौं उत्तर पूर्वी भागको साँखु शहर छेवैमा लाग्ने गर्छ । त्यसो त संसारमा ३३ करोड पीठहरू छन्, त्यसमा सबैतिर पुग्न सकिन्न तर, जीवनभरिमा ५० पीठमा भने पुग्नुपर्ने शास्त्रीय मान्यता छ । सतीदेवीको निधन हुँदा पति महादेवले उनको लासलाई लिएर विश्व परिभ्रमण गर्ने क्रममा पहिले गुह्य पतन भई पीठ बनेको ‘गुह्येश्वरी’ पावन पशुपति क्षेत्रमै रहेको छ भने दाँत पतन भएको क्षेत्र दन्तकाली धरानमा, जिब्रो पतन भएको क्षेत्र बाँकेको बागेश्वरीलगायत सयौँ पीठ हाम्रै देशमा छन् र अन्त्यमा बाँकी सर्वाङ्ग पतन भएको क्षेत्र दैलेखको धुलेश्वर सधैँ हाम्रो चर्चाको विषय हो । उनै सतीदेवीले अर्को जीवन पार्वतीका रूपमा यहीँका हिमालय र पत्नी मेनकाका गर्भबाट जन्मिएर पति शिवलाई पाउन एक महिनासम्म स्वस्थानीको व्रत गरेको गौरीघाट र यहीँको शाली नदी क्षेत्रले सर्बत्र चर्चा पाएकै छ । स्वस्थानीमा गरिबीको चित्रण छ ।
हो, देशमा आज पनि बेरोजगारी छ र गरिबी पनि । ‘मुना मदन’मा महाकविले मुनाको दुःख र पति मदनले भोटमा पाएको कष्टको चर्चा गरेका छन्, हाम्रो आधुनिकताको उपज । तर, स्वस्थानी सत्य युगको कथा हो, तर खोलाहरूमा धेरै पानी बगे, परिवेश उही छ हाम्रो, उही अशिक्षा, उही भोक, बढी रोग, र त विश्व कहाँ पुग्यो, हामी अल्प विकसित र श्रम बेचिएको पैसाले धानिएको अर्थतन्त्रमा । ‘स्वस्थानी’ को मूल पात्र शिव भट्टकी छोरी गोमाको बिहे सानै उमेरमा शिव शर्मासँग भएको, उनी गर्भिणी हुँदा घरमा खानाको अभावले पति परदेशिएका थिए । सन्तानको लालन पालनका लागि घर खर्च जुटाउन विदेश गएका शिवशर्माको उतै मृत्यु हुन्छ । यता गोमाले छोरो पाउँछिन्, जसो तसो हुर्काउँछिन् पनि । छोरो नवराज खेल्न जाँदा छिमेकीले घोचपेच गर्छन् र भन्छन् ‘बिना बाबुको छोरो’। पीडाले नवराज बाबु खोज्दै विदेशिन्छन् । मरेका बाबुको हाडखोड पत्ता लगाई अन्तिम संस्कार गरी केही खर्चको जोहो गर्दै आमा भेट्न आइपुग्छन् । पति, पुत्र दुबैको बेचैनीमा रहेकी गोमा स्वस्थानी गुहार्दै माघ मासको व्रत गर्छिन्, आपत्कालमा सम्झने ईश्वर नै त हो । छोरो एक्लै फर्केकादेखि आमा पति बिरहमा हुन्छिन्, जसोतसो सम्हालिएर छोरालाई ठूलो हुने, पौरख गर्ने आशीर्वाद र स्वस्थानीको प्रसाद दिन्छिन् । अहिले पनि उही समस्या छ, खाडीमा गएर बाकसमा लास फर्केको स्थिति, देशमा रोजगारी नभएरै त हो ।
अझ भनौँ देशको अर्थतन्त्र पूरै रगत बेचिएको विप्रेषणमा चलेको छ, यहाँ विदेशीहरूले खर्बौं खर्ब लगानी गरिसके, तर देश ऋणमै त छ, उत्पादन छैन, मूल व्यवसाय खेतीमै समस्या छ । घाटाको बजेट छ, भर्खरै धान यसपाली बढी उत्पादन भयो भनियो, तर यतिबेला घट्नु पर्ने धानको मोल बढेको छ । बीमा भन्यो सरकारले झुक्यायो, यही माघ १ देखि सह तिरोको नाममा १० प्रति फेरि असुल्ने भएको छ । व्यापारी बनेको सरकार पहिले बानी लगाइदिन्छ अनि घाँटी समात्छ, खाए खा नखाए घीच् भन्छ, जाने कहाँ र भन्ने कसलाई हो थाहा छैन, नेपालीहरूका दिन झन्–झन् खराब भइरहेका छन् । पछिल्लो दाग र चित्लाङ्ग दुर्घटनाले हाम्रो विकास आयोजना र पूर्वाधार कस्ता छन् भन्ने देखाउँछ र मेलम्ची ८ पल्टसम्म उद्घाटन भइरहेकाले पनि स्थिति यथार्थ देखिन्छ । उर्बर भूमि टाठा बाठाको हातमा प्लटिङ्गमा छ, रासायनिक मलको हाहाकार छ, खाना, नाना छानाका लागि विदेशिनु पर्ने बाध्यता छ ।
स्वस्थानीमा कुटिर उद्योगको चर्चा छ, ऊन, राडी, पाखी घरेलु कामको संकेत छ, तर आज पनि त्यही विषय हाम्रो लागि ठूलो भार भएको छ । भएका उद्योग टाठाबाठाले बेचिदिए, केही रुग्ण छन्, सबैलाई विदेशी व्यापार गर्न, छिटो धनी हुन मन लाग्छ । विदेशी व्यापारबाट कमाइने भंसार राजस्वले देशको महँगो राजनैतिक संयन्त्र चलेको छ, यहीँ धेरै विलासिताका सामगीहरूको आयात हुन्छ, स्वदेशी विजुली महँगो छ । विदेशी इन्धनमा प्रति लिटर रु ५० बढी त कर नै तिर्नुपर्छ ।
स्वस्थानीका पात्रहरू सबैजसो अभावमा जिएका छन्, वियोगको सागरमा पौडी खेलेका छन्, हो त्यो पीडा अहिले पनि उस्तै छ । विदेशीले सिमाना मिच्छ, बहादुरी इतिहासका वीर गोर्खालीको रवाफ घुमिल हुन्छ, सुगौली सन्धीपछि साहित्यको रस वीर रसबाट एकाएक भक्ति रसमा परिणत भई भानुभक्तीय रामायणको चर्चा हुन्छ घरघरमा । आज पनि रात विरात खुफिया एजेन्सीहरू कोठा–कोठा चाहार्छन्, राष्ट्रियताको बजार चुनावी मैदानमा हुन्छ । भाषा, धर्म, संस्कृतिमा औपनिवेशिकता, तुइन तर्दा, मृत्युवरण, सिमानामा तातो गोली, पौडी खेलेर महाकाली पार गर्दा एकसरो कपडामा शहर परिक्रमाको बेइज्जती, एकै युवती ९ जनाको बलात्कारको शिकार त्यो पनि राजधानीमै, घाँटी रेटीरेटी मान्छेको हत्या आधुनिकताको उपज, मानवअधिकारवादी र सुरक्षा अँगको चिर निद्रा, एक महिनामा ४ थान गोली ४० लाखमा बिक्री र सहिदको अपमान, यसै सेरोफेरोमा देशले समाजवादको खोक्रो नारा लिएको, आत्मरतिमा अल्झिएको छ ।
संविधानमा सबै मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, आबास, अपाङ्ग, दलित, निमुखा, असहाय, महिला, ज्येष्ठ नागरिक, स्वच्छ हावाको पनि चर्चा छ,तर यी सबै खोज्न सकिने अवस्था छैन, देश विचौलिया र विदेशीको इशारामा छ । स्वस्थानीका पात्रहरू, तिनले पछिल्लो जीवन सुखमा बिताएको प्रसंग छ, अभावै अभाव बीच दुःख पाएको नवराजले पछि रोजगारी मात्रै होइन ठूलो सम्मान पाउँछन्, आमा खुशीको आँसु बगाउँछिन् तर, नवराज पत्नी रानी भएको जोसमा होस् गुमाउँछिन् र शालिनदीका किनारामा ठूलै कष्ट पाउँछिन्, पदको दुरूपयोग गर्दा ।
हाम्रा नेपालीहरूको रंग उस्तै छ, मिठो खाने, राम्रो लाउने सपना अधुरो छ र त दिन दिनै पासपोर्ट बनाउने भीड बढेको छ । वृद्धहरू गाउँमा बेसहारा छन्, गाई, गोठहरू रित्तै छन्, विदेशी पाउडर दुध बहन्छ शहरमा, यहाँ मेलम्ची होइन विदेशी मिनरल वाटर, ह्विस्की, डिउ, कोक, फ्यान्टा, जंंकफुड, फास्टफुडले स्वास्थ्य कुरूप बन्छ, श्रम नगर्ने र कोठाबाटैमा मोबाइलले संसार हाँकिन्छ । युवा पुस्ता बेमौसमको राजनीतिमा व्यस्थ छ । दूव्र्यसनीमा फसेको छ ।
स्वस्थानीको शाब्दिक अर्थ हुन्छ स्व–स्व स्थानमा बसेर आफ्नो कर्तव्य, जिम्मेवारी पूरा गर्नुपर्ने । पथभ्रष्ट हुने स्वस्थानीका केही पात्रहरू खेर गएका पनि छन् आफ्नो मर्यादा नबस्दा विश्वलाई एक तृण बराबर सम्झने स्वयं विष्णुले बृन्दाको श्रापका कारण शिला, झार हुनु परेको छ । सत्यको अर्थ सत्य नै हुन्छ, निष्ठा र इमान्दारिता बिर्सँदा, रानीको सोखले आफन्तको मोहमा पर्दा चन्द्रावतीलाई असह्य बेदना सहनु परेको छ । रानी बन्दा पनि खान नपाएर अरुले ल्याइदिएको बासी भात खान लाग्दा खरानी भएको र त्यो पनि खान खोज्दा हावाले उडाएर लगेको, धरधरी रुनु परेको अवस्था छ । हेर्दा कथा जस्तो लाग्छ तर, मर्म आजकै हो ।
आज पनि बाली लगाउने असारमा प्रकृतिको बितण्डा छ, बाली उठाउने मंसिरमा उही समस्या छ र त विगत पाँच वर्षमा सबैभन्दा कम धान बालीको उत्पादन गत वर्ष भयो, यसपालिको तथ्यांकमा मिसावट भयो भनिदैछ । ६० लाख मेट्रिक टन धानको उत्पादनको लक्ष्य लिँदा जम्मा ५१ लाख मेट्रिक टनमा चित्त बुझाउनु परेको यादै छ त, खाने मुख बढ्ने उत्पादन घट्ने हाम्रो नियति हो र त देशमा व्यपारघाटा चूलिँदै छ, जसरी ऋण चुलिएको छ । चन्द्रावतीलाई ल्याइएको झोलाको भातभन्दा परिवेश के फरक भयो त ? बाली भित्र्याउन नपाई प्रकृतिले उडाएर लगेको अबस्था छ । हाम्रो देश धर्मको देश हो, यहाँ अधर्मका काला बादलहरू मडारिएका छन् ।
मूर्तिमा सुनको जलप लगाएर पदाधिकारीलाई जेल पठाउने, तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति छ । सिँहदरबार या कुनै आलिशान महलमा, उच्च सुरक्षाको घेरामा, विलासी गाडी र जिमखाना, सरकारी उपचारमा रहनेहरू एक पटक साँखु पुगेर चन्द्रावतीको छप्पर हेर्नु बेस होला, संस्कृति र इतिहासमा फर्कनु बेस होला । त्यहाँसम्म पुन सकिन्न भने गौरीघाटमा पार्वतीले व्रत गरेको प्रदूषित वागमतीको चित्कार सुनी २ मुठा रायो साग लिएर कोठामा गई आफ्नै हातले या आफ्नै परिबारले पकाएर दिएको एक छाक खाना खान सके अझ समाजवाद बुझिएला कि । र त महाकविले भने ‘सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नो खाएर बस्नु आनन्दी मनले’ ।
राजनीतिको रडाकोले देश कामिरहेको छ, राष्ट्रिय सभाको चरित्र पनि उदाँगो भएको छ । अहिले, मााटो छोप्ने डोजरे र असारे विकासले गलिरहेको छ देश । समाजवादको नाराले पेट भरिएन, शरिर ढाकिएन, लालाबाला पालिएनन्, शिक्षा, स्वास्थ्य सुविधा भएन, प्रसूती गृहदेखि आर्यघाटसम्म तिरेको करको सदुपयोग भएन । वर्षेपिच्छे स्वस्थानीको रोइलो छ, सन्देश पनि छ, कसैले सुन्ने होइन, पदीय मर्यादामा को बस्यो र, आचरणमा रमाइएन, पेशाप्रति गौरव र इमान्दारिता पनि भएन । स्वस्थानीको मूल मर्म बुझिएन, विदेशीको फोटो सजाइयो बरु त्यसैमा रमाइयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies