काठमाडौं : नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा संगठन ‘नेपाल हाइकु संघ’को आयोजनामा राष्ट्रिय हाइकु महोत्सव–२०८० सम्पन्न भएको छ । महोत्सव नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो ।
कुलपति राईले निबन्धकार शंकर लामिछानेद्वारा रचित ‘माकुरा जाल, झोलिएको ओसले र तन्किँदै गयो’ हाइकु वाचन गरेर महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा. बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा अमात्य श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन (अमर), दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलगायत हाइकु सम्मान–२०८० द्वारा सम्मानित भएका छन् ।
यसै क्रममा कुलपति राईले नेपाली मौलिकतासहित हाइकु कवितालाई बचाउनुपर्नेमा जोड दिँदै हाइकु कविताबारे प्राज्ञिक बहस र विमर्श गर्दै लघुकविताको भिन्नतालाई पनि एकिन गर्न अनिवार्य रहेको बताए । यसबारेमा प्रज्ञा प्रतिष्ठानले पनि विमर्श गर्ने उनले बताए ।
महोत्सवका विशेष अतिथि हाइकुकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, अतिथि वक्ताहरू प्रा.डा. लेखप्रसाद निरौला, डा. यज्ञेश्वर निरौला, डा. विनोद मन्जन, डा. हरिप्रसाद सिलवालले हाइकु कविताको सैद्धान्तिक र सिर्जनात्मक पक्षमा आ–आफ्नो दृष्टिकोण राखेका थिए । यस्तै कवि सिर्जना सरोवरले पनि मनतव्य राखेकी थिइन् ।
विशेष अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले पनि हाइकु वाचन गरिन् । यसैअनुसार हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, धीरेन्द्र प्रेमर्षि, दिल पौडेल, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, जीवन सुवेदी र रेणुका भट्टराईलगायतले हाइकु वाचन गरे ।
यसैगरी हाइकुकार पुष्कर लोहनी, गोपालप्रसाद थपलिया, दिव्य गिरी, टेकबहादुर लौडारी, अरूणबहादुर खत्री नदी, होमशङ्कर बास्तोला, भुवन शिवाकोटी (चौघरे), सानु शर्मा, राजेन्द्रकुमार बज्राचार्य, उर्मिला डङ्गोल, अन्जना पौडेल, मङ्गला कङ्साकार तुलाधर, नरेन्द्रबहादुर श्रेष्ठ, गोधूलि दिनेश, कृष्ण बाउसे, सुवास जमरकट्टेल, रामेश्वर जलन, प्रीति आत्रेय, गङ्गा भेटवाल, चन्द्रकला शाह, सुरेश प्रधान, तुपु पुं र एन.बी जनकपुरी र कुन्दन पन्त लगायतले हाइकु वाचन गरे ।
यसैगरी सञ्चारकर्मी तथा साहित्यकार सरस्वती गौतम र रेणुका भट्टराईलगायत अन्य सञ्चारकर्मीले राष्ट्रिय हाइकु महोत्सवको छायाँकन गरी प्रचारप्रसारमा सहयोग पुर्याएका थिए । नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीलाई मायाको चिनो प्रदान गरे । यसैगरी राष्ट्रिय हाइकु महोत्सवका अरू अतिथि वक्तालाई कुलपति राईले मायाको चिनो प्रदान गरे ।
यसैगरी महोत्सवको समापन गर्दै नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ धमलाले हाइकु कविताको सिर्जना गर्दा सैद्धान्तिक विचलन हुन नहुने तर्क राखे । उनले हाइकु कवितालाई गतिशीलता दिन, हाइकुकारहरूबीच आपसी परिचित गराउन, हाइकु कस्तो हुनुपर्छ भन्ने यथार्थबोध गराउने उद्देश्यले राष्ट्रिय हाइकु महोत्सवको आयोजना गरिएको बताए ।
अब निकट भविष्यमा हाइकु वाचन शृंखला शुरु गर्ने, भर्चुअल राष्ट्रिय हाइकु महोत्सव गर्ने, हाइकु प्रशिक्षण सञ्चालन गर्ने, हाइकु सम्मानलाई निरन्तरता दिने, हाइकु पुरस्कार स्थापना गर्ने र प्रतिनिधिमूलक हाइकुसंग्रह प्रकाशनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल हाइकु संघका केन्द्रीय सदस्य कृष्णभक्त बोडेले स्वागत मनतव्य र साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies