काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिमा भ्रष्टाचार गरेको भन्दै खानेपानी मन्त्रालयका तत्कालीन तीन सचिवहरु डा. संजय शर्मा, भिमप्रसाद उपाध्याय र गजेन्द्र कुमार ठाकुरसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार हाल अध्यागमन विभागका प्रमुख रहेका रुद्रसिंह तामाङ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी तत्कालीन निर्देशक, परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर समेत सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलबाट ६ करोड रुपैयाँ भन्दा बढी बिगो भराउन मागसहित मुद्दा दायर गरेको छ ।
तत्कालीन खानेपानी सचिव उपाध्यायबाट ४ करोड रुपैयाँभन्दा बढी र सचिव ठाकुरबाट ६० करोड भन्दा बढी बिगो असुल्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो । हाल अध्यागमन विभाग प्रमुख रहेका तामाङबाट ११ करोडभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अख्तियारले मेलम्ची खानेपानीमा ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा हालेको हो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies