काठमाडौं : ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारदेखि शुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भएको शाखाले जनाएको छ ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइने व्यवस्था मिलाएको शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले त्यसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिइन् । पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने र शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएको भन्दै कँडेलले अन्य सिफ्ट त्यसपछि तय गरिने बताइन् ।
परीक्षार्थीहरु परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्ने व्यवस्था शाखाले गरेको छ । परीक्षा शुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरियन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने व्यवस्था मिलाइएको पनि निर्देशक कँडेलले जानकारी दिइन् ।
परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies