काठमाडौं : ईपीएस कोरिया शाखाले शुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत शुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने र परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ ।
यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि शुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भइसकेको र उक्त परीक्षाका लागि एक दिनमा पाँच वटा सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन् । उनले भनिन्, ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौं, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।’
परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिङ्गरप्रिन्ट दर्ताका लागि उपस्थित भइ परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।
परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन् । उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरु अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies