–जनक बराल
घटना १
मेरो एक जना आफन्तको घर स्याङ्जा जिल्लाको अलिक बिकट गाउँमा छ, कहिले काहीँ भेटघाट गर्न म उहाँहरूको घरमा जाने गर्दछु । नेपालमा संकटकाल लागेको समय आसपास तिरको घटना हो यो । म पुष महिनाको समयमा उहाँहरूको घरमा पुगेको थिएँ । त्यो बेला मोबाइल, टेलिफोन केही पनि थिएन । यसको मतलब घरमा जो कोही पाहुना आउँदा ‘सरप्राइज’ नै हुन्थ्यो ।
म त्यहाँ पुगे । हात गोडा धोएर चिया पिउँदै थिए । एक जना अपरिचित व्यक्ति निकै हतार मा हस्याङफस्याङ गर्दै दौडिँदै आएर मेरो अगाडि उभियो । म बाहिर आँगनमा एक्लै थिएँ । मलाई अलिक असहज लाग्यो, उसले मतर्फ हात तेर्साएर केही माग्यो । उ को हो र म सँग के माग्दै छ मैले बुझ्न सकिन ।
एकछिन पछि घरभेटी बाहिर निस्कनु भयो, उसलाई देखेर गाली गर्नु भयो र भन्नु भयो, “यसलाई कोही पाहुना, नयाँ मान्छे देख्नै हुँदैन, दुःख दिइहाल्छ, पैसा मागिहाल्छ ।” पछि थाहा भयो त्यो त त्यही गाउँको छिमेकी रहेछ, उ जन्मजात बोल्न नसक्ने अपाङ्गता भएको व्यक्ति रहेछ । जब गाउँमा कोही पाहुना वा नयाँ कपडा लगाएका मान्छे आउँदछन् उ उनीहरूसँग पैसा माग्दो रहेछ । यदि पैसा दिएनन् भने गाली गर्दो रहेछ अनि टाढा गएर ढुंगाले हान्दो रहेछ ।
मैले उसलाई दुुई रूपैयाँको नोट दिएँ । उ खुशी भयो । मलाई नमस्कार गर्यो, एक फन्को नाच्यो अनि कुलेलाम ठोक्यो । त्यो घरका भाईले मलाई फेरि भने, “यसलाई पैसा नदिनु होला । यो पल्किन्छ र सधैँभरी दुःख दिन्छ । उसले अरूसँग पैसा मागेर चुरोट किन्दो रहेछ ।”
म अर्को साल पनि ती आफन्तको घरमा गएँ । त्यो व्यक्ति मलाई देखेर फेरि दौडिदैँ आयो । मैले यसपाली उसलाई पाँच रूपैयाँको नोट हातमा थमाइदिएँ अनि उसलाई शीरबाट पाउसम्म नियाले । करिब ४० वर्ष आसपासको एउटा अर्धबैंशे पुरूष, फाटेको टोपी, जिंग्रिङ्ग दारी, ताछिएका गाला, खिया लागेका दाँत, मैला कपडा, टालेको कट्टु अनि फाटेका जुत्ता, हेर्दै तीन महिनादेखि ननुहाएको जस्तो लाग्ने एउटा टिठ लाग्दो मान्छे ।
उ खासमा को हो, मलाई जान्न मनमा कौतुहलता जाग्यो अनि खोजी सुरू गरेँ । उ करिब ४० वर्ष अगाडी त्यही गाउँमा जन्मिएको व्यक्ति रहेछ । उ जन्मजात बोल्न नसक्ने रहेछ । उसका बा–आमा उ सानै हुँदा बितेका रहेछन् । एक जना दयालु छिमेकीले उसलाई पालन पोषण गरेर हुर्काएछन् । उ पढ्नलाई स्कुल पनि गएको रहेनछ न त उसको आजसम्म बिहे भएको रहेछ ।
गाउँमा उ सबैको तिरस्कार र हाँसोको पात्र रहेछ । ठूला मान्छेका कुरा छाडौँ, बच्चाहरू समेत उसलाई कमजोरी केलाएर बोलाउँदा रहेछन्, थुक्दा रहेछन्, हेप्दा रहेछन्, गाली गर्दा रहेछन् । मानौं उ एउटा सर्कसको फगत जोकर थियो ।
केही वर्ष पछाडि म फेरि त्यो गाउँ गएँ तर, परिस्थिति बिल्कुल फरक भैसकेको थियो । उ आजकल अलिक अराजक भएछ, नयाँ मान्छे देखे झम्टिन गैहाल्ने, ढुंगा टिपेर हान्ने गर्न थालेको रहेछ । यो पाली उसले झन्डै मलाई नै ढुंगा हानेन । सायद मलाई बिर्सिसकेछ कि ?
उसको त्यो हविगत देख्दा म झन दुःखी भएँ । अनि आफूलाई उसको ठाउँमा राखेर सोच्न थाले । उ जन्मिदै आवाज बिहीन, बाबु–आमा बेलैमा स्वर्गबास भए, उसको लालन पालन राम्रो भएन, उसले शिक्षा दिक्षा पाएन, उसलाई कसैले माया गरेनन्, न जीवनमा कुनै दिन राम्रो खायो, न कुनै दिन राम्रो लगायो, न कतै घुम्न गयो, न बिहे नै भयो ।
जता गयो उ घृणाको पात्र मात्र बन्यो, जता गयो छिछि र दुरदुरको पात्र बन्यो । बच्चाका लागि मनोरन्जनको पात्र त ठूलाका लागि रिस पोख्ने भाँडो बन्यो । कुनै दिन कसैले उससँग एक बचन मिठो बोलेन, न त कसैले सन्चो बिसन्चो सोध्यो, न त कसैले उ के चाहन्छ जान्न चाह्यो । न माया गर्ने बाबु–आमा छन् न त माया साट्ने जीवन संगिनी छ ।
उसका पनि मनमा भाव होलान्, उसका पनि रहर र चाहना होलान्, उ पनि कसैको माया र साथ चाहँदो हो । न उ कसैलाई आफ्ना कुरा भन्न सक्छ, न उसका कुरा सुनिदिन चाहने यो सिंगो संसारमा कोही छ ।
कहिले काँही सोच्ने गर्छु कास, भगवानले उसलाई एक घण्टाको लागि बोल्न सक्ने क्षमता दिने हो भने उसले चालिसौं वर्षदेखि मनमा दबाएर राखेका भावना कसरी छताछुल्ल पोख्थ्यो होला ? उसका मनका रहेका व्यथा कसरी शब्दमा व्यक्त गथ्र्यो होला ? दुनियाँले उसलाई गरेका अपमान, तिरस्कार र घृणालाई शब्दमा कसरी पस्किन्थ्यो होला ? आफ्नो जिन्दगी सम्झेर कसरी चिच्यायर रून्थ्यो होला ? दुनियाँप्रतिको उसको गुनासो कसरी भन्थ्यो होला ?
यदि भगवानले उसलाई एकदिनलाई मात्र लेख्न सक्ने बनाइदिने भए आँसुले कसरी लेख्थ्यो होला उसको जीवन कथा ? शब्दमा कसरी कोर्थो होला उसले भोगेको जिन्दगीका ति अकल्पनीय र पीडादायी पलहरू ? कसरी आक्रोश पोख्थ्यो होला उसलाई मान्छे भएर पनि मानिस भएर बाँच्न नदिने समाजप्रति ?
तर, अफसोच न उ बोल्न सक्छ, न उ लेख्न सक्छ । न उसलाई सुनिदिने कोही छ, न उसलाई बुझ्न चाहने कोही छ । उसलाई माया गर्ने, उसको पीडा बुझ्ने अनि मुसुक्क हाँसेर, उसँग हात मिलाएर उसलाई दुुई रूपैयाँको नोट दिने यो संसारमै सायद म एक्लो पात्र हुँ । अझै पनि उ म कतै आइहाल्छु कि भनेर मेरो बाटो कुर्दो हो । सोंच्दो हो कोही त छ जो मलाई हेरेर मुस्कुराउँछ, कोही त छ जो मसँग हात मिलाउछुु अनि सोच्दो हो उ फेरि आउनेछ अनि मलाई पैसा दिनेछ । थाहा छैन साँच्चै भगवान हुन्छन् कि हुँदैनन् । मेरो विचारमा साँचो भगवान त्यो हो जसले अरूलाई निःस्वार्थ सहयोग गर्दछ, यदि उसको नजरमा कोही भगवान छ भने उसको नजरमा भगवान को होला ?
घटना २
तिहारको लगत्तै हामी साथीभाई मिलेर एकदिन होमस्टेमा बस्न जाने निर्णय गर्यौं । कोही कता, कोही कता भएकोले शुक्रबार बेलुकी सबै आ–आफ्ना साधनमा जाने र त्यही गाउँमा भेट हुने सल्लाहबमोजिम म र एक जना साथी जिप चढेर त्यता लाग्यौँ ।
जिपबाट ओर्लेर करिब आधा घण्टा उकालो बाटो हिँडेपछि त्यो ठाउँमा पुगिँदो रहेछ । हामी उकालो लाग्यौं । सानो खोलामा काठको साघुुँ तरेर हामी अगाडी बढ्यौं । खोलाको किनारमा बयरका रूख थिए । त्यहाँ केही केटाकेटी बयरको झाङ्गभित्र छिरेर बयर टिप्दै थिए । हामी उकालो लाग्यौँ । एकछिन पछि एकजना सानो छ सात वर्ष जतिको बच्चा हाम्रो पछि आउँदै थियो । उकालो बाटो, नयाँ ठाउँ, मैले त्यो बच्चासँग गफिदै उकाली चढ्ने सोंच बनाए ।
त्यो बच्चाले हामीलाई भेट्टायो । मैले उसको बारेमा केही कुरा सोंधे । उसको नाम कमल रहेछ । उसको घर पनि हामी जान लागेतर्फ डाँडाको टुप्पामा रहेछ । उ त्यहाँबाट पारी पाखामा देखिने विद्यालयमा कक्षा दुईमा पढ्दो रहेछ । उसको रोल नम्बर पाँच रहेछ ।
उसलाई पढ्न धेरै मन लाग्ने तर, कपी किताबको अभावले पढाई राम्रो हुन नसकेको रहेछ । कक्षामा सबैका राम्रा झोला, ड्रेस भएका तर, आफूसँग नभएकोले पढाईमा पछि परेको, आफूसँग सिसाकलम र इरेजर पनि नभएको अनि साथीभाईले बबल गम खाँदा उसलाई नदिएको र आफूलाई पनि बबल गम खान इच्छा लाग्ने कुरा उ बताउँदै थियो ।
उसका निर्दोष कुरा सुन्दा मलाई अचम्म लाग्यो र उसका परिवार अनि बाबु–आमाबारे पनि सोधेँ । उसको घर डाँडाको टुप्पामा रहेछ । घर स्याउलाले बारेको छ अरे । उसका बाबु साहुको घरमा हलो जोत्न जाँदा रहेछन्, आमा मेला पात गर्दी रहेछिन् । बाबु हरेक दिन रक्सी पिएर घर आउँदा रहेछन् र आमालाई कुट्दा रहेछन् । उ बाबुसँग डराउँदो रहेछ ।
केही दिन अगाडि उसको कपी सकिएछ र गृहकार्य गर्न नपाएपछि सरले उसलाई कक्षामा कुखुरो बनाएछन् । उसले घरमा गएर बाबुलाई कपी कलम किनिदिन भनेछ । उसका बाबुले उसलाई आफूसँग कपी, कलम किन्न पैसा नभएको र अबदेखि स्कुल पढ्न जान पर्दैन भनेछन् । स्कुल गए खुुट्टा भाचिदिन्छु पनि भनेछन् । एक÷दुई दिन त स्कुल पनि गएनछ, पछि आमाले एउटा कपी र सिसाकलम ल्याइदिए पछि उ फेरि स्कुल जान थालेको रहेछ । अब त्यो कपी सकियो भने के गर्ने उ पिरोलिएको रहेछ ।
उसका कुरा सुनेर म निःशब्द भएँ । बाटो काट्न गरेको गफले मेरो अन्तस्करणमा कता–कता घोंचे जस्तो लाग्यो । म एकोहोरो उसका आँखामा हेरिरहेँ । एउटा बालक निर्दोष हुन्छ, बच्चा भगवानको रूप हो भन्थे साँच्चै नै हो रहेछ । म एउटा अन्जान बटुवा । उसलाई यो पनि थाहा छैन कि एक जना अन्जान व्यक्तिलाई आफ्ना र आफ्ना घरका समस्या भन्नु हुँदैन र अर्को कुरा उसका समस्या मलाई भनेर ती समस्याको समाधान हुने पनि होइन । उसले मैले केही सहयोग गर्छु भनेर पनि भनेको होइन । त्यो उसको निःस्वार्थ बालापनको कारण उसले मसँग ती सब कुरा भन्दैछ ।
मैले उसलाई सोधें, “एउटा कपी र सिसाकलमलाई कति रूपैयाँ पर्ला ?” उसले भन्यो, “१० रूपैयाँको कपी एक हप्तामै सकिन्छ, त्यो भएर २० को कपी र पाँचको सिसाकलम गरेर पच्चिस जति पर्छ ।” मैले पर्सबाट ३० रूपैयाँ निकालेर उसलाई दिँदै भने, “यो पैसाले कपी, कलम र एउटा बबल गम किनेर खानु ल ।” उ डरायो, पैसा लिन मानेन । मैले लिउ, डराउनु पर्दैन भने । उसले यताउती हेर्यो, मेरो हातबाट पैसा थुत्यो अनि जान्छु पनि नभनी बतासको गतिमा जोडसँग दौडिएर अलप भयो ।
उ यति निर्दोष थियो कि उसलाई कसैले सहयोग गरेपछि धन्यवाद भन्नुपर्छ भन्ने पनि थाहा थिएन, न त म जान्छु भनेर भन्नुपर्छ भन्ने नै थाहा थियो । आज दोबाटोमा भेटिएको एउटा अपरिचित बटुवाले उसलाई कापी कलम किन्न पैसा दिएको छ । भोलि उसले पनि बबल गम पनि किनेर साथीभाईका अगाडी ठूलो फुलो पार्नेछ । आजको दिन उसको कसरी बित्ला ? उसको मन कति हर्षित भयो होला ? उसले आमालाई के भनेर त्यो तीस रूपैयाँ राख्न देला ? भोलि साथीभाईलाई यो घटना कसरी बताउला ?
भविष्यमा जब उ ठूलो भएर कुरा बुझ्ने बन्नेछ, त्यो बेला उसले यो घटना सम्झिएछ भने सायद उसले सोंच्ला, त्यो दिन बाटोमा मैले भगवान भेटेको थिएँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies