–प्रेम न्यौपाने ‘प्रहर’
धेरै समयदेखि सुत्ने रहर थियो । मौका मिलेको थिएन । आमाको काखमा कति सुतियो याद छैन, बालापनमा पनि कहिले खेल्नको धुन कहिले पढ्नको धुन, सुत्न पाइएन । यौवन अवस्थामा पनि कहिले प्रियसीसँग त कहिले साथीभाईसँग जीवन बित्यो । सुत्न पाए जस्तो लाग्दैन । ईश्वरलाई धेरै पटक बिन्ती चढाइयो सुत्नको निमित्त । बिहे गरियो । घरजम चल्न थाल्यो । भनेजस्तो मज्जाले सुत्न भने पाइएको थिएन । दिमागले घरिघरि छड्के हान्थ्यो “थुक्क तेरो जिन्दगी, कहिले आनन्दले सुत्न नपाउने लोदर तेरो जिन्दगी ।”
साँच्चै मनमा दुख्नेगरी लाग्थ्यो, “कस्तो जिन्दगी !” तर आउँदो रहेछ सुत्ने दिनहरू जिन्दगीमा । कसैले भन्ने गर्थे “ईश्वर के घर में देर है अन्देर नहीँ ।” साँच्चै भनेको र चाहिएको भन्दा अलि बेसी नै सुतिएछ कि क्यार... । अनायासै कताबाट एउटा अदृश्य भालाले टाउकोमा चस्स चस्स घोच्न थाल्यो । सहनै सकिन । घर्लप्पै ओछ्यानमा लडियो । अलिबेरमा आफैंलाई तातो भुग्रोमा सेकिए झैँ लाग्न थाल्यो । सारा शरीर नै पसिनामा डुब्यो । श्रीमतीले आफ्ना मुलायम हातले निधार छामेर भनिन्, “आम्मा.. मा..मा.. मा.. औले ज्वरो खनिएछ । अस्तिदेखि भनेको नी बेसी नहिँड्नु भनेर । सुने पो । बर्खामाझमा यसो छाता बोक्नुपर्छ ।”
धेरै कुरा दिमागमा घुम्न थाल्यो । मान्छेहरू विदेश गएर कति वर्ष आफ्ना गाउँ–घरबाट बञ्चित रहन्छन्, आँफू त यसो दिनैपिछे नभ्याए पनि हप्तामा एकपल्ट त भेटघाट गरिराखौं । फेरी आफूँलाई कथा अनि कविता भनेपछि त्यही त हो भात कै साटो खाइन्छ । धेरै टाढा पुगेछु । माफ गर्नुहोला । अँ म के भन्दैथेँ, भने आँफू ओछ्यान परिएछ । कतिबेला मनिपाल अस्पताल पुगियो पत्तो भएन । श्रीमती ले ‘छुट्टी मिल्यो’ भन्दामात्र अलिकति साेंचियो की घरमा त सुतेको याद छ, तर अस्पतालसम्म सुत्न पुगिएछ । व्यर्थै गरिएछ सुत्ने रहर ।
कठै कसले बोक्यो होला खाना बिहानै पिच्छे बेलुकै पिच्छे, को बस्यो होला रातीउँदो साथी । घरमा गाई वस्तु गोठ धन्धा अचम्मै छ बा ! दवाई–पानीको खर्च कसरी भो होला ? अलिबेरमा घर पुगियो । गएर यसो ऐना हेरेँ आँफैलाई चिन्न नसकिने ! कान्छी बहिनीले तातो पानी ल्याएर दिई । घुटुक्क निलियो र दारी काटियो । अघि सुत्न नपाउँदा त यस्तो गति भएको थिएन, अहिले सुत्न पाउँदा यसरी गति देखाइएछ ।
सरासर पुजा कोठा पसेर पुजा गरियो । आरती सकेर भगवानलाई ढोग गर्दै प्रार्थना गरियो “हे प्रभु यसरी अब जिन्दगीमा सुत्ने मौका नदिनु होला । आफ्नालाई बिचल्ली पारेर फेरी सुत्न नपरोस् । म उठ्न चाहान्छु प्रभु । समयमै सुतेर समय मै उठ्न परोस् । हर्ता कर्ता सबै तिमी नै प्रभु । रक्षा गर हे दयानिधान् । राधे ! राधे !”
हौ ! सुत्ने रहरमा झण्डै जिन्दगीको बाटो नै काटिएछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies