तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गर्दै आइरहेको "रमेश स्मृति सम्मान" साहित्यकार सरस्वती बस्याललाई प्रदान गरिने भएको छ । बस्याल रुपन्देहीको देवदहमा बसेर साहित्य साधना तथा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् l
दीप मिलनको संयोजकत्वमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले यस वर्षको सम्मानका लागि साहित्यकार बस्याललाई छनोट गरेको हो । उक्त छनोट समितिमा राजीव सापकोटा र सोतन्त्र नेपाल सदस्य रहेका थिए । यस सम्मान कोषले साहित्यकार हरिलठ्ठकको जन्म जयन्तीको अवसर पारेर सम्मान प्रदान गर्दै आइरहेको छ । हरिलठ्ठकको ४४औं जन्म जयन्तीको अवसर पारेर यस्तो घोषणा गरिएको हो ।
नेपाली साहित्यको गीत, गजल, कविता, मुक्तक, कथा र हाइकुसहित विविध विधामा क्रियाशील हरिलठ्ठकको जन्म वि.सं. २०३७ साल फाल्गुण २१ गते भएको थियो । २३ वर्षको अल्पायुमै दिवङ्गत भएका उनले २०६१ साल श्रावण २१ गते महाप्रस्थान गरेका थिए । नेपाली साहित्यको गजल विधामा पहिलो पटक टेन गजल नामक अंग्रेजी गजल संग्रह प्रकाशन गरी नेपाली साहित्यमा अङ्ग्रेजी गजलको कृतिमार्फत द्वार खोलेका थिए । हरिलठ्ठकको सानु, कुकुरलाई घ्यू, जिन्दगीको कहानीमा र टेन गजल सहित आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनको स्मृतिमा "रमेश हरिलठ्ठक र उनका सिर्जनाहरू" नामक स्मृति संग्रह पनि प्रकाशन भइसकेको कोषका संयोजक दीप मिलनले बताए ।
कोषका अनुसार नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधना सँगै सम्भवतः देशमै पहिलो पटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलठ्ठकसँग सम्बन्धित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले बस्याललाई यो सम्मान प्रदान गर्न लागिएको हो । यद्यपि, सम्मान कहिले र कहाँ गर्ने भन्नेबारे कोषले केही बताएको छैन । २०७२ सालदेखि कोषले प्रदान गर्दै आइरहेको "रमेश स्मृति सम्मान"बाट पहिलो पटक महिला स्रष्टालाई सम्मान गर्न लागिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies