–डा. दिबाकर बशिष्ठ
विकास भन्ने वित्तिकै हामी आर्थिक विकासलाई सम्झिने गर्दछौँ । तर, हाल विकास, सुशासन र नागरिकलाई गरिने सेवा प्रवाह सत्ता लिप्साको चेपुवामा परेको देखिन्छ । बारम्बारको सत्ता लिप्सा र सत्ता परिवर्तनले नागरिकलगायत कर्मचारीतन्त्रसमेत आजित भैसकेको छ । यहाँ आर्थिक विकास भनेको आर्थिक वृद्धिको साथै जनताको समग्र जीवनस्तरमा आउने सकारात्मक परिवर्तन हो । यो अर्थतन्त्रको गुणात्मक वृद्धि पनि हो । नागरिकहरूले आर्थिक लाभ लिन सक्ने र आफ्नो जीवनस्तर उकास्ने अवस्था नै आर्थिक विकास हो । सन्तुलित विकास, क्षेत्रीय सन्तुलन, भौतिक पूर्वाधारको विकास, मानव विकास, समावेशी विकास, स्थानीय विकास, सहस्राब्दी विकास, दीगो विकास आदि आर्थिक विकासका सूचक हुन् । नेपालको आर्थिक विकासका पक्षहरूमा कृषि, उद्योग, वाणिज्य, पर्यटन, वैदेशिक रोजगार, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य र मानव संशाधन पर्दछन् । यसलाई आर्थिक वृद्धिसँगै नागरिकको जीवनमा आउने गुणात्मक परिवर्तन मानिन्छ । नीति, योजना, उत्पादनका साधनको परिचालन आदिद्वारा विभेदको अन्त्य, आयको वृद्धि, स्वास्थ्यलगायत सामाजिक सुरक्षाको विकास, सशक्तिकरणमा वृद्धिलगायतका उद्देश्य पूरा गर्न सकिन्छ । समृद्ध र समुन्नत आर्थिक निर्माण गर्ने प्रकिया नै आर्थिक विकास हो ।
नेपालमा विभिन्न चुनौतीका कारण आर्थिक विकास ओझेलमा परेको छ । जसमा उच्च गरिबी, कृषिमा आधारित अर्थव्यवस्था, जनचेतनाको अभाव, व्यवस्थापकीय चुनौति, स्रोत र साधनको अभाव, तथ्यांक भण्डारणको अभाव, जनचाहना वृद्धि, प्रतिबद्ध राजनैतिक नेतृत्वको अभावको साथै, बारम्बारको सत्ता परिवर्तन, वातावरणीय चुनौति, बौद्धिक वर्गको पलायन, जनसहभागिताको उपेक्षा, उत्तरदायी कर्मचारीतन्त्रको अभाव, सुशासनको अभाव, भौगोलिक विविधता, व्यवस्थापन सूचना प्रणालीको अभाव, विप्रेषणले धानिएको अर्थतन्त्र, सार्वजनिक सेवा प्रवाहमा सुधारको अभाव, मुद्रा र पुँजी बजारको अभावलगायत छन् ।
नेपालमा सन् १९८० को दशकबाट संस्थागत सुशासनको सुरुवात भएको पाइन्छ । नेपालको नवौँ योजनादेखि सुशासनलाई विकास प्रशासनको अवधारणासँग आबद्ध गरिएको छ । विश्वको तुलनामा नेपालको सुशासनको अवस्था नाजुक छ । नेपालमा बारम्बारको सत्ता परिवर्तन र राजनीतिक अस्थिरता तथा दण्डहीनताको कारण पनि कर्मचारीतन्त्र जनमुखी हुन नसकेको र जनतालाई सेवाको डेलिभरी राम्रा दिन नसकेको, जवाफदेहिता, स्वतन्त्र न्यायपालिका, कुशलता, प्रभावकारिता, पारदर्शिता, भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा अपेक्षित सुधार भएको देखिँदैन । संस्थागत सुशासनका आयामहरूमा प्रजातान्त्रिक शासन व्यवस्था, सार्वजनिक उत्तरदायित्व, चुस्त प्रशासन यन्त्र, आचरण र व्यवहारमा सुधार र सेवाग्राहीको हित पर्दछन् । व्यवसाय तथा कम्पनी सञ्चालनका लागी बनेका नीति नियम, ऐन, कानून तथा कार्यविधिलाई समष्टिगतमा संस्थागत सुशासन भन्ने गरिन्छ । कुनै पनि देशको सुशासनको अवस्थालाई अंग गणितीयरूपमा मापन गर्न सकिँदैन । सुशासनलाई देख्न र छुन भन्दा पनि ग्राहकहरूको मुहारमा हाँसो र मुस्कानको साथै दूरदराजमा रहेका नेपालीलाई विकासको अनुभुति गराउनु हो तर, यो सेवा प्रवाहमा हुने ढिलासुस्तीले र प्रशासनिक सास्तीले ओझेलमा पारेको छ ।
स्रोत, साधन र अवसरको समुचित व्यवस्थापन नै सुशासन हो । यसलाई असल शासन पनि भनिन्छ । जहाँ वैधानिकता, उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचाररहित शासन हुन्छ, त्यही नै सुशासन हो । विश्व बैंकका अनुसार सुशासन भनेको भविष्यपरक तथा खुला नीति निर्माण, व्यवसायिक कर्मचारीतन्त्रको विकास, पारदर्शी र जनउत्तरदायी सरकार, संयुक्त नागरिक समाज र कानुनी शासन हो भनिएता पनि पछिल्लो समय भ्रष्टाचार बढेको, सरकार र कर्मचारीबीचको आपसी सामञ्जस्यता कमी आएको, सरकारप्रति नागरिकको आस्था र विश्वासमा ह्रास आएको हुँदा विकास निर्माणले समेत गति लिन सकेको छैन । कमजोर राज्य क्षमता, सकारात्मक सोचको अभाव, अधिकार क्षेत्र नाघी काम गर्ने परिपाटीको विकास, अध्ययन अनुसन्धान बिना नै अरुको नक्कल गर्ने परिपाटीले सुशासनलाई गिज्याइरहेको छ ।
नागरिकको चाहना भनेको सूचना प्रविधिको विकास, सूचनाको हक, सरकारी तथा गैरसरकारी संस्थाको सबलीकरण, भविष्यउन्मुख शासन प्रणालीको विकास, शासनमा नागरिक संस्थाको सहभागिता हो तर, हाल सरकारले जनविश्वास गुमाउँदै जानुमा आपसी समझदारीमा कमी, राज्य शक्ति क्षय हुनु, विश्वसनियता कमी, साधन र सीपको कमी, मनोवैज्ञानिक अवरोध र विकासभन्दा लोकप्रिय नारामा मात्र जोड दिने प्रवृत्तिले जनताको राजनीतिक प्रणालीप्रतिको वितृष्णा बढ्दै गएको देखिन्छ ।
सेवा प्रवाह जनविश्वास कायम गर्ने प्रमुख आधार हो । मुलुकमा संघीयताको विकास भइसक्दा पनि प्रमुख प्रशासनिक केन्द्रलगायत काठमाडौँमै केन्द्रित भएको हुँदा सर्वसाधारण सरकारी सेवा लिनको लागि महँगो गाडी भाडा, हप्तौँको होटल बसाइले आजित भएको देखिन्छ । अझै पनि अधिकांश कार्यालयबाट गुणस्तरीय र छिटो छरितो सेवा प्रवाह हुन सकेको छैन । तपाईँको काम भोलि हुन्छ भनिन्छ तर, त्यो भोलि कहिले आउने ? सामान्य उदाहरण लिनुपर्दा त्रिभुवन विश्वविद्यालयबाट एक जना छात्रले ट्रान्सक्रिप्ट प्राप्त गर्न १५ दिन होटलमा बस्नुपर्ने अवस्था छ । त्यस्तै, अन्य कार्यालयको अवस्थामा पनि तात्त्विक सुधार हुन नसकेको कारण विकास, सुशासन र सेवा प्रवाहमा अपेक्षित सुधार हुन सकेको छैन ।
जनतालाई छिटो छरितो सेवा कसरी प्रवाह गर्ने, उनीहरूको आधारभूत आवश्यकता कसरी पूरा गर्ने, कृषि, वाणिज्य, पर्यटनलगायत उद्योगको विकास गरी कसरी रोजगारी सिर्जना गर्ने, युवा विदेश पलायनलाई कसरी नियन्त्रण गर्ने साथै, देशमा भौतिक पूर्वाधारको विकास कसरी समयमा सम्पन्न गर्नेभन्दा पनि कसरी सत्ता प्राप्त गर्ने कसरी मन्त्री र सांसद हुने साथै कसरी आफ्नो मानिसलाई उच्च पदमा नियुक्ति दिने बाहेक राजनेतामा अन्य सोचको अभाव रहेको हुँदा आर्थिक विकासले गति लिन सकेको छैन ।
विकास, सुशासन र डेलीभरि एक अर्काका परिपूरक हुन । एक बिना अर्को प्राप्त गर्न सकिँदैन । तर जता हे¥यो उतै प्वाल परेको भनेजस्तै अर्थव्यवस्थाको कुनै पनि अङ्गको विकास अपेक्षित हुन सकेको छैन । विकासकै कुरा गर्दा कृषि क्षेत्रको विकासलाई बिर्सन सकिँदैन । यसलाई हेर्दा अझै पनि परम्परागत र निर्वाहमुखी खेती प्रणाली, जग्गाको खण्डिकरण, मूल्य र बजारको समस्याले किसानले सडकमा दूध फालेको अवस्था, सिँचाइको अभाव, खुला आयात, उन्नत बीउ, मल, र किटनाशक औषधीको अभाव, मौसममा निर्भरता, भौतिक पूर्वाधारको कमी, अव्यवस्थित सहरीकरण, प्रभावकारी सरकारी नीति र अनुसन्धानको अभावले कृषि क्षेत्र कठिन अवस्थाबाट गुज्रेको छ ।
उद्योग मुलुकको आर्थिक विकासको मुख्य पक्ष हो । जिडिपीमा यसको योगदान छ प्रतिशत हाराहारीमा छ । प्रथम पञ्चवर्षीय योजनादेखि हाल अन्तरिम योजना २०१५ सम्म यसको विकासका विभिन्न नीति पारित भएको छ । तर, कार्यान्वयन अपेक्षित छैन, जसको कारणमा राजनैतिक अस्थिरता, उर्जा संकट, कमजोर संस्थागत सुशासन, सुरक्षा, उर्जा, पूर्वाधार, प्रतिस्पर्धा, व्यापारघाटा, पुँजी पलायन, प्रविधि हस्तान्तरणको समस्या र भूपरिवेष्ठिताको कारण अपेक्षित उद्योगको विकास हुन सकेको छैन । त्यस्तै, पर्यटन एक ठाउँबाट अर्को ठाउँमा निश्चित उद्देश्य प्राप्तिको लागि हुने भ्रमण हो । यसको विकास मानव सभ्यताको विकाससँगै भएको हो । यो दुई किसिमको हुन्छ, आन्तरिक र बाह्य । यो आर्थिक विकासको मुख्य स्रोत हो । पर्वतारोहण पर्यटन, पदयात्रा, जलयात्रा, व्यवसायिक, साहसिक पर्यटन, क्यासिनो, सांस्कृतिक, खेलकुद, धार्मिक, कृषि, स्वास्थ्य, चलचित्र, शैक्षिक आदि यसका पक्षहरू हुन् । पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक विकास र रोजगारी यसको लक्ष्य हो तापनि बारम्बारको सत्ता परिवर्तन र पर्यटनका सम्भाव्य क्षेत्रको विकास अभावले यसको विकास पनि अपेक्षित देखिँदैन ।
कुनै पनि वस्तु तथा सेवा वा बौद्धिक सम्पत्तिको खरिद–बिक्री, विनिमय र हस्तान्तरणका सम्पूर्ण क्रियाकलापलाई वाणिज्य वा व्यापार भनिन्छ । यो आन्तरिक र वैदेशिक दुई प्रकारको हुन्छ । यो आर्थिक विकासको प्रमुख सूचक हो । भारत र चीनसँग मात्र नभई हाल विश्वका १५५ भन्दा बढी मुलुकसँग व्यापार सम्बन्ध रहेको छ । हाल कुल वैदेशिक व्यापार कुल ग्राहस्थ उत्पादनको ४१ भन्दा बढी प्रतिशत पुगेको छ । नेपालको वैदेशिक व्यापार निरन्तर घाटामा रहेको छ । हाल ६५ प्रतिशत व्यापार भारत १४ प्रतिशत चीन, २१ प्रतिशत अन्य मुलुकसँग व्यापार हुने गरेको छ । यस क्षेत्रमा हेर्ने हो भने बढ्दो आयातले र निर्यात गर्न नसकेको अवस्थाले हामी थला परेका छांै । व्यापार घाटा प्रतिवर्ष बढिरहेकै छ ।
नेपालले प्राप्त गर्ने कुल बिप्रेषणमा भारतबाट प्राप्त हुने बिप्रेषणको हिस्सा उल्लेख्य रहेको छ । व्यापार सम्बन्ध र खुला सीमानाका कारण भारतबाट अनौपचारिक माध्यमद्वारा समेत विप्रेषणको रूपमा रकम भित्रिने गरेको तथ्य सार्वजनिक भैरहेको छ । हाल संस्थागतरूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरू खुला गरेको छ भने ८ देशहरू (कतार, युएइ, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपालीहरू कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ । तथापि, यसबाट प्राप्त आयलाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिएको छैन । समग्र अर्थतन्त्रको २५ प्रतिशतभन्दा बढी बिप्रेषणले धानेको छ । जनसङ्ख्याले कुनै मुलुकमा बसोबास गर्ने सबै मानिसहरूको सङ्ख्यालाई जनाउँछ । तर जनशक्ति भनेको आर्थिक गतिविधिमा सक्रिय जनसङ्ख्याको एक हिस्सा हो । कुनै पनि कार्यकुशल तरिकाले सम्पन्न गर्न सक्ने ज्ञान, सीप र क्षमतायुक्त प्रविधियुक्त मानसिक र भौतिकरूपमा सक्षम जनशक्तिलाई मानव स्रोत भन्ने गरिन्छ । नेपालको मानव विकास सूचकांक ०.५७ रहेको छ । तसर्थ, उपरोक्त आर्थिक विकासका पक्षहरू सत्ता लिप्साको फलस्वरूप सत्ता परिवर्तनको चेपुवामा परेको हुँदा सम्बद्ध र सुखी नेपालीको अवधारणा ओझेलमा परेको छ भन्नुमा अत्युक्ति नहोला ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies