आरके डिसी/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । योसँगै राष्ट्रिय सभाको अध्यक्षका लागि प्रतिस्पर्धामा कांग्रेस र माओवादी उम्मेदवार देखिने भएका छन् । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
नेता अर्जुन नरसिंह केसीका अनुसार कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।
तर, यस अगाडि नै एमाले र माओवादी सहितको गठबन्धनले माओवादीको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने सहमति गरिसकेको छ । हालै, कांग्रेससँग सत्ता समीकरण फेरेर माओवादी केन्द्रले एमाले सहितका दलहरुसँग नयाँ सत्तागठबन्धन बनाउँदा नयाँ समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको हो । सत्तारुढ एमाले, माओवादी, रास्वपा र जसपाबीच भएको सहमतिअनुसार अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको छ ।
राष्ट्रिय सभाले स्वीकृत गरेको क्यालेन्डरअनुसार अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । चारदलीय गठबन्धनमा भएको सहमतिअनुसार उपाध्यक्ष एमालेले पाउने सहमति छ । एमालेले उम्मेदवार चयन गरिसकेको छैन ।
माओवादीमा आकांक्षीले बढाए सक्रियता
माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाउने सहमतिसँगै आकांक्षी सांसदहरुले सक्रियता बढाएका छन् । नेताहरुका अनुसार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालसँगै राष्ट्रियसभा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहाल अध्यक्षका आकांक्षी हुन् ।
नेताहरुका अनुसार अर्याल सबभन्दा बलियो उम्मेदवार हुन् । १२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।
अर्याल सर्वस्वीकार्य हुनसक्ने भएकाले उनलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीमा बलियो छ । उनलाई उम्मेदवार बनाउँदा विवाद नगर्ने भनेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत वचन दिएका छन् । तर केहीले भने उनको कार्यकाल चार वर्ष मात्र भएकाले झक्कुप्रसाद सुवेदीलाई विकल्पका रुपमा अघि सारेका छन् ।
सुवेदी ११ माघ २०७९ मा भएको राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । २१ फागुनमा सपथ लिने उनको कार्यकाल ६ वर्ष हुनेछ ।
सुवेदी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका थिए । यसपटक उनी राष्ट्रिय सभामा आएका हुन् ।
सुवेदीलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लविइङ गरेका नेताहरुले उर्मिला अर्याललाई मन्त्री बन्न प्रस्ताव राखेका छन् । माओवादीले अध्यक्ष लिँदा उपाध्यक्ष छाड्नुपर्छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा फरकरफरक दलको हुनुपर्छ ।
माओवादी नेताहरुका अनुसार राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल पनि अध्यक्षका आकांक्षी छन् । २५ चैत २०७९ मा तत्कालीन राष्ट्रपतिबाट मनोनित सांसद दाहालले पनि सक्रियता बढाएका छन् । माओवादीमा नेता सुरेश आले मगरलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने मत पनि छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies